सम्पादकीय
बूढापाकाले भनी ल्याएको भाखा सर्दै आएको, एउटा प्रचलित उखान छ ‘नामर्दको…..हुनुभन्दा मर्दको कुमारी हुनु राम्रो’ । यस्तै अवस्थामा रहेका नेपाली नगारिकले उखानको मर्म राम्ररी बुझेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ– कोरोना प्रभवित क्षेत्रमा निरुपाय बसेका नेपाली । अर्थात् चीनको बुहान राज्यबाट फैलिएको कोरोना सम्पूर्ण चीन हुँदै विश्वमा फैलिएको छ । त्यसका कारण सात सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोनाको त्रास फैलिनासाथ चीनले पाँच दिनमा छुट्टै अस्पताल बनाएर आफ्ना नागरिकलाई उपचार सेवा प्रदान ग¥यो । चीनमा रहेका आफ्ना नागरिकलाई भारत लगायतका देशले स्वदेश फिर्ता गरेर सुरक्षा, संरक्षण र सेवा प्रदान गरे । तर, त्यही अवस्था र पीडामा रहेका नेपाली भने संशय र अनिश्चयमा बाँचेका छन् त्यही विदेशको चार दिवारीमा ।
दुई सातादेखि कोठामा बन्द रहेका नेपाली विदार्थीहरुको सङ्ख्या ठूलो छ । उनीहरुले पटक–पटक देश, सरकार र प्रधानमन्त्रीलाई गुहारे । नेपाल सरकारले यहीबीच बैठक ग¥यो, सूचना जारी ग¥यो, आशा जगायो तर चीनमा अध्ययनरत् विद्यार्थीहरुको फिर्तीको सपना पूरा भएन । यसरी ढोका बाहिर दौडिरहेको मृत्युलाई टुलुटुलु हेरेर बसेका नेपाली विद्यार्थीको पीडा राज्यको ढिकुटीमा रजाइँ गर्ने सरकारका प्रतिनिधिले नदेख्दा उनीहरु आक्रोशित हुनु सामान्य हो । चीन नेपालसँग जमिनले नै जोडिएको छिमेकी मुलुक हो । यी दुई देशका बीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण छ । तर, पनि हाम्रो सरकारका प्रतिनिधिहरुको अक्षमता र अकर्मण्यताले चीन सात समुद्र पारीको सरह बनिनु नेपाली कै दुर्भाग्य हो ।
चीनमा बन्धक झैं बसेका नेपाली विद्यार्थीहरुले परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार लगायतलाई सामुहिक पत्र लेख्दै स्वदेश फिर्तीको माग स्वीकार नगरिए अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका छन् । यस्तो परिस्थितिमा पुग्नु नेपाली जनताले ‘मर्द‘को नेतृत्व र संरक्षकत्व नपाएकै हो भन्दा हुने अवस्था हो । त्रासमा कष्टपूर्ण जीवन बिताइरहेका नेपाली विद्यार्थीको पीडा आम नेपाली नागरिकको पीडा र वास्तविक जीवनको प्रतिक हो । यसले हाम्रो नेतृत्वपंक्तिमा मानवीयता र संवेदना नरहेको स्वार्थ र सुखमा मात्रै रमाउन चाहेको देखाउँछ । त्यही कारण पनि उल्लेखित उखानको सान्दर्भिकता अझै रहेको प्रमाािण्त हुन्छ ।
यतिबेला मर्द खोज्ने काममा लाग्ने बेला होइन । तर, पनि नेतृत्व काम नलाग्ने, असहाय, निर्विवेकी र निर्धो भएकै हो भने सोच्नैपर्ने हुनसक्छ । ठूला–ठूला परिवर्तन ल्याउन सक्षम नेपालीलाई गतिहीन गन्तव्य र दृष्टिविहीन अभिभावकत्वको छहारीको के काम ? तसर्थ, सबैले परिस्थितिको गाम्भीर्यलाई अनुभूत गरी आफ्नो–आफ्नो कर्तव्य र दायित्व पूरा गरौं, अन्यथा अरुलाई खाने कालले आफैंलाई पनि खान सक्छ ।





























