कोरोनाको त्रास र सचेतना

0
533

सम्पादकीय

चीनमा एकचालीस जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस विश्वका बाह्रवटा देशमा फैलिएको छ । यसको त्रास नेपालसम्म आइपुगेको समाचारले नेपाली जीवन समेत त्रस्त हुन थालेको छ । चीनमा डाक्टरी पढ्दै गरेका नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण देखिएकोले नेपाल पनि सो भाइरसको उच्च जोखिममा रहेको अनुमान गर्न थालिएको छ । नेपालमा आउने पर्यटक लगायत ठूला परियोजनामा संलग्न चिनियाँ नागरिकको आवागमनले कोरोना नेपालमा सजिलै फैलिने डरले सताएका बेला नेपालमा प्रविधि, सेवा र पहिचान गर्ने प्रणालीको अभावका कारण धेरै जोखिम उच्च रहेको मान्न सकिन्छ । त्यसमा पनि स्वास्थ्य क्षेत्रका नेपाल विज्ञहरुले नागरिकलाई सचेत रहन र सजगता अपनाउन आग्रह गरेकाले पनि यसको त्रास बढेको हो ।

खुल्ला सीमाना र सहज आवागमनका कारण पनि ‘कोरोना’ त्रासदीय नबनोस् सरकार र सम्बद्ध निकायले गम्भीर अग्रसरता देखाउनु पर्दछ । चर्चा शुरु भएको एक महिनामै चार हजारभन्दा बढी मानिसमा सल्किएको भाइरस सरुवा भएका कारण संक्रमितबाट स्वस्थ मानिसमा सर्ने सम्भावना उच्च रहन्छ । कोरोना भाइरसको संक्रमण अहिले अमेरिका, फ्रान्स, जापान लगायतका देशमा पुगिसकेको सन्दर्भले पनि नेपालमा त्यहाँबाट आउने मानिसबाट यसको संक्रमण फैलिने जोखिम त्यतिकै छ । अझ नेपालले भ्रमण वर्ष मनाइरहेका बेला यहाँ आउने पर्यटकको चाप पनि बढी हुने हुँदा उच्च सतर्कता अपनाउन ढिला गरिनु हुन्न । त्यसका लागि सचेतना कार्यक्रमसँगै प्रतिरक्षाका लागि भरपर्दो उपाय तत्काल सञ्चालन गरिनुपर्छ ।

गर्मी मौसमभर डेंगुको आतंक सहेका नेपालीका लागि जाडो अन्त्य हुन लाग्दा कोरोनाले अर्को त्रासदी थपेको छ । चीनले रोगको पहिचान हुनासाथ प्रतिरक्षा र उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गरिसकेको छ । पर्याप्त जनशक्ति, प्रविधि, प्राविधिक र उपकरण आदिको अभावमा धेरै नेपालीको जीवन जोखिममा पर्न सक्ने अवस्थालाई सरकारले गम्भीरपूर्व लिनु पर्दछ । बढ्दो सञ्चार सुविधा र सूचना प्रविधिका कारण छिट्टै सञ्चार भएकोले कोरोना भाइरस त्रासदीका रुपमा देखिन सक्ने तर्फ सम्बद्ध निकायले उपचारात्मक प्रविधिमा समेत जोड दिनु पर्दछ ।

पशुबाट सरेको भनिएको कोरोना भाइरसको संक्रमणबाट जोखिन सरसफाईमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । यसका साथै पशुपन्छीबाट टाढा बस्ने, छोएपछि साबुन पानीले हात धुने, भीडभाडबाट टाढा बस्ने, काम गरेपछि हात धुने, रुघाखोकी लागे सतर्कता अपनाउने जस्ता प्रतिरक्षाका उपायहरुले पनि संक्रमणबाट जोगिन सक्ने भएकाले यसतर्फ आफूले पनि ध्यान दिनु पर्दछ । रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी पनि हुन्छ । त्यसैले सरकारले सचेतना कार्यक्रम तत्काल शुरु गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here