समतामूलक समाजका लागि स्थानीय सरकार

0
1000

पूर्णबहादुर कटुवाल,

आज ८ मार्च, विश्वभर ११०औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । महिला अधिकारको संरक्षण, सशक्तिकरण तथा समानताको सवाललाई मुखरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सर्वप्रथम सन् १९०३ फेब्रुअरीमा मनाइन शुरु गरिएको यो दिवसले विश्वभरका महिलाहरुलाई मानवीय सवालका हरेक क्षेत्रमा सबलीकरण गर्दै महिला अधिकारका पक्षमा एक ठाउँमा उभिनुपर्ने सन्देश दिने गरेको छ ।

वर्षेनि नारी दिवस मनाइन्छ । विभिन्न औपचारिक कार्यक्रमको आयोजना गरिन्छ । मुलुकका हरेक कानून र नीतिमा महिला सशक्तिकरण, अधिकार, समानताका विषयलाई सुरक्षित गरेको प्रत्याभूति दिलाइए पनि अहिलेसम्म व्यावहारिक रुपमा यो हुन सकिरहेको छैन । यो दिवस मनाउनुको औचित्य शब्दमा मात्र ब्याख्या गरिनु व्यावहारिक देखिँदैन । मूलतः व्यवहारिक रुपमै नारी दिवसको सार्थकता झल्किनु आवश्यक छ । महिला हक अधिकारभन्दा पनि महिलाको आधार र पृष्ठभूमिलाई घरपरिवारबाटै समुन्नत बनाउन सकेमात्र समाज, राष्ट्र र पुरै विश्वको प्रतिष्ठामा नारीको ओज र उचाइ बढ्न सक्छ । नारीलाई आधा आकाश, नारीशक्ति, अर्धनारीश्वर, माता आदि उपमा दिएर परापूर्वकालदेखि नै नारीको इज्जत र सम्मानलाई उच्च बनाएको छ । समाजले जसको महत्व र गरिमालाई अहिलेसम्म पनि कम आक्न सकिँदैन ।

त्यसैले नारी दिवसको उत्सवलाई नारी वर्गप्रतिको विशेषण मात्र नभएर समग्र समाज कै उन्नती र प्रगतिको लागि गरिएको श्रद्धापूर्ण अग्रगमनको बाटो पनि हो । नारी माथि हुने भेदभावको अन्त्य गर्दै समुन्नत समाज निर्माणको आधार नारी हुन् । तसर्थ, तीनलाई सबल बनाउन चेतनामूलक कार्यक्रमसहित यो नारी दिवसलाई मनाउने प्रयास गरिनुपर्छ ।
आध्यात्मिकता र अस्तित्वको कुरा गर्दा पनि नारीलाई करुणा, प्रेम, सम्मान, र आस्थाको आधारले माथिल्लो श्रेणिमा राखिएको छ । समाज विकासको प्रारम्भिक चरणबाट नै समाजलाई निरन्तरता दिन नारी र पुरुषको सिर्जना प्राकृतिक रुपले नै भएको हो । एउटा सिक्काको दुईवटा पाटाबाट जसरी पूर्ण सिक्का बन्छ । त्यसरी नै नारी र पुरुषको मेलबाट समाजको सिर्जना भएको हो ।

यति कुरा बुझिरहन कति पनि बठ्याई वा मुर्खता गरिरहनुपर्ने होइन । अधिकार बाँडफाँडका कुरा गरिरहनुपर्ने पनि होइन । तर, यही सिक्काको एउटा पाटो मानिएको पुरुष कै कारणले आजसम्म आइपुग्दा पनि महिला अधिकार र सशक्तिकरणका कुरा गरिरहनु परेको छ । नारी पुरुषबीचका अधिकार प्राकृतिकरुपमै फरक छैनन् । तर, यही विषयलाई हरेक कालखण्ड, हरेक परिवेशमा सुगा रटाई रट्नु परेको छ । हामी शताब्दी बद्लिएको कुरा गर्छाैं, विज्ञान र प्रविधिको उच्चतम् विकास र प्रयोगको हवाला दिन्छौं । तर, आखिर यो सबै परिवर्तन कसको जोडबल र प्रयत्नले भयो भन्ने कुरा नै बिर्सिएका छौं । आजसम्म जुनसुकै समाजले पनि नारी अधिकार, हक र समानताको सवाल उठाउने गर्छ । यो आफैंमा लज्जास्पद विषय हो । यो व्यवहार हामीले नै गरिरहेका र्छौ ।

आखिर दिने र लिने हामी समाजका दुबैपक्ष नै होइनौं । दुबैले दिने र दुबैले लिने नै हो । यो आदर्शलाई कुनै पनि नारी दिवसले भुल्नु हुँदैन । समाज नै विभेदकारी छ । हामी सामाजिक प्राणी भनिएकाहरु नै विभेदकारी छौं । अधिकार दिने दाता होइनौं हामी । विभेदकारी समाजलाई घच्घच्याउने वर्षेनि नारी दिवसलाई माध्यम बनाएर हामी अघि बढिरहेका छौं । तर, अबको नारी दिवस नारीलाई अधिकार दिएर सक्षम बनाउने भन्नुभन्दा पनि समान अधिकार सम्पन्न समाज भएको खुशियालीमा मनाउनु चाहिँ अझ सार्थक हुनसक्छ ।

