हल्दीवारीले उचाल्यो राजवंशी नकआउट फुटबलको उपाधि

0
491

भद्रपुर ।

हल्दीवारी फुटबल क्लबले जिल्ला स्तरीय राजवंशी नकआउट फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । घोडामारा राजवंशी युवा क्लबले भद्रपुर ९ स्थित घोडामाराको खेल मैदानमा आयोजना गरिएको आज भएको फाइनल खेलमा अर्जुनधारा फुटबल क्लबलाई दुईको विरुद्ध पाँच गोलको फराकिलो अन्तरले पराजित गर्दै हल्दीवारीले उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै हल्दीबारीले नगद २५ हजारसहित ट्रफि तथा प्रमाणपत्र पाएका छन् । उपविजेता अर्जुनधाराले नगद १५ हजार ट्रफि तथा प्रमाणपत्र पाएका छन् । हल्दीवारीका हिरन राजवंशीले ह्याट्रिक गोल गरे ।

उनले पहिलो हाफको १५ औ मिनेटमा र दोस्रो हाफको १३ औँ र २० औँ मिनेटमा गरी तीन गोल गरेका थिए भने किरण राजवंशीले पहिलो हाफको ५ मिनेटमा तथा होम राजवंशीले दोस्रो हाफको एक मिनेटमा गोल गरेका थिए । उता अर्जुनधाराका दीपेन्द्र राजवंशीले दोस्रो हाफको २४ र २९ मिनेटमा दुई गोल फर्काएका थिए ।

प्रतियोगितामा म्यान अफ द म्याच विजेता टिमका हिरन राजवंशी घोषित भए भने वेस्ट प्लेयर अर्जुनधाराका खेलाडी दीपेन्द्र राजवंशी घोषित भएका छन् । घोडामारा फुटबल क्लबका अध्यक्ष सुरेश राजवंशीको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

गत फागुन ७ गते देखी सञ्चालन भएको उक्त प्रतियोगितामा झापाका विभिन्न स्थानीय तहबाट १० वटा टिमले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here