पूर्णबहादुर कटुवाल,
समयको हरेक कालखण्डमा मानिसले अनेकौं विपत्तिको सामना गर्दै आएको छ । विभिन्न ऐतिहासिक तथ्यले पनि पुष्टि गरेको छ कि मानिसले मानवीय त्रुटिले निम्तिएका विपद्ले ठूलो धनजन र भौतिक सम्पत्ति नष्ट गरेको छ । यसका अलावा हामीले सुन्दै र बुझ्दै आएका कतिपय दन्त्यकथा जस्ता लाग्ने किम्वदन्ति हुन् वा पौराणिक तथ्यका घटना नै किन नहुन्, नरसंहारयुक्त विपत्ति मानिसले भोगेका छन् । मानिसले सिर्जना गरेका अनेकौं जोखिम र विपद्लाई आफैले टार्ने गरे पनि प्राकृतिक विपद्लाई मानिसले टार्न सक्दैन । त्यही विपद्को सिकार हुनुको विकल्प छैन । तर, यति भनेर विपतसँग सधैं परास्त हुनु नै भन्ने होइन । मानिस सर्वश्रेष्ठ र सचेत प्राणी भएका नाताले विपत्ति र जोखिमसँगै मुकाबिला गर्न र त्यसलाई पूर्व सावधानीका कारणले परास्त गर्न भने मानिस नै सक्षम छ । यसका आधारमा के भन्न सकिन्छ भने मानवीय चेतना र बौद्धिकताका कारणले जोखिम न्यूनीकरणका लागि मानिसले प्रशस्त पूर्व सावधानीका उपाय अपनाएर ठूलो जनधनको क्षति हुनबाट बच्न र बचाउन सकिन्छ ।
अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस डिजिज (कोभिड–१९)ले ठूलो मानवीय क्षति पुर्याइरहेको छ । विश्वव्यापी मानव जीवनलाई आतंकित बनाएको छ । अनियन्त्रित रुपमा विश्वभरि फैलिएको महामारीले २१औं शताब्दिको विज्ञान र प्रविधिको युगलाई समेत चुनौति दिएको छ । विकसित राष्ट्रले समेत नियन्त्रण गर्न नसकेको यो महामारी अझ अल्पविकसित देशमा फैलियो भने अझ ठूलो मानवीय संकट आउने निश्चित छ । यो महामारीले गरीब, धनी, सानो–ठूलो, विकसित–अल्पविकसित कुनै पनि राष्ट्रलाई छोड्ने संकेत देखिँदैन । विश्वव्यापी संकट उत्पन्न भएको यस असहज परिस्थितिलाई होसियारी, सावधानी र संयममताले नै परास्त गर्न सकिन्छ भन्ने विषयमा विश्व समुदाय निष्कर्षमा पुग्दै एकजुट भएको छ ।
यता नेपालको कुरा गर्ने हो भने अहिलेको मितिसम्म कोभिड–१९ को संक्रमणले कुनै नकारात्मक असर नपारेकोले नेपाली समाज गौरवान्वित छ । यही गौरवको क्षणलाई उपयोग गर्दै संयमताको साथ हामी अघि बढ्यौं भने यस महामारीका विरुद्धमा रहेर ठूलो जनधनको क्षतिबाट बच्न र बचाउन सफल हुनेछौं । त्यसैले अहिलेसम्म हाम्रो अवस्थालाई हेर्दा हरेक क्षेत्रमा संयमताको आवश्यकता देखिन्छ, जसले भावी दिनमा निम्तिन सक्ने संकटलाई न्यूनीकरण गर्न सकियोस् ।
