बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच औपचारिकरुपमा भगिनी सम्बन्ध कायम

0
843

लक्ष्मी उप्रेती /मेचीनगर,

बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच औपचारिकरुपमा भगिनी सम्बन्ध कायम भएको छ । यो सँगै विदेशको नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यमा मेचीनगर झापाको पहिलो नगर बनेको छ ।

सोमबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र बेलायतको फोक्सटन सिटीका प्रमुख जेकी माइडले कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद् सुरेन्द्रकुमार कार्कीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गदैं सम्झौता पत्र एक आपसमा आदान प्रदान गर्नुभएको थियो ।

मेचीनगर नगरपालिका प्रमुख विमल प्रमुख आचार्यले गत असोज १६ देखि १९ गतेसम्म बेलायतको बिभिन्न औपचारिक कार्यक्रममा सहभागी भएर मेचीनगर र बेलायतको फोक्सटन सिटी सहित त्यस क्षेत्रका अन्य शहरहरुसंग द्विपक्षिय सम्बन्ध स्थापित गर्ने बिषयमा छलफल गर्नुभएको थियो । त्यसवेला दुई शहरबीच भगिनी सम्बन्ध कायम गर्न सहमति भएको र बेलायतका उच्च पदस्थहरुसँग विशेष गरी शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा छलफल भएको थियो ।

नगरप्रमुख आचार्यले मेचीनगरवासीकातर्फबाट नेपाल र बेलायत तथा नेपाली र बेलायती जनताबीचको भगिनी सम्बन्धलाई अझ मजवुत बनाउन युकेका उच्च पदस्थ अधिकारीहरुलाई मेचीनगर भ्रमणको औपचारिक निमन्त्रणा गर्नुभएको थियो । निम्तोलाई स्वीकार गदैं बेलायतको फोक्सटन सीटीका प्रमुख जेकी माइड चार सदस्यीय टोली मितेर सम्बन्ध गाँस्न शनिबार मेचीनगर आइपुगेको थियो । सोहि अवसरमा दुई नगरप्रमुखबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मेचीनगर नगरपालिकाकातर्फबाट १८ नोभेम्वर २००६ मा वेलायतको फोक्सटन सीटीलाई भगिनी सम्बन्ध स्थापनाका लागि अनुरोध गरिएका थियो । नेपालको अनुरोधलाई स्वीकादैं ११ अप्रिल र २३ सेप्टेम्वर २००८ मा मेचीनगरपालिकालाई भगिनी सम्बन्धका लागि दोहोरो पत्रचार भएको थियो । तत्कालिन नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट २०६४ साल कात्तिक २१ गते भगिनी सम्बन्धकालागि स्वीकृत प्राप्त भएको थियो ।

मेचीनगर नगरपालिकाका प्रमुख आचार्य र बेलायतको फोक्सटन सिटीका प्रमुख माइडले कार्यक्रमको अध्यक्षता गदैं यो क्षण ऐतिहासीक भएको भन्दैं यसले नेपालको मेचीनगर र बेलायतको फोक्सटन सिटीसँगबीचको हितेरी साइनो औपचारिकरुपमा मितेरी साइनोमा रुपान्तरण भएको विचार राख्नुभयो ।

यसले दुई देश अनि दुई नगरबीच देशवासी र नगरवासीको सम्बन्धलाई अझ प्रगाढ बनाएको दुवै नगरका लागि ऐतिहासीक भएको बताउनुभयो । नेपाल र वेलायतबीचको सम्बन्ध धेरै पुरानो र मैत्रीपुर्ण भएको भन्दैं यसले अझ नजीक बनाएको विचार दुवै नगरप्रमुखहरुको थियो । नगरप्रमुख आचार्यले यो औपचारिकतासँगै अझ सहयोग ,सम्बन्ध र सद्भाव विस्तारका नयाँ आयामहरु खुल्ने बताउनुभयो । बेलायतको फोक्सटन सिटीका प्रमुख माइडले वेलायतको फोक्सटन शहरलाई वेलायतमा गोर्खालीहरुको घर भनेर चिनिने गरेको बताउनुभयो ।

