पूर्वाञ्चल क्यान्सर अस्पतालमा मेमो ग्राम मेसिनबाट सेवा

0
931

बिर्तामोड ।

नेपालमा क्यान्सर रोगीको संख्या दिनप्रतिदिन बढी रहेका बेला स्तन क्यान्सरका कारण समेत धेरै प्रभावित भएका छन् । क्यान्सर रोग मध्ये पाठेघरका क्यान्सरका रोगी र स्तन क्यान्सरका रोगी धेरै रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

विश्वमा क्यान्सरका कारण वर्षेनी ९ लाख बढीले ज्यान गुमाउने गरेको विश्व स्थास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ । नेपालमा ४० वर्ष माथिका महिलाहरुमा स्तन क्यान्सरको समस्या धेरै रहेको चिकित्सकले जनाएका छन् । शरीरका विभिन्न अंगमा भइरहेका स–साना परिवर्तनबारे समयमै थाह नहुँदा ठूलै समस्या आउने चिकित्सकहरुको भनाइ छ । खासगरी महिलाको स्तनमा आउने स–साना गिर्खा, गाँठागुठी कहिलेकाहीँ स्तन क्यान्सरको लक्षण पनि हुन सक्छ भन्ने भएकाले बेलैमा सतर्कता अपनाउन पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्रकुमार यादवले आग्रह गरेका छन् ।

वंशाणुगत कारण, ३० वर्ष उमेर कटेपछि बच्चा जन्माउने आमा, स्तनपान नगराउने आमा, पहिलेदेखि नै स्तनमा गाँठागुठी भएका महिला, महिनावारी चाँडै शुरु भई ढिला बन्द हुने महिला, मोटोपन भएका महिला, धेरै चिल्लो बोसोयुक्त खाना खाने र सुर्तीजन्य पदार्थ सेवन गर्ने महिला स्तन क्यान्सरको उच्च जोखिममा रहने चिकित्सकहरुको भनाइ छ । पछिल्लो समय महिलाहरुले आफ्ना बच्चालाई स्तनपान गराउन छाडेकाले पनि स्तन क्यान्सरका बिरामी बढ्न थालेको बताइएको छ ।

झापामा कूल क्यान्सर रोगीको २० प्रतिशतभन्दा बढी स्तन क्यान्सरका रोगी रहेको क्यान्सर रोग विशेषज्ञ डा. यादवले जानकारी दिए । उनले स्तन क्यान्सरको विषयमा महिला आफैं सचेत बनेमा यो रोगबाट बच्न सक्ने उल्लेख गरे । यसैबीच पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर रोगीको उपचारलाई ध्यान दिदैं आफ्नो सेवालाई विस्तार गरेको छ ।

स्तन क्यान्सरले भयावह अवस्था आउँन सक्ने भन्दै महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर पूर्वाञ्चल क्यान्सर अस्पतालले नेपालमा नै पहिलो पटक थ्री डी अटोमेटिक मेमो ग्राम मेसिन ल्याएर उपचार शुरु गरेको छ । फिनल्याण्डबाट आएका प्राविधिक तापियोले यो मेसिन नेपालमा पहिलो भएको उल्लेख गरे । उनले उनले महिलाहरुको स्तनमा क्यान्सर भए नभएको मेसिनले पत्ता लगाउन सक्ने बताए । यो मेसिन आएसंगै अब छामेर गाँठो आएको अवस्थामा मात्रै क्यान्सर भएको पत्ता लाग्ने नभएर मेसिन खुल्ला आँखाले नदेख्ने गाँठो समेत पत्ता लगाउन सक्ने बताए ।

क्यान्सर अस्पताललाई पूर्ण रुपमा विश्व स्तरीय बनाउन सकै प्रकारका उपकरणहरु भित्र्याउने पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । पाँच करोड रुपैंयाको लागतमा थ्री डी अटोमेटिक मेमो ग्राम मेसिन ल्याएको प्रसाईले जानकारी दिए । अब स्तान क्यान्सर भएर कसैले पनि अकालमा नै ज्यान गुमाउने पर्ने अवस्थाको अन्त्य हुने बताइएको छ । क्यान्सर रोग विशेषज्ञ डाक्टर यादवले थ्री डी अटोमेटिक मेमो ग्राम मेसिनले महिलाको स्तनको क्यान्सर भए नभएको पत्ता लगाउन सक्ने बताए ।

उनले सबै महिलाहरुलाई एक पटक स्तन क्यान्सर भए नभएको जाँच गराउन आग्रह गरे । स्तनको स्क्रिनीङ्ग गरेपछि क्यानसरको लक्षण भए नभएको देखिने डाक्टर यादवले जानकारी दिए । उनले दुई हजार रुपैंया खर्च गर्दा स्तन क्यान्सर भए नभएको पत्ता लाग्ने भन्दै बेलैमा स्तनको जाँच गराउन आग्रह गरे । उनले भने– स्तन क्यान्सरका कारण धेरै अकालमा नै ज्यान गुमाउनु परिरहेको अवस्थामा दुई हजार तिर्दैमा क्यानसर रोग पत्ता लगाउन सकिन्छ भने किन ढिला गर्ने ?