अहिलेको विश्वव्यापी जटिल समस्यालाई मध्यनजर गर्दै मुलुकले पूर्व सतर्कता अपनाउन शुरु गरेको छ । नेपाल सरकारले शुरु गरेको तयारी र संयमताका यी उपायहरुलाई आम नेपाली नागरिकले समेत आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउन सकियो भने भावी अनिष्टबाट बच्न र बचाउन मद्दत पुग्दछ । महामारीका विरुद्धमा राष्ट्रिय स्वार्थ र ऐक्यबद्धताको जरुरत पर्दछ । यो राष्ट्रिय स्वार्थ भनेको यतिबेला मुलुकभित्रको सरकार मात्र नभएर सबै राजनीतिक दल, संघ–संगठन, जातजाति, सम्प्रदाय, वर्ग, लिंग, हिमाल, पहाड, तराई एकताबद्ध भएर एक ठाउँमा उभिनु हो । महामारीका विरुद्धमा एकसाथ अघि बढ्नु नै आपतकालीन राष्ट्रिय स्वार्थ हुनेछ ।
हतार गरेर वा दौडेर, होडबाजी गरेर, व्यक्तिगत स्वार्थ पूर्ति गर्ने मौका छोपेर मात्र महामारीका विरुद्धमा जुट्न सकिँदैन । यस संकटको घडीमा परिवारले आ–आफ्नो सदस्यप्रति उत्तरदायी र जवाफदेही वन्न सक्नुपर्छ । पारिवारिक स्वास्थ्यलाई मध्यनजर गर्दै सामान्यतयाः आफ्ना दैनिकीलाई सहजीकरण गर्न सक्नुपर्छ । दैनिक व्यवहारमा खानपान, आहारविहार, नैतिकता, सदाचारी, व्यायाम, उच्चमनोवल, प्राकृतिक तादात्म्यता जस्ता कुरासँग प्रत्यक्ष सरोकार राख्न सकियो भने एउटा पारिवारिक संयम दायित्व निर्वाह गरेको ठहर्छ । पारिवारिक मनोवल र दैनिकी सहज भए सिङ्गो गाउँ, समाज छरछिमेकमा समेत यस्तो संयमताको सकारात्मक प्रभाव पर्न सक्छ, जसले महामारीको विरुद्धमा राष्ट्रले लिएको नीतिलाई सफल बनाउन मद्दत पुग्दछ । त्यस्तै ग्रामीण नेतृत्वको यस अवस्थामा ठूलो महत्व रहेको छ । हिजोसम्म कुनै क्षेत्रमा सामाजिक विकासको लागि नेतृत्व गरिरहेको व्यक्ति वा संस्थाले यतिवेला आफ्नो क्षेत्रमा संयमता र दृढ मनोबल लिएर नआत्तिन र दैनिकीलाई सामान्यीकरण गर्न मद्दत गर्नुपर्छ ।
समाजमा राजनीतिक दल, जनप्रतिनिधि, संघ–संस्था तथा विभिन्न निकायहरु छन्, उनीहरुले अहिलेको सामाजिक परिस्थितिलाई नियन्त्रण, नियमन र सहजीकरण गर्नुपर्छ । समाजमा हुने अनाधिकारीक अफवाहको नियन्त्रण, भय र त्रासबाट समाजलाई मुक्त, चोकबजारमा अनावश्यक भीडभाड, होहल्ला, बेचैनी जस्ता वातावरणलाई अन्त गर्न समेत ग्रामीण नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्छ । शहरबजार र गाउँघरमा फैलने नकारात्मक हल्लाको नियन्त्रण गर्दै दैनिक उपभोग्य सामग्रीको अनावश्यक जोहो, आर्थिक अनियमितता र अपचलन, मूल्यवृद्धि, कृत्रिम अभाव जस्ता कुराको नियन्त्रण गरी सामाजिक जनजीवनलाई सामान्य बनाइराख्ने कुरामा हाम्रो स्थानीय नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । अहिले समाजमा नकारात्मक आधारहीन अफ्वाह बढी फैलाइने प्रवृत्ति छ । यसको नियन्त्रण र नियमनमा लाग्नु हरेक सचेत नागरिकको कर्तव्य हो ।
