पुनर्गठित नेकपा (माओवादी केन्द्र) संघर्षमा, सीमानामा पर्खाल र काँडे तार लगाउन माग

0
472

बिर्तामोड ।

पुनर्गठित नेकपा (माओवादी केन्द्र) ले देशमा राष्ट्रघाती काम भइरहेको र भ्रष्टाचार बढेको भन्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

उक्त पार्टीको नाममा अध्यक्ष भविसोर पराजुलीले आइतवार विज्ञप्ति जारी गरी माघ २३देखि फागुन १ गतेसम्मका लागि संघर्षको कार्यक्रम सार्वजनिक गरेका हुन् । सो पार्टीले नौ बुँदे माग अघि सारेको छ ।

असमान सन्धि सम्झौता तुरुन्तै खारेज गरी सीमानामा अग्लो पर्खाल र काँडे तार लगाउन तत्काल थालनी गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘एमसीसी’ लाई राष्ट्रघाती कदम भन्दै त्यसको बहिष्कार गर्नुपर्ने, नेपालको गुमेको जमिन फिर्ता गर्नुपर्ने, निजी सम्पत्ति राष्ट्रियकरण गरी समान वितरण गर्नुपर्ने माग सो पार्टीको छ ।

पुनर्गठित नेकपा (माओवादी केन्द्र) ले महंगी नियन्त्रण गर्न र जनताले थेग्नै नसक्ने गरी लगाइएको करलाई तत्काल न्यूनीकरण गर्न समेत माग गरेको छ । समाजवादी नीतिलाई सरकारको कार्यनीतिको रुपमा लागू गर्नुपर्ने, घुस नलिई कामै नगर्ने प्रशासनिक कु–संस्कारको अन्त्य गर्नुपर्ने, रोजगारीको सृजना गरी वेरोजगारी समस्या अन्त्य गर्न समेत माग गरिएको छ ।

त्यस्तै सबै तयारी वस्तुको आयातमा प्रतिबन्ध लगाई देशका सबै गाउँ र टोललाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न विज्ञप्तिमार्फत माग गरिएको छ । प्रथम चरणको संघर्ष अन्तर्गत २३देखि २८ माघसम्म देशव्यापी कोणसभा गर्ने, माघ २८देखि ३० गतेसम्म प्रचारप्रसार र घरदैलो तथा फागुन १ गते जनयुद्ध दिवसको सन्दर्भमा बृहत् अन्तरक्रिया गर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘वर्तमान सरकारले निरन्तर जनघाती र राष्ट्रघाती काम गर्दै आएको सबै सामु छर्लङ्ग छ, यसका बिरुद्ध हामीले पटक–पटक आवाज उठाउँदै आयौं, तर सरकारले सम्बोधन गर्न परै जाओस्, हाम्रो मागहरु सुन्ने चेष्टा पनि गरेन’– अध्यक्ष पराजुलीले विज्ञप्तिमा उल्लेख गरेका छन्– ‘त्यसकारण देशमा भइरहेको जनघाती, राष्ट्रघाती, भ्रष्टाचार, महंगी, अभाव लगायतका मुद्दालाई लिएर चरणबद्ध संघर्ष शुरु नगरी नहुने बाध्यात्मक अवस्था सृजना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here