उनले पुरुषहरुलाई महिलाको स्तन जाँच गराएर सबैमा लाखौं खर्च हुनबाट जोगिन सुझाव दिए । थ्री डी अटोमेटिक मेमो ग्रामबाट सेवा सुरु गरेसंगै मंगलबार मात्रै २५ बढी महिलाले स्तन क्यानसर भए नभएको जाँच गराएका छन् । सयमा आठ जनामा स्तन क्यान्सर देखिने गरेको भन्दै डाक्टर यादवले सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन आग्रह गरे ।

क्यान्सर अस्पताल सञ्चालनमा आएसंगै प्रदेश–१ का झापासहित इलाम, पाँचथर, ताप्लेजुङ,मोरङ,सुनसरी, धनकुटा लगायतका जिल्ला मात्रै होइन् पश्चिमका सिन्धुली लगायतका जिल्लाबाट समेत क्यान्सर रोगीहरु उपचारका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल आउन थालेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

स्तन क्यान्सरका कारणहरु के के हुन् ?

रगतले नाता जोडिएका परिवारका सदस्यलाई यो रोग भएको खण्डमा सन्ततिलाई पनि लाग्न सक्ने जोखिम रहने चिकित्सकहरुले बताएका छन् ।

त्यस्तै मोटोपना, शारीरिक शिथिलता, हर्मोनमा आउने गडबडी, हर्मोन प्रयोग भएर बनाइएका औषधिहरु, विकिरणसँगको प्रत्यक्ष सम्पर्क तथा विभिन्न आनुवंशिक रोगहरुले गर्दा समेत यो रोग लाग्न सक्ने डाक्टर यादवले बताए । त्यस्तै आमा नबन्नु वा ढिलो उमेरमा आमा बन्नुले पनि स्तन क्यान्सरको जोखिम रहन्छ । बिलासी जीवनशैली, जन्मिदा उच्च तौल तथा स्तनमा हुने अन्य रोगले गर्दा समेत क्यान्सरको सम्भावना रहन्छ ।

स्तन क्यान्सर हुँदा कस्ता लक्षणहरु देखिन सक्छन् ?

स्तन वा काखीमा गाँठो हुनु सबैभन्दा बढी देखिने लक्षण रहेको जनाइएको छ । सबै गाँठा क्यान्सर नहुने तर क्यान्सर हैन भनेर छुट्याउनु चाहिँ जरुरी रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. यादवले बताए ।

महिनावारी सँगै गाँठो सानो–ठूलो नहुनु, धेरै नदुख्नु, गाँठो स्तनभन्दा बढी कडा हुनु, बाहिर छाला वा भित्र मासुसँग जोडिएको जस्तो महशुस हुनु, स्तनको आकार बिग्रिनु, स्तनको छालामा डिम्पल वा खाल्डाखुल्डी पर्नु, रातो हुनु, धेरै चिलाउनु, स्तनको मुन्टोको आकार बिग्रिनु, चिरा पर्नु वा रगत आउनुले स्तन क्यान्सरतर्फ संकेत गर्ने चिकित्सकको भनाइ छ ।

त्यस्तै धेरै विकसित भइसकेको स्तन क्यान्सरले हड्डी जोर्नीहरु दुख्ने, अस्वभाविक तौल कम हुने, शरीरमा बिलिरुबिनको मात्रा बढेर जन्डिस भएर आँखा तथा छालामा पहेंलोपना आउने, खानामा रुची नहुने, कमजोरी हुने जस्ता लक्षणहरुले पनि स्तन क्यान्सरको संकेत गर्ने बताइएको छ ।

कसरी बच्ने यो रोगबाट

स्तन क्यान्सरको विषयमा महिला आफैंले आफ्नो स्तन चेकजाँच गर्ने, कुनै गाँठागुठी देखिएमा तत्काल चिकित्सकसंग परामर्श लिनुपर्ने, खानपिनमा ध्यान दिनुपर्ने, चुरोट, मासुको सेकुवा तथा अल्कोहल कममात्र खाने गरेमा यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

नियमित ब्यायाम गर्ने तथा विवाहित महिलाले बच्चालाई स्तनपान गराउने हो भने पनि यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here