हामी त जहिल्यै क्वारेन्टाइनमा

0
666

भूवन तामाङ,

आजभोलि क्वारेन्टाइन शब्द ट्रेन्डिङ्मा छ । सामान्य मानिसले पनि क्वारेन्टाइन शब्द दिनमा पटकौंपटक उच्चारण गर्छन् होला । उच्च सरोकारवालाहरुले त कम्तिमा पनि सयचोटी उच्चारण गर्छन् होला । संसारभरिका मान्छेले एकैचोटी क्वारेन्टाइन शब्द उच्चारण गर्ने हो भने पृथ्वी आप्mनो कक्षबाट बाहिर हुत्तिन्छ होला । चीनबाट शुरु भई हाल विश्वभर संक्रमण गरिरहेको भनिएको कोरोना भाइरसका कारण क्वारेन्टाइन शब्द जताततै ट्रेन्डिङ्मा परेको हो ।

अक्स्फोर्ड एडभान्स्ड लर्नर्स डिक्स्नरीका अनुसार क्वारेन्टाइन शब्दको अर्थ– ‘एक त्यस्तो समयसम्म जब पशु या व्यक्ति जसमा रोग छ या रोग भएको आशंका छ उसलाई रोग निदान नभएसम्म अरुमा नसरोस् भन्ने उद्देश्यले अलग्गै राखिन्छ ।’ उदाहरण– चीनको बुहान शहरमा अध्ययनरत् नेपाली विद्यार्थीहरुलाई नेपाल ल्याइएपछि, यदि उनीहरुसँग कोरोना भाइरस संक्रमण छ भने अरुमा नसरोस् भन्ने उद्देश्यले चौधदिनसम्म अरुबाट अलग क्वारेन्टाइनमा राखिएको थियो ।
यस निबन्धको शीर्षकमै भनियो ‘हामी त जहिल्यै क्वारेन्टाइनमा’ । हो, हामी त जहिल्यै क्वारेन्टाइनमा । अनि हामी भनेका को हुन् भन्ने खुल्दुली लाग्ला । पक्कै पनि हामी गरीब दुःखी बाहेक को हुनु र ? गरीब निमुखा जहिल्यै क्वारेन्टाइनमा हुन्छौँ । हामीहरु जहिल्यै अरुबाट अलग आइसोलेसनमा राखिएका हुन्छौँ । खासमा हामी गरीबहरुलाई जानेरै पनि अरुबाट अलग राखिएको छ । कोरोना भाइरसबाट संक्रमित भएको आशंका लागेकाहरुका लागि बनाइएको जस्तो सुविधासम्पन्न क्वारेन्टाइन चाहिँ हाम्रो छैन । तर, निकै भरपर्दो क्वारेन्टाइनमा हामी बस्दछौँ । त्यसो भए हामी पनि त्यस्तो भरपर्दो क्वारेन्टाइनमा बस्न आउँछौँ नि भन्नु होला । तर, हामी बस्ने क्वारेन्टाइन धनी, सुकिलामुकिला, हाइप्रोफाइलहरुका लागि भने होइनन् । हामी रहनेबस्ने ओत लाग्ने हाम्रो झुपडी नै असाध्ये भरपर्दो क्वारेन्टाइन हो । चाहे झुपडीहरु जस्तो सुकै हालतको होस् । चाहे जहिल्यै खुल्लै या बन्द किन नहोस् । तारामण्डल देखियोस् या हावा नछिर्ने र टुकीको जति पनि उज्यालो नछिर्र्ने नै किन नहोस् । पानी चुहियोस् कि चर्को घाम या जुनको प्रकाश चुहियोस् । हाम्रो घर सर्वोत्तम क्वारेन्टाइन हो । किनभने गरीबको घरमा कोही आउँदैनन् । कोही नजिक नभएपछि हामीमा जेसुकै रोग होस् अरुलाई सर्नै सक्दैन । तर, असलमा गरीबसँग कुनै जटिल रोग नै हुँदैनन् । कोरोना भाइरस त हुने कुरै भएन । कसरी ? यसका भरपर्दा आधारहरु छन् ।

कोरोना भाइरस त सम्पन्न देशका सुविधासम्पन्न महानगरहरुमा पैmलिइरहेको छ । जहाँ धन र कम्प्यूटाइज्ड स्वचालित साधनले सम्पन्न छन् त्यहीँ कोरोना भाइरस रमाई–रमाईकन संक्रमण भइरहेको छ । जहाँ वैभव र अत्याधुनिक प्रविधिले सुसज्जित महानगर छन् त्यहीँ कोरोना भाइरस देखिँदैछन् । कोरोना भाइरस पनि धनी भाइरस हुनुपर्छ । तिनीहरु धनी देशका धनी मानिसहरुलाई नै संक्रमण गरिरहेका छन् । धनी देशका सम्पन्न मेट्रोपोलिटन सिटीका सम्पन्न मानिसहरुलाई कोरोना संक्रमण भइरहेको छ । सम्पन्न ठाउँका सम्पन्न मानिसहरु नै क्वारेन्टाइनमा बसेका छन् । कोरोना भाइरस संक्रमण हुनु भनेको त धनी हुनुको प्रमाणपत्र जस्तै हुँदो छ । ज्यान जानु चाहिँ दुःखदै भए पनि कोरोना भाइरसले सम्पन्नहरुलाई पछ्याइरहेको छर्लङ्गै छ । सम्पन्नहरुलाई सुविधासम्पन्न क्वारेन्टाइनमा चौध दिन अरुबाट अलग्गै बस्न बाध्य पारेको छ ।

