कैदीको पैसा पनि क्वारेन्टाइनमा

८ चैत्र २०७६, शनिबार मा प्रकाशित

भद्रपुर।

 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न झापा कारागार भद्रपुरमा उच्च सतर्कता अपनाइएको छ । झापा कारागार प्रशासनले कारागारभित्र रहेका कैदबन्दीलाई चाहिने कुनै पनि वस्तु बिना क्वारेन्टाइन प्रवेश गर्न दिएको छैन । यतिसम्म कि कैदीका आफन्तले ल्याएको नगद पैसा समेत बाहिर बनाइएको क्वारेन्टाइनमा पाँच दिनसम्म राख्नुपर्ने हुन्छ ।

क्वारेन्टाइनमा पाँच दिनसम्म राखे पश्चात् मात्र कैदीले आफ्नो पैसा पाउने व्यवस्था गरिएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए । ‘आफन्त र बाहिरबाट आएको कुनै पनि खानेकुरा, आवश्यक सामग्री कारागारभित्र लान दिएका छैनौं’– उनले भने । कारागारमा पुर्पक्षका लागि आउने नयाँ कैदीबन्दीलाई छुट्टै स्वास्थ्य परीक्षण गरेर मात्र भित्र प्रवेश गर्न दिएको बताउँदै उनले भने– ‘उच्च ज्वरो र रुघाखोकी लागेका कैदीलाई उपचारका लागि अस्पताल पठाइरहेका छौं ।’

यता कैदीबन्दीले आफैंले व्यक्तिगत रूपमा खरिद गरी पढ्दै आएको साप्ताहिक पत्रिका समेत लिन छाडेका छन् । कैदीबन्दीलाई भेट्न जाने आफन्त र वकिललाई कारागारको गेटमै साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गर्न दिइरहेको कारागारका प्रहरी प्रमुख उदय शम्शेर रानाले जानकारी दिए ।

कारागारमा हाल ७५ जना महिला, पाँच जना आश्रित र एक हजार ७३ जना पुरुष गरी एक हजार एक सय ५३ जना कैदी रहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here