गोर्खालीले व्रिटेन र व्रिटेनका जनताबीच देखाएको सहयोग सद्भावप्रति व्रिटेनका जनताकातर्फबाट उहाँले आभार प्रकट गर्नुभयो । वेलायत फर्केर दुई नगरवीचको यो भगिनी सम्बन्धलाई अझ मजवुत बनाउन सम्झौता पत्रमा उल्लेख भएका कुरालाई व्यवहारमा उतार्ने उहाँले प्रतिवद्घता व्यक्त गर्नुभयो । मेचीनगरका उत्कृष्ट कम्प्युटर प्राविधिकहरुलाई सन् २०२१ म वेलायत लगेर नयाँ नयाँ तालिम दिएर अझ दक्ष बनाउने र उनीहरुले नेपालमा दक्ष जनशक्ति निर्माण गर्ने जानकारी गराउनुभयो । नेपालका ५ जना प्रहरीलाई समेत वेलायत निमन्त्रणा गरेर तालिमको व्यवस्था गर्ने उहाँको भनाई थियो ।

नेपाली जनताले आफुहरुप्रति देखाएको स्वागत र सम्मानको प्रशंसा गदैं व्रिटेनका जनताबाट हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले मेचीनगर क्षेत्रभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार्न र शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत सम्बन्ध बढाउन चाहेको बताउनुभयो । उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत गदैं संयुक्त अधिराजय नेपालसँगको दौत्य सम्बन्ध स्थापना गर्ने पहिलो विदेशी मुलुक भएको र नेपाल र युकेबीच औपचारिकरुपमा सम्बन्ध भएको २ सय वर्षभन्दा बढी भएको बताउनुभयो ।

उहाँले २०५३ साल तदनुसार १९९६ मा स्थापना भएको मेचीनगर नगरपालिका र युकेको फोक्सटन नगरबीच भगिनी सम्बन्ध स्थापनाको यो चरणसम्म आइपुग्दा अत्यन्तै खुशी लागेको बताउनुभयो । यी दुई नगरबीच स्थापित यस सम्बन्धले मेचीनगरका १ लाख २५ हजार र फोक्सटन सिटीका ५० हजारबढी जनतालाई एक आपसमा जोडेको विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, उषा गुरुङ, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, फोक्सटन टाउन च्याम्वर अफ कर्मसका चियर म्यान रे जोनसनलगायतले बोल्नुभएको थियो । उहाँहरुले यो सम्बन्धले दुई शहरबीच दोहोरो सहयोग आदान प्रदान गर्न एक अर्काबीचका कला, संस्कृति रीतिरिवाजलाई सजिलै चिन्ने अवसर मिलेको बताउनुभएको थियो ।

झापा मेचीनगर —६ काँकरभिट्टा निवासी पूर्व काउन्सिलर धन किरणले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निभाएको, उनले बेलायतमा बसेरै पनि नेपाल र नेपाली जनता त्यसमा पनि झापालीप्रति देखाएको सदभाव,माया ममता, नेपालको शिक्षा सामाजिक तथा स्वास्थ्यक्षेत्रमा पुर्याएको योगदान प्रशंसा गदैं यो भगिनी सम्बन्ध कायम गर्न समेत उहाँ ‘माइल स्टोन’को रुपमा खडा भएको सहभागीहरुको भनाई थियो ।

गोर्खा मेमोरियल फण्ड युकेका संस्थापक अध्यक्ष समेत रहनु गुरुङले द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहलमा भारतीय राजदुताबास मार्फत प्राप्त टाटा कम्पनिको सुमो एम्बुलेन्स मेचीनगर नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ भने औषधि र अन्य उद्दारका सामाग्री नगरपालिकालाई प्राप्त भएको थियो ।

द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङ र मेचीनगर नगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले सम्झौता पत्र वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा, विभिन्न अन्य पालिकाका प्रमुख उपप्रमुख, राजनीतिक दलविभिन्न सरकार गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेवार समुदायको लाखे नाच, किसान, मेचे समुदायको कला संस्कृति प्रस्तुत गरिएको थियो ।

वेलायती टोलीले काँकरभिट्टा माविमा रहेको अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको समेत अवलोकन गदैं सो विषयमा जानकारी लिएको थियो । पुर्व काउन्सिलर गुरुङकै पहलमा काँकरभिट्टा माविका लागि २८ लाख रुपैयाँ मुल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान भएको थियो । टोलीले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरुसँग बसेर विभिन्न विषयमा छलफल गरेको छ भने नगरका विभिन्न ठाउँमा गुम्बाहरुका बारेमा समेत चासो लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here