न्यूट्न्सको वार्षिकोत्सवमा रक्तदान

0
1047

बिर्तामोड ।

बिद्यालयको वार्षिकोत्सव बिद्यालयमा विद्यार्थीले गायन ,नृत्य लगायतका साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् ।
तर , झापाको बिर्तामोड–५ मा रहेको न्यूट्न्स एजुकेशन एकेडेमीका विद्यार्थीले भने फरक तरिकाले बिद्यालयको वार्षिकोत्सव मनाएका छन् ।

न्यूट्न्स एजुकेशन एकेडेमीका विद्यार्थीले रक्तदान , सामुदायिक बिद्यालयमा अध्ययनरत् सिमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका हुन् ।

बिद्यालयको वार्षिकोत्सव बिद्यालयमा मनाउने परम्परा भएपनि न्यूट्न्स एजुकेशन एकेडेमीका विद्यार्थीले भने बिर्तामोडस्थित हनुमान सेन्ट्रल अगाडी रक्तदान र सामुदायिक बिद्यालयमा अध्ययनरत् सिमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको विद्यालयका निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाँईले बताए ।

विद्यालयका विद्यार्थीलाई नाचगान भन्दा पनि सामाजिक कार्य गरेर समाजप्रति उत्तरदायी बनाउन यस्तो कार्यक्रम गरिएको उनले बताए ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एकसय भन्दा वढीले रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन पुण्य रिमालले ५६ औं पटक रक्तदान गरेर गरेका थिए ।

हाल झापामा रगतको चरम अभाव भइरहेको अवस्थामा न्यूट्न्स एजुकेशन एकेडेमीले रक्तदान कार्यक्रम गरेर पुण्यको भागी वनेको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले बताए । कार्यक्रम स्थलवाट १० प्रिन्ट भन्दा वढी रगत झापाका विभिन्न अस्पताल लगिएको बताइएको छ ।

त्यस्तै बिर्तामोड २ चारपानेमा रहेको वीर अमरसिंह माविका सिमान्तकृत तथा विपन्न वर्गका ५२ जना विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

विद्यालयमा अध्ययनरत् कक्षा नर्सरीदेखि कक्षा चार सम्मका विद्यार्थीलाई स्वीटर र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । उक्त सामग्री वीर अमरसिंह माविका प्रधानाध्यापक यदुनाथ अधिकारीलाई हस्तान्तरण गरिएको थियो । सामाग्री ग्रहण गर्दै वीर अमरसिंह माविका प्रधानाध्यापक यदुनाथ अधिकारीले आर्थिक अवस्था न्यून भएर शैक्षिक सामाग्री र पोशाक किन्न नसक्ने बिद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेर न्यूटन्स एजुकेशन एकेडेमीले ठूलो गुन लगाएको बताए ।

सोही कार्यक्रममा वीर अमरसिंह माविका फरक क्षमता भएका कक्षा ६ मा अध्ययनरत् युनिस पाण्डे र कक्षा ८ मा अध्ययनरत् वविता शर्मालाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

विद्यालयमा रहेको सगरमाथा टिन्स क्लवमा आबद्ध विद्यार्थीले उक्त सामाग्री प्रदान गरेको सगरमाथा टिन्सक्लवकी शिक्षक नायक मिनु शर्मा शिवाकोटीले जानकारी दिइन् । सोही कार्यक्रममा बिद्यार्थीले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धन गर्ने गीत, नृत्य, लगायत प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम शर्मा शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका शैक्षिक इञ्चार्ज नोयल परेराले स्वागत गरेका थिए । कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाँईले विद्यालयको गतिविधीसहित संस्थापक प्राचार्य हरिकुमार प्रसाईं र धर्माकुमारी प्रसाईंबाट प्राप्त शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , प्याव्सन झापाका सहसचिव हरिकृष्ण पाठक , लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा नरेश भट्टराईको अध्यक्षतामा शिक्षक अभिभावक संघ इकाई समिति गठन गरिएको थियो । नवगठित समितिको उपाध्यक्ष गौरी भण्डारी , सचिव सुवास तिम्सिना , कोषाध्यक्ष समिर प्रसाईं र सदस्यहरु मुना पौडेल , कुमार थापा , सुनिता लिम्वू रहेका छन् ।

कार्यक्रमको सञ्चालन विद्यालयका निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाँई र शिक्षक मेनुका पहरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here