‘दाबोना’ बनाउँदै धिमाल महिला

0
1578

सुरेन्द्र भण्डारी / झापा।


पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएका प्राचीन आदिवासी जाति हुन्– धिमाल । आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, भेषभूषा, धर्म, संस्कृतिले पूर्ण छ यो जाति । धिमाल समुदायको जनसंख्या २०६८ सालको जनगणना अनुसार तीस हजारको हाराहारी मात्रै छ ।

आदिमकालबाटै प्रकृतिमा निर्भर रहेको धिमाल जातिले प्रकृति पूजामा विश्वास राख्दै आएको धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान धिमालले बताए । आफ्नै प्रकारका सामाजिक संस्कारहरु भएको धिमाल जातिको जन्म, विवाह र मृत्यु संस्कार पनि छुट्टै रहेको छ । जात्री मेला, सिरजात, पार्वा, भेन्द्र, नावाङ्गी, गावा पूजा, जात्रा पूजा, टाकाबान्धा, रास पूजा, बान्धा पूजा, धुला पूजा, हाइजा पूजा, लक्ष्मी काइका पूजा आदि धिमालले मान्ने मौलिक चाडपर्ब हुन् ।

युवा पुस्तालाई आफ्नो संस्कार र संस्कृतिका विषयमा जानकारी गराउन नसक्दा अहिले धिमाल समुदायका युवा पिढीले मौलिक संस्कार र संस्कृति भुल्दै गएको धिमाल जाति विकास केन्द्रका उपाध्यक्ष गणेशमान बताउँछन् । उनी भन्छन्– ‘धिमाल समुदायका महिलाले लगाउने दाबोना, इतङ्गी, पातोलोइ, सामुठी, नोसोइ, तेपाना र पुरुषले लगाउने आसकोट, गान्जी, टेपाना, पाटुका, चेउका धारी, तुप्रीका विषयमा युवा पिढीलाई बताउन नसक्दा हाम्रो मौलिक रीतिरिवाज ओझेलमा पर्दै गएको छ ।’

उर्नी, ढोल, सेरेन्जा, तुन्जाई, दोतारा, घोगोमोगो, बाँसुरी हाम्रा आफ्नै परम्परागत बाजाहरु हुन्– उपाध्यक्ष धिमाल भन्छन्– ‘अहिले यी बाजा बजाउने युवा छैनन् । चाडपर्व, पूजाआजामा यस खाले बाजा बजाउनुपर्ने भए पनि युवा पुस्ताले संस्कार, संस्कृति संरक्षणमा ध्यान नदिँदा हाम्रो मौलिक संस्कार संस्कृति नै लोप हुँदैछ ।’
संस्कार संस्कृतिमा धिमाल जाति धनी भएर पनि मौलिक गरगहना र जातीय पोशाकको संरक्षण गर्न नसकेको भन्दै बिर्तामोड नगरपालिकाले नगरका धिमाल महिलाहरुलाई अहिले जातीय पहिचान झल्काउने पहिरन ‘दाबोना’ अर्थात् पेटानी बनाउन प्रोत्साहन गरिरहेको छ ।

जसका कारण धिमालको जातीय पहिरन संरक्षण हुने र महिलाहरुले त्यसलाई व्यवसायिकता प्रदान गरे आत्मनिर्भर बन्ने भन्दै पेटानी बनाउने कार्यमा धिमाल महिलाहरुलाई सिप सिकाउन शुरु गरिएको बिर्तामोड नगरपालिकाका सूचना अधिकारी समेत रहेका वडा नम्वर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले बताए ।

उनले भने– ‘धिमाल समुदाय आफैंमा पछाडि छ, त्यसमाथि संस्कार संस्कृति, आफ्नै भेषभूषाको संरक्षण गर्न नसक्दा उनीहरुलाई सिप पनि सिकाउने र संस्कार संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर बनाउन नारी संकल्प नामक संस्थासँग सहकार्य गर्दै धिमाल महिलाहरुलाई पेटानी बनाउने तालिम प्रदान गरिरहेका छौं ।’

