विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालन समिति गठन

७ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

विर्तामोड ।

झापाको विर्तामोडस्थित कृषि उपज वजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइलाई व्यवस्थित गर्न बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सञ्चालन समिति गठन गरिएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम सञ्चालन निर्देशिका २०७५ बमोजिम विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालन समिति गठन गरिएको हो । प्रयोगशालाबाट सञ्चालित सेवाको अनुगमन र मूल्याङ्कन गर्ने तथा सरोकारवालाविच समन्वय गर्ने ,परीक्षण सेवा परिस्कृत गर्न तथा जनशक्ति व्यवस्थापन गर्न निर्देशक समितिमा सुझाव पेश गर्ने उद्धेश्यले उक्त समिति गठन गरिएको बताइएको छ ।

नवगठित समितिको सदस्यहरुमा कृषि ज्ञान केन्द्र झापाकी वाली संरक्षण अधिकृत एजिना खड्का, बिर्तामोड नगरपालिका कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरिया, कृषक समुह महासंघका उदयनारायण ढुङ्गाना, विषादी व्यवसायी संघ झापाका केदार बराल रहेका छन् ।

त्यसैगरी समितिको अन्य सदस्यहरुमामा वाली संरक्षण प्रयोगशाला, कृषि उपज बजार सञ्चालक समिति अध्यक्ष, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वा डिभिजन कार्यालयका प्रतिनिधि रहने बताइएको छ । समितिको सदस्य सचिवका रुपमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका प्रमुख सुरेशकुमार शाह रहेका छन् ।

उममेयर प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका वरिष्ठ बाली विशेषज्ञ हर्षहाङ्ग राई , पूर्व वरिष्ठ वाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेल, बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायतले नवगठित समितिलाई शुभकामना दिएका थिए ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका प्रमुख सुरेशकुमार शाहले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा पर्याप्त स्रोतसाधन र जनशक्ति अभावमा दैनिक कार्य सम्पादनमा समस्या भएको र सिमित स्रोत साधन र जनशक्तिका बाबजुद पनि उपलब्धिमुलक कार्य गरेको वताए ।

उनले प्रयोगशालामा मेची भन्सार, भद्रपुर भन्सार, विराटनगर भन्सार तथा सुनसरीको भण्टावारी भन्सार नाकाबाट विषादी परिक्षणकालागि फलफूल र तरकारी लगायत खाद्यवस्तुको नमुना संकलन हुने गरेको जानकारी दिए ।

उनले फलफूल र तरकारी लगायत खाद्यवस्तुको कार्वामेट र अग्र्यानोफस्फेट नामक विषादी परिक्षण गरिने बताए । कार्यक्रमको सञ्चालन विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइका प्राविधिक सहायक विनयकुमार शाहले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here