तोरीको तेल उत्पादन गर्दै बाह्रदशीका महिला

0
1363

बिर्तामोड।

सहारा नेपाल सहकारी संस्थाको सहयोगमा झापाको बाह्रदशी–७ डाँगीवारीमा स्थापना भएको कुटानी पिसानी मिल अहिले त्यस क्षेत्रका महिलाहरुका लागि सारथि बनेको छ ।

जुनतारा महिला कृषि सहकारी संस्थाले सहारा नेपालको सहयोगमा २०६५ सालमा मिल स्थापना गरेको थियो । त्यही मिलको सहयोगमा अहिले त्यस क्षेत्रका महिलाहरुले तोरीको शुद्ध तेल र मसला उत्पादन गर्दै आएका छन् । जसबाट आफ्ना सदस्यलाई शुद्ध तोरीको तेल र मसलाजन्य सामग्री किन्न बजार धाउनुपर्ने अवस्था हटेर गएको छ । त्यस्तै तेल र मसला बेचेर मनग्य आम्दानी गर्दै आएको सहकारीकी अध्यक्ष शान्ता प्रसाईले बताइन् ।

अहिले आफ्ना शेयर सदस्यले उत्पादन गरेको तोरी र बेसार लगायतका सामग्री खरिद गर्दै सहकारीले तेल तथा मसला (वेसार) उत्पादन तथा प्रशोधन गर्दै आएको छ । महिलाहरुले उत्पादन गर्दै आएको तेल तथा मसला बाह्रदशी गाउँपालिकासहित बिर्तामोड, कनकाई नगरपालिकाका बजारमा बिक्री हुँदै आएको सहकारीकी अध्यक्ष प्रसाईले बताइन् ।

सहकारीले अहिले एक सय मन तोरी पेलेर तेल उत्पादन गर्न लागेको सहकारीकी सचिव रुपाकुमारी राईले बताइन् । जसका लागि ८० मन तोरी धोइपखाली गरिएको छ– उनले भनिन्– ‘सहकारीका सदस्यले नै घरमा लगेर तोरी पखाल्ने सुकाउने काम गर्नु हुन्छ ।’

शुरुमा महिला जागृति विकास कार्यक्रममार्फत महिला कृषि समूह सञ्चालन गरिएको र पछि त्यसैलाई सहकारीको रुप दिएको सचिव राईले बताइन् । महिला उद्यमशीलतामा जोड दिँँदै सहकारीले मिल स्थापना गरेपछि बाह्रदशीका महिलाले आर्थिक अवस्थामा फड्को मारेको राईको भनाइ छ ।

सहाराले शुरुमा हामीलाई १ लाख ४० हजार रुपैयाँ प्रदान गरेको थियो । त्यसबाट स्पेलर चाइनिज, इण्डियन होलर पिठो पिसानी मेसिन र मसला पिस्ने मेसिन खरिद गरिएको थियो, जसले हामीलाई आत्मनिर्भर बनाएको छ– सचिव राईले भनिन्– अहिले यस क्षेत्रका महिलालाई आय–आर्जन गर्न सिकाएको छ । किसानले तोरी, मसलामा वेसार उत्पादन गर्ने र सहकारीलाई नै बिक्री गर्ने हुँदा सहकारीसँगै घरको गर्जाे टार्न समेत सहज भएको छ– उनले भनिन् ।

बाह्रदशी गाउँपालिकामा १२ वटा सहकारी सञ्चालनमा रहेका छन् । तिनले आय–आर्जन र महिलालाई स्वावलम्वी बनाउन सहयोग गरेका छन् । बाह्रदशी गाउँपालिकाका अधिकृत चेतनाथ न्यौपानेले जुनतारा महिला कृषि सहकारी संस्थाले स्वागतयोग्य काम गरिरहेको बताए । सहकारी जुन उद्देश्यका लागि खुलेका हुन् त्यही उद्देश्य भित्र रहेर काम गर्नुपर्छ– उनले भने – जुनताराले जुन काम गरिरहेको छ, त्यो सबैका लागि उदाहरणीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here