सम्पादकीय
बलात्कारको आरोप लागेर पदत्याग गरेको चार महिनापछि प्रतिनिधि सभाले नेतृत्व पाएको छ । आइतबार भएको निर्वाचन कार्यक्रम अनुसार सभामुखका एकमात्र प्रत्यासी अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका हुन् । सभामुखको निर्वाचनसँगै प्रतिनिधि सभाले विगतदेखि थन्किएका विधेयकहरुमाथि छलफल र पारित गर्ने बैधताको बाटो खुलेको छ । यद्यपि सभामुखमा निर्वाचित सापकोटाको यात्रा निष्कंटक छैन । उनीमाथि व्यक्ति हत्याको संगीन आरोप र उजुरी रहेको भन्दै उनलाई उपल्लो संवैधानिक अङ्गको प्रमुख बनाइनु हुन्न भन्ने स्वर पनि त्यत्तिकै उचालिएको छ ।
त्यसो त राजनीतिक अङ्गगणीतका आधारमा खेलिने खेल हो । विकसित र ठूला देशहरुमा सेवाका रुपमा लिइने राजनीति हामीकहाँ केवल सत्ता, पैसा, स्वार्थ, सुविधा र पद आर्जन गर्ने माध्यम मात्रै बनिएको छ । यसकारण अहिले थन्किएर बसेका विधेयकहरु त्यही गणीतद्वारा चल्ने निश्चित छ । अर्थात् दुई तिहाई वा बहुमतको गणीतले प्रस्तुत विधेयक पारित हुनेछन् । अझ प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पनि उपस्थिति रहेको छ भन्ने अनुभूति दिलाउन नसकेको वर्तमान अवस्थामा सत्तारुढ दलले तर्क, कारण वा प्रमाणहरु देखाएर विधेयक पारित गराइरहनुपर्ने आवश्यकता पर्दैन शायद ।
सरकार सञ्चालन गर्ने प्रमुख अङ्ग कार्यपालिका हो । यसको नेतृत्व प्रधानमन्त्रीले गर्छन् ।
कार्यपालिका व्यवस्थापिकाद्वारा निर्देशित हुन्छ । तर, हामी कहाँ सरकारद्वारा व्यवस्थापिका सभा निर्देशित हुने परिपाटी शुरु भएको छ । सरकारका अङ्गहरु स्वतन्त्र र स्वायत्त हुँदाहुँदै पनि स्वतन्त्र र तटस्थ हुन नसकेको परिस्थिति र घटनाहरुले देखाएका छन् । घटना र परिस्थिति जे–जे भए पनि, संवैधानिक व्यवस्था जे जस्तो रहे पनि नवनिर्वाचित सभामुख सापकोटाको अबको यात्रा लोकतन्त्र, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र नागरिक स्वतन्त्रताप्रति लक्षित हुन सकेन भने देशका लागि दुर्भाग्य हुन जानेछ ।
सरकार अङ्कका हिसाबले शक्तिशाली छ, कांग्रेस त्यसकै कारण निरीह छ । यसकै परिणाम संसदको प्रभावकारिता, जीवन र गरिमा कमजोर हुँदै गएको छ । यसले प्रतिपक्ष लाचार छायामा पर्ने र जनतामा निराशा बढ्ने सम्भावना रहन्छ । जनताका आवाज प्रतिनिधि सभामा मुखरित हुन सकेन भने अवोलाहरुको भावना कुण्ठीत हुने र अन्ततः शासन व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन्छ । यस्तो अवस्थाबाट जोगाएर प्रतिपक्षको समेत विश्वास आर्जन गरी संविधानको मर्म र भावनाको रक्षा गर्न सभामुख सापकोटाले अवसर र चुनौति दुबै छ । उनीविरुद्धका स्वरहरु सत्ता र पदको प्रभावमा ओझेलमा पर्नु हुँदैन र तिनको सामना विधिकै माध्यमबाट हुनुपर्छ । यसले मात्र उनको शुद्धता र संविधानको मर्यादा कायम हुनसक्छ ।




























