प्रभावकारी विज्ञान शिक्षण

0
1354

कमलकान्त ढुंगेल,

विज्ञान एक क्युरिसिटी, खोज, अन्वेषण र निरन्तर प्रश्नको संगालोले भरिपूर्ण विषय हो । यसका धेरै उप शाखाहरु ह्ुन्छन् जस्तैः भौतिक विज्ञान, रसायन विज्ञान, जीव शास्त्र, खगोलविज्ञान, भू–विज्ञान, इलेक्ट्रोनिक्स आदि ।

माध्यमिक र आधारभूत तहका केही माथिल्ला कक्षाहरुमा समेत भौतिक विज्ञान, रसायन विज्ञान, जीव शास्त्र, खगोलविज्ञान जस्ता चारवटा विज्ञानका आधारभूत शाखाहरु राखिएको छ । तथापि यी चारवटा शाखाहरु पूर्णरुपमा अलग र नजोडिएका विषयवस्तु हुन् । त्यसो भए एउटा महत्वपूर्ण प्रश्न के छ भने के एउटै विज्ञान शिक्षकले यी चारवटै विधा पढाउन सम्भव छ त ? किनभने प्रायजसो ग्रामीण भेगमा एक त विज्ञान शिक्षक कै अभाव छ भने चारजना शिक्षकको परिकल्पना नै काल्पनिक हुन जान्छ । भने अर्कोतिर विज्ञानको एउटा शाखामा निपूर्ण शिक्षकले अर्को शाखा शिक्षण गर्दा आउने कमिकमजोरीले विज्ञान शिक्षाको गुणस्तर खस्किने खतरा पनि उत्तिकै देखिन्छ ।

विज्ञान विषयमा राम्रो गुणस्तर प्राप्त गर्नका लागि सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सँगसँगै चलाउनु अनिवार्य हुन्छ । यससँगै कम्प्युटरको दक्षता बढाए सुनमा सुगन्ध हुन्छ । उदाहरणका लागि विद्यार्थीलाई सेतोपाटीमा कार्बनडाइअक्साइडको प्रयोगशालामा बनाउने विधि चित्र र रासायनिक प्रतिक्रिया घोकाएर लाभदायी हुँदैन । तर, त्यही कुरा हामीले प्रयोगशालामा गर्न लगायौँ भने यो एकदमै प्रभावकारी हुन्छ । तसर्थ, सम्भव भएसम्म विज्ञान शिक्षण प्रयोग केन्द्रित, भ्रमण केन्द्रित र परियोजना केन्द्रित बनाउनु अहिलेको समयको माग हो । यसका साथसाथै विद्यार्थी र शिक्षक दुबैको कम्प्युटर साक्षरता अभिवृद्धि गर्नु पनि अपरिहार्य भइसकेको छ ।

साथै प्रयोगात्मक अंकन प्रणालीलाई पनि विशेष ध्यान दिन जरुरी छ । यसका अंकनका आधारहरु परिभाषित गर्न जरुरी छ । जे गरे पनि प्राक्टिकलमा त आइहाल्छ नि भन्ने विद्यार्थीको धारणालाई चिर्न जरुरी छ । यसका लागिीअहिलेको तरीका उल्टो देखिन्छ, किनभने अहिले सर्वप्रथम प्रयोगात्मक परीक्षाको अंक प्रदान गरेपछि मात्र सैद्धान्तिक परीक्षा गराइन्छ । तर, पछि धेरै विद्यार्थीहरुको प्रयोगात्मक र सैद्धान्तिक अंकहरुमा आकाश पातालको फरक भेटिन्छ । त्यसैले यसलाइ सुधार गरी पहिले सैद्धान्तिक परीक्षा नतिजा प्रकाशन गरी त्यसलाई पनि प्रयोगात्मक अंकनको आधार बनाउनु राम्रो तरिका हुन सक्छ ।

यस विषयको प्रभावकारिीा बढाउनका लागि लेक्चर र छलफल विधिले मात्र हुँदैन । यससँगै प्रयोगशालाको सिकाइ, क्षेत्र भ्रमण विधि, परियोजना कार्य पनि विज्ञानको रेसिपिका महत्वपूर्ण अवयवहरु हुन् । किनभने विज्ञान पढाउनुको मूल उद्देश्य भनेको कार्य, शक्ति, कोष, न्यूटनको चाल सम्बन्धी नियम, प्रकाश वर्ष आदि परिभाषा घोकाउनु मात्र नभएर पाठ्यक्रममा भएका विभिन्न सिद्धान्तहरुलाई प्रयोगशाला, रिसर्च केन्द्र, औषधि, इञ्जिनियरिङ आदि क्षेत्रहरुमा प्रयोग गरी विद्यार्थीलाई इनोभेटिभ बनाउनु हो । यसका लागि दक्ष विद्यार्थी उत्पादन गर्न विज्ञानलाई आधारभूत तहकै केही कक्षाहरुबाटै इलेक्टिभ बनाउनुपर्ने आवश्यकता देखिन्छ । जसले गर्दा यसलाइ एकदमै इच्छुक विद्यार्थी मात्र लिउन् ।

हामीले देखेकै र भोगेकै कुरा हो कि धेरै विद्यार्थीहरु कक्षा ११ र १२ मा विज्ञान समूहका विषयहरु लिन्छन् । तर, त्यो सकेर वा नसकी उनीहरु घरको न घाटको स्थितिमा देखिन्छन् । तसर्थ, शिक्षक र अभिभावक सबैले राम्रो पथप्रदर्शक बनेर उनीहरुको भावना, इच्छा बुझेर विज्ञान विषय लिने वा नलिने निर्णय लिनका लागि विद्यार्थीहरुलाई सहयोग गनुपर्ने देखिन्छ । यदि उनीहरु इच्छुक छन् भने उनीहरुलाई शुरुदेखि नै विज्ञानको स्कोपहरु जस्तैः मेडिकल, इञ्जिनियरिङ, शिक्षक, वैज्ञानिक, आदिका बारेमा बताउँदा एकदमै लाभदायक हुन्छ ।

अन्त्यमा, देश विकासको मूल आधार भनेकै विज्ञान र प्रविधि हो । शिक्षा क्षेत्रमा विज्ञानको जग बलियो नहुञ्जेल देश विकास द्रुतगतिमा हुन सक्दैन । विज्ञान शिक्षणलाई प्रभावकारी बनाउनका लागि विद्यालय त सबैभन्दा महत्वपूर्ण अवयव हो नै तर सँगसँगै शिक्षक , विद्यार्थी र परिवारको एकीकृत भूमिकाको पनि महत्वपूर्ण स्थान रहन्छ ।

(ढुंगेल लक्ष्मी मावि, अर्जुनधारा र मोहनमाया मावि बिर्तामोडका विज्ञान विषयका शिक्षक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here