व्यवहारिक रुपमै महिलामाथि विभेद गरिएको कुरालाई नकार्न सकिँदैन । समाजमा भए÷गरेका अन्याय अत्याचार र विभेद महिलामाथि नै बढी छन् । यी विभेदको अन्त्य नारी दिवस मनाएर नै समुल अन्त्य हुने होइन । मात्र यस दिनले नयाँ योजनाका साथ अघि बढ्ने ऊर्जा दिन सक्छ । खासगरी महिलालाई सम्पत्तिमा हक, शिक्षामा हक र स्वतन्त्र भएर बाँच्न पाउने हक जल्दाबल्दा सवाल हुन् । पितृसत्तात्मक समाजबाट सिर्जित यी सवालको अन्त्यको लागि नारी दिवस सार्थक बन्नुपर्छ भन्ने सोच हाम्रो हो । नेपालको वर्तमान संविधानले महिला हक–अधिकारको धेरै सवाललाई सुरक्षा प्रदान गरेको छ । नीति–निर्माण तहदेखि राजनीतिका हरेक पक्षमा महिला सहभागितालाई उच्च सम्मान गरेको छ । महिला सहभागिताको यो प्राथमिकता सँगै व्यावहारिक रुपमा सामाजिक र पारिवारिकरुपमा हुने विभेदको अन्त्य भने हुन नसक्नु अझ गम्भीर सवाल हो । इच्छाशक्ति भए महिलाको लागि कानूनीरुपमा अहिले हरेक ढोका खुल्ला छन् ।

आफ्नो क्षमता प्रस्तुत गर्न महिलाला कुनै रोकावट छैन । यो अवस्थालाई अब व्यावहारिक रुप दिन मात्र बाँकी छ । यसका लागि महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिताका आधारमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ ।
समाज परिवर्तन गरेर अधिकार सम्पन्न र सक्षम महिला भएको समाज हेर्नको लागि समाजमा विद्यमान रुढीवादी परम्पराको अन्त्य हुन जरुरी छ । जति नै धेरै कानून बने पनि संविधानका हरेक धारामा महिला स्वतन्त्रताका कुरा उठाउ पनि समाजमा जरा गाडेर बसेको रुढीवादी परम्पराको अन्त्य नभएसम्म समाजमा महिला विभेदको अन्त्य हुँदैन । परिवर्तन जादुको छडी होइन । तामझामका साथ नारी दिवस मनाउँदैमा, प्रतिबद्धता जनाउँदैमा, गुलिया भाषण बाँड्दैमा समाज परिवर्तन भएर महिला अधिकार प्रत्याभूत गर्न सकिँदैन ।

मानिसको सोचमा परिवर्तन नआएसम्म विचार परिवर्तन सम्भव छैन । तसर्थ, घरपरिवारबाट नै सोचमा परिवर्तन गरी नारी स्वतन्त्रता र अधिकारको विषय उठान हुन जरुरी छ । यसको लागि उपाय पनि सजिलो छ । यत्रो परिवर्तन मुलुकमा हामीले केको लागि ल्यायौं ? परिवर्तनका लागि नै हो । यो परिवर्तन राजनीतिक दलको अगुवाइमा आयो । मुलुक बदलियो । विश्वकै अनुपम उदाहरण बनेर संविधानसभाबाट संविधान बनाउन हामी नै सफल भयौं । विश्वमा विरलै मात्र हुने परिवर्तन नेपालमा भयो । परिणाम स्वरुप गणतन्त्र स्थापना भयो । यो अवसर नेपाल, नेपाली समाज र नेपाली नागरिकको सुवर्ण अवसर पनि हो । यसकै परिणति हो, जनताको सरकारको स्थापना । अब गाउँ–गाउँमा, कुनाकन्दरामा मुलुकको भाग्य निर्माण गर्ने अभिमत पाएका राजनीतिक दलका प्रतिनिधिमूलक सरकार गठन भएका छन् । यसभन्दा पर कहीँकतै पनि राजनीतिक र सरकार संरचना बन्ने ठाउँ बाँकी छैन ।

जनताको भाग्य निर्माण गर्ने अवसर र परिवर्तनमा रहेको सरकारले समाज रुपान्तरण गर्ने अभियान सञ्चालन गर्नुपर्छ । यही अभियान अन्तर्गत पर्छन् । मानवअधिकारको रक्षा, शिक्षा, स्वास्थ्य, जनचेतना, विकास, उन्नती र प्रगति । यिनै कुरामा सुधार आउनु नै विकास हो । अब नारामा मात्र परिवर्तन सीमित गरिनु हुन्न । राजनीतिक दल र जनताद्धारा निर्मित सरकारभन्दा शक्तिशाली अस्त्र दुनियाँमा कुनै हुन सक्दैन । तसर्थ, समाज रुपान्तरणका अभियान अन्तर्गत नै पर्ने महिला अधिकार र सशक्तिरणलाई आत्मसात गर्दै सरकारले सामाजिक न्याय दिन सक्नुपर्छ ।

नारी दिवसको सार्थकतालाई अझ उचाइमा पुर्याउन जनप्रतिनिधमूलक सरकारले नै सचेतना अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रीत गरी यो दिनलाई उपलब्धिमूलक बनाउन सक्नुपर्छ । समतामूलक समाजको निर्माण गर्न स्थानीय सरकारको भूमिका र जिम्मेवारी गहकिलो हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here