तर, हामी गरीबहरु त जहिल्यै क्वारेन्टाइनमा राखिएका छौँ । हामीलाई सरकारले बनाएको क्वारेन्टाइन चाहिँदैन किनकि सरकारले युगौँदेखि नै गरीबहरुलाई आपैm क्वारेन्टाइनमा अलग–थलग भएर बस्न बाध्य पारेका छन् । न हामीसँग जग्गाजमिन, ठूला व्यापार व्यावसाय, उद्योग, इलम छन् न त हामीसँग राम्रा सुकिला–मुकिला घर छन् न त प्रशस्त पैसा नै ।

हामी न सुन्दर बुटिक हवाइअड्डा गएर आकर्षक हवाईजहाज चड्न हैसियत राख्छौँ, न त बान्की परेका मेट्रो ट्रेनहरु न त बहुतल्ले सुविधा सम्पन्न सुन्दर क्रुज पानीजहाज चड्न जान्छौँ । न हामी सपिङ्ग मल जाने हैसियत राख्छौँ न त मल्टिप्लेक्स् या क्यूएफएक्स् सिनेमा हल । न हामी फन पार्क जान्छौ न त पार्टी प्यालेसतिर । न हामी स्तरीय होटल रेष्टुरेण्ट जान सक्छौँ न त रिसोर्टतिर । अनि हामीमा जेसुकै रोग भए पनि कसैलाई सर्ने सम्भावना नै रहँदैन किनकि हामी जहिल्यै क्वारेन्टाइनमा बस्छौँ । हामी यस्तो क्वारेन्टाइनमा बस्छौँ कि जसलाई अग्र्यानिक प्राकृतिक क्वारेन्टाइन भन्न सकिन्छ ।

हामी गरीब न आइफोन चलाउने हैसियतका छौँ, न त चिटिक्क परेका ट्याब, ल्यापटप, पाल्मटप या नोटबुक चलाउने हैसियतका छौँ । न हामी हात्तीको नक्सा गरेको नोट समाउने औकातका छौँ, न त युरो र डलर समाउने औकातका छौँ । यस्ता ग्याजेट्स् र मुद्राबाट पनि हामीमा कोरोना सर्ने सम्भावना शून्य छ । अनि हामीलाई कोरोना भाइरस लाग्छ चाहिँ कसरी ? र हामीबाट अरुलाई कोरोना भाइरस संक्रमण हुन चाहिँ कसरी ? हामी गरीब बनिबुतो गर्छौँ, दिनभरी काम गरेर सामल तामल थापेर घर पुगेर पकाएर खान्छौँ ।

पकाएर खाएपछि किटाणु मरिहाल्छन् । न हामी धनी मुलुकका मानिसले जस्तो आधी पाकेको चमेरो खान्छौँ न त आधा पाकेको माछा या सिफुड या त्यस्तै अरु धेरै । न हामी चम्चाले भात खान्छौँ न त काँटा या चपस्टिकले । साबुन नहोला तर हामी जहिल्यै मजाले खरानी या माटो पानीले माडीमाडी हात धोएर भात तिहुन गमगमी खान्छौँ । टिस्यू पेपरले पुछ्पाछ् पारेर हात–मुख जुठै छाड्ने हाम्रो संस्कृति नै होइन ।

हामी गरीब न ट्याइलेट पेपर प्रयोग गर्छौँ न त विद्युतीय ड्रायरले हात सुकाउँछौं । पानीको छिर्का हान्ने सुविधा भएको ट्वाइलेट नभए पनि हामी गरीब माने बोतलमा भए पनि पानी लगेर शौचालय बसेपश्चात मलद्वार धुन्छौँ । त्यसपछि साबुन पानीले माडीमाडी हात धुन्छौँ । पानीले धोएपछि जे कुरा पनि बगेर जाने भइ हाल्यो । अनि हामीबाट कोरोना भाइरस अरुलाई सर्छ चाहिँ कसरी ? जब कि हामी त जहिल्यै सेल्फमात्र होइन नेचुरल क्वारेन्टाइनमा हुन्छौँ ।

होइन, नेपाल सरकारले अहिलेसम्म गरीबहरुका लागि कोरोना भाइरस संक्रमणबाट बचाउने कुन परियोजना अघि सारेका छन् ? लु देखाउन् त ! सरकारहरुलाई राम्ररी थाहा छ कि गरीबहरुलाई युगौँदेखि क्वारेन्टाइनमा राखिएको छ । थात्थलो, जमिन, शिक्षा, स्वास्थ्य, खाद्य, बास, कपास, रोजगारी, अवसर र अधिकार आदिबाट अलगथलग पारेर सरकारहरुले गरीबहरुलाई जहिल्यै क्वारेन्टाइनमा राखेका छन् । हुँदा–हुँदा त अहिले आएर संघीय, प्रदेश र स्थानीय सरकारले समेत हामी गरीबहरुलाई क्वारेन्टाइनमा राखेका छन् । वडा, पालिकासम्मले हामी गरीबहरुलाई जहिल्यै क्वारेन्टाइनमा राखेका छन् । होइन भने कुनै एउटा मात्र भरपर्दो कार्यक्रम देखाउन् त लु !

नढाँटी भन्ने हो भने हामी गरीबलाई चौध दिन होइन चौध शताब्दीभन्दा अघिदेखि नै क्वारेन्टाइनमा राखिएको छ । अनि कोही किन हामी गरीबहरुसँग हुँदै नभएको कोरोना भाइरस सर्छ भनेर डराउनु ? हामी त उसै पनि क्वारेन्टाइन मै छौँ नि । हो, ‘हामी त जहिल्यै क्वारेन्टाइनमा ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here