नगरपालिकाले प्रदान गरेको तालिममा अहिले नगर क्षेत्रका १८ जना धिमाल समुदायका महिलाले पेटानी बनाउने तालिम लिइरहेको नारी संकल्प संस्थाकी अध्यक्ष तुलसा खरेलले बताइन् । जातीय पहिचान झल्काउने पहिरन हो ‘दाबोना’ अर्थात् पेटानी । तर, आधुनिकताका कारण अहिले धिमाल समुदायका महिलाहरुले पेटानी लगाउन छाडेका छन् । पेटानी बनाउन सिकाउँदै आएकी मोरङ पथरीकी सीता धिमालले भनिन्– पेटानी बनाउने सिप सिक्ने हो भने धिमाल समुदायका महिलाहरु कोही पनि बेरोजगार हुनुपर्दैन ।

धिमाल समुदायका महिलाहरुले लगाउने पेटानी गुन्यू जस्तै हो । तर, पेटानी करिब ५÷६ हात मात्रको हुन्छ । पेटानी लगाउँदा महिलाहरु केवल छाती मात्रै ढाक्छन् । पेटानी लगाउने महिलाहरुले चोलो लगाउँदैनन् । पेटानी घुडा मुन्तिरसम्म मात्र लगाउँछन् । यो घरमै महिलाहरुले धागो कातेर तानमा बनाउने गर्छन् । पेटानी बनाउने हाम्रो पुख्र्यौली पेशा हो– सीताले भनिन्– हाम्रो समुदायमा विवाह ब्रतबन्ध जस्ता कार्यमा पेटानी अनिवार्य छ । तर, अहिलेका युवा पिढीले पेटानी लगाउँदैनन् ।

नगरवासीलाई पेटानी बनाउने कार्यमा प्रोत्साहन गर्दै सिप सिकाउन थालेपछि नगरका धिमाल महिलाहरु अहिले सिप सिक्न उत्साहित देखिएका छन् । दुई महिना अघिदेखि पेटानी बनाउने सिप सिक्दै आएकी बिर्तामोड–१ निवासी कोपिला धिमाल भन्छिन्– ‘हामी लजाएर रहेछ, एउटा मात्रै पेटानी बनाएर बिक्री गर्दा दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुँदोरहेछ, दुई दिनमै तयार गर्न सकिने पेटानी महिनामा १२ देखि १५ वटा मात्रै बनाएर बिक्री गर्ने हो भने तीस हजार भन्दा बढी आम्दानी गर्न सकिने रहेछ ।’

तालिममा सहभागी घिना धिमाल उमेरले ५० को हाराहारीकी छिन् । तर, उनमा सिप सिक्ने इच्छा शक्ति तीब्र छ । उनी भन्छिन्– ‘बेलैमा सिप सिकेर यो व्यवसाय शुरु गरेको भए अहिलेसम्ममा मनग्य आम्दानी गरिसक्ने थिएँ ।’ बिर्तामोड नगरपालिकाले धिमाल समुदायका महिलाहरुको जीवनस्तर सुधार्दै स्वावलम्बी बनाउन पेटानी बनाउने सिप सिकाए पछि दमक नगरपालिकाले पनि धिमाल समुदायलाई परापूर्वकालदेखि बसोवास गर्दै आएको नागरिकका रुपमा ‘प्रथम नागरिक’ घोषणा गर्दै धिमाल जातिलाई सम्मान गरेको छ ।

धिमाल जातिको जनसंख्या दमक नगरपालिकामा करिव १५ हजारको हाराहारीमा रहेको बताउँदै जातीय प्रोफाइल बनाउने काम गर्न लागिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । धिमाल जाति कला, साहित्य र इतिहासका दस्तावेज भएकाले उनीहरुको जातीय पहिचान, धर्म–संस्कृति, परम्परा र रीतिरिवाज संरक्षणका लागि दमक नगरपालिका सकारात्मक रहेको नगरप्रमुख ओलीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here