बिर्तामोड।

धिमाल महिलाको मौलिक पोशाक पेटानीको संरक्षणमा जुटेका बिर्तामोडका धिमाल महिलाहरु तीन महिना लगाएर सीप सिकेका छन् । बिर्तामोड–१ मा रहेको नारी संकल्प नाम संस्थाको आयोजना तथा बिर्तामोड–१ को आर्थिक सहयोगमा गत पुस १ गतेबाट शुरु भएको पेटानी बुन्ने तालिमको शुक्रबार समापन गरिएको छ ।
तालिममा १६ जना धिमाल महिलाहरुको सहभागिता रहेको थियो । धिमाल भाषामा ‘दाबोना’ भनिने पेटानी बुन्ने मान्छे पाइन छोडेसँगै यो पोशाक लगाउने क्रम पनि घट्दै गएको बेला नारी संकल्पले धिमाल महिलाहरुलाई संस्कृतिको संरक्षणसँगै आर्थिक उपार्जनका लागि तालिमको आयोजना गरेको अध्यक्ष तुलसा मैनालीले जानकारी दिइन् ।
धिमाल जाति तथा पिछडिएको वर्ग आय तथा सिपमूलक तालिम केन्द्रको स्थापना गरेर नारी संकल्पले पेटानी बुन्ने तालिमको आयोजना गरेको हो । विवाह व्रतबन्ध जस्ता कार्यहरुमा यो पोशाक अनिवार्य मानिन्छ । तर, अन्य आधुनिक पोशाकहरुको चापले पछिल्लो समय धिमाल जातिहरुको परम्परागत पोशाक पेटानी ओझेलमा परेको छ ।
त्यसलाई प्रवद्र्धन गर्दै व्यवसायिक बनाउने उद्देश्यले वडा कार्यालयको सहयोग तथा नारी संकल्पको आयोजनामा पेटानी बुन्ने तालिमको आयोजना गरिएको हो । एउटा पेटानीलाई दुई हजारदेखि २५ सय रुपैयाँसम्ममा बिक्री हुने बताइएको छ । सहभागीहरुलाई प्रशिक्षक शान्ति धिमाल र सीता धिमालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले तालिममा सिकेको सीपलाई ब्यवहारमा उर्तान आग्रह गरेका थिए । उनले सीपलाई निरन्तरता दिँदै आयमूलक कार्यमा लाग्न आग्रह गरे । कार्यक्रममा वडा सचिव टीका अधिकारी, धिमाल समाजका अध्यक्ष सुनिल धिमाल, अतिथी सदन टोल विकास संस्थाका अध्यक्ष श्याम खड्गी, भिआइपी टोलका राजेन्द्र खरेल लगायतले आफूले सिकेको सीपलाई व्यवहारमा उर्तान आग्रह गरेका छन् ।
कार्यक्रममा तीन महिनाको अवधिमा निरन्तर सीप सिक्न आउने अमिषा धिमाल र ललिता धिमाललाई उत्कृष्ट प्रशिक्षार्थीको रुपमा सम्मान गरिएको थियो भने अन्य सहभागीलाई पनि मायाको चिनो सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
नारी संकल्पका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि चण्डिका गौतमले प्रकाश पारेकी थिइन् । खेमा पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हिमा प्रसाईले गरेकी थिइन् ।
पहिलो चरणको कार्यक्रम सकिएसँगै उत्पादन भएका पेटानी बिक्रीबाट आएको रकमबाट पुनः धागो किनेर पेटानीका साथै ढाकाको सामग्री उत्पादन शुरु गर्ने बताइएको छ ।































