ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण हुने

0
954

केदार मगर /खोटाङ,

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी नजिकै रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण हुने भएको छ । यसका लागि प्रदेश नं १ सरकारले रु ४० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले सो स्थानमा ढुङ्गे बगैँचा बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम थालेपछि प्रदेश सरकारबाट बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले जानकारी दिनुभयो । “ढुङ्गे बगैँचा निर्माण गर्ने परिकल्पना जिल्ला कै नमूना काम भएकाले महत्वका साथ हेरिएको छ”, उहाँले भन्नुभयो, “यसका लागि रु एक करोड ३५ लाख बजेट माग गरिएकामा यस वर्ष प्रदेश सरकारले रु ४० लाख बजेट विनियोजन गरेको छ ।”

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीभन्दा केहीमाथि रहेको सो स्थानमा करिब १६० रोपनी सरकारी जग्गा चट्टानै–चट्टानले ढाकिएको छ । सिङ्गो डाँडा खोपेर बनाएजस्तो चुच्चो परेका ढुङ्गाले ढाकिएको ककनीडाँडामा अहिले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको ककनीडाँडाको ५६ रोपनी जग्गाभित्र पर्ने चट्टानलाई समेटेर ढुङ्गे बगैँचा बनाउने काम शुरु गरिएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । “हलेसीमा आएलगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनीडाँडामा ढुङ्गे बगैँचाको परिकल्पना गरिएको हो”, उहाँले भन्नुभयो, “विभिन्न आकृतिका ढुङ्गैढुङ्गाले ढाकिएको डाँडामा बगैँचा बनाउन ककनीडाँडामा रहेका कुनै पनि ढुङ्गालाई नबिगारी सजावट गरिने छ ।”

ककनीडाँडा विश्वको सर्वोच्च शिखर सगरमाथा तथा हिमशृङ्खला र वरपरका दृश्यावलोकन गर्न चर्चित छ । झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रङ्गका ढुङ्गाले ढाकिएको ककनीडाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ । मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुगिने सो ठाउँमा स्थानीय घुमफिर र वनभोज (पिकनिक) जाने गरेका छन् । ढुङ्गेडाँडा बनाएपछि सो डाँडालाई ‘चुरेडाँडा रक गार्डेन’ नामाकरण गरिने नगरप्रमुख उहाँ बताउनुभयो ।

सो स्थानलाई आकर्षकस्थल बनाउन प्राकृतिकरूपमै सजिसजाउ रहेका ढुङ्गालाई थप आकर्षक बनाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँठाउँमा ढुङ्गेगेट, ढुङ्गेधारा, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको छ ।

सर्वोच्च शिखर सगरमाथालगायतका हिमाली शृङ्खलाको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुङ्गाकै स–साना ढोका तथा चारैतिर तारबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने ठाँटी तथा चौतारा निर्माण गरिनेलगायतका योजना डिपिआरमा उल्लेख छ । रक गार्डेनमा विद्युत्, पिउनेपानी, विश्रामस्थल, केवलकार, भोजनालयलगायत अन्य बगैँचामा हुने सबै सुविधा उपलब्ध गराउने गरी काम थालिएको जनाइएको छ ।

ककनीडाँडाकै एकापट्टिको भीरमा रक क्लाइबिङको सम्भावना रहेकाले विकास गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । विशेषगरी हलेसी आउने पर्यटकलाई लक्षित गरेर ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण गर्न लागिएको हो । भस्मासुरले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि कलात्मक ढुङ्गा निस्किएको किंवदन्ती छ । ककनीडाँडा नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम ट्रेलको प्रवेशस्थलमा पर्दछ ।

किराँती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट शुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । ककनीडाँडा नजिकै किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम छ । ढुङ्गै–ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण गर्न लागिएको ढुङ्गे बगैँचालाई महत्वका साथ हेरिएको छ । ककनीडाँडामा नगरपालिकाले आधुनिक किसिमको ढुङ्गे बगैँचा निर्माण गर्ने भएपछि आसपासका स्थानीयवासीसमेत हर्षित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here