अहिले मुलुकलाई दुईसाताको निगरानीमा राखिएको छ । यो कुनै गम्भीर संकट निम्तिएर होइन । आपतकालीन अवस्था नै आइसकेर पनि होइन । सम्भावित संकटलाई मध्यनजर गर्दै पूर्व संयमता अपानाइएको मात्र हो । यसलाई अनावश्यक टीका–टीप्पणी गर्नुभन्दा पनि राज्यलाई सहयोग गर्नु आम नागरिकको परम कर्तव्य हो । अझ अहिले हामी बढी नै लोकतान्त्रिक हुने खोजेका छौं । अनावश्यक चासो, हल्लाको बाहक बनेर समाजलाई त्रसित, दिग्भ्रमित बनाउने काममा तँछाडमछाड गर्दैछौं । यो प्रवृत्तिलाई चाहिँ राज्यले तुरुन्तै बन्द गराउनुपर्छ । समाजलाई त्रसित पार्ने काममा खासगरी लोकतान्त्रिक समाजको उपलब्धि भनिने हाम्रा सञ्चारमाध्यम नै बनेका छन् । झण्डै व्यक्ति नै पिच्छे सञ्चालन हुने थालेका युट्युव च्यानल, अनलाइन माध्यम, एफएम रेडियो, लगायत छापाका सञ्चारमाध्यमबाट प्रशारण प्रकाशन गरिने समाचारले समाजलाई भ्रमित बनाउने गरेका छन् । लोकतन्त्रको उपलब्धि नै मानेका यि साधनको प्रयोग यथोचित रुपमा हुन सकेको छैन ।
एउटा सामान्य घटनालाई समेत अतिरञ्जित गरी प्रकाशन प्रशारण गरिने गरेकोले कतिपय अवस्थामा समाजमा नकारात्मक सन्दशे जाने र यसले आतंकित अवस्था सिर्जना गर्ने गर्दछ । भयमुक्त समाज बन्न सकिरहेको छैन । झन् अहिलेको विषम् परिस्थितिका घटनालाई छिटो–छिटो सार्वजनिक गर्ने होडबाजीले समाजलाई बढी नै आतंकित बनाएको छ । यसलाई राज्यले तुरन्त नियमन गर्नुपर्छ ।
सामाजिक सञ्जाल लगायतका विद्युतीय र छापा सञ्चारमाध्यमले समाजलाई कुन दिशामा लैजादैछ भन्ने कुराले महत्वपूर्ण भूमिका खेल्छ । आमसञ्चार माध्यमले राज्यको नीतिनियम बमोजिम भूमिका निर्वाह गर्न सकेमात्र अहिलेको विशेष अवस्थाको विरुद्धमा लड्न सहज हुन्छ । तर, त्यस्तो भइरहेको छैन । सामाजिक सञ्जाल र विभिन्न अनलाइन मिडियाहरुले अतिरञ्जित सामग्रीको प्रकाशन प्रशारण गरेर दिग्भ्रमित बनाइरहेका छन् । यो छुट कसैलाई पनि हुनुहुँदैन । जसले समाजलाई आतंकित बनाउने र समाजमा अफवाह फैलाउने गर्छ, उसैलाई जिम्मेवार बनाउनुपर्छ । आपतकालीन अवस्थाममा समाजमाम हरेक इकाईले संयमता अपनाएर नागरिकलाई सुसूचित गराउनेदेखि आ–आफ्नो ठाउँबाट गहन भूमिका जिम्मेवारी साथ निर्वाह गर्न सकियो भने मात्र महामारीविरुद्धमा लड्न सकिन्छ । अहिलेको अवस्था भनेको आतिने होइन, धैर्यता र संयमताका साथ आफ्ना दैनिकीलाई प्रकृतिसँग जोडेर समान्यीकरण गर्न सक्यौं भने विश्वव्यापी महामारीसँग सहजै डट्न सक्छौं । आत्तिएर होइन, सम्यम भएर न्यूनतम् र समसामयिक आचारण र व्यवहारहरुलाई अवलम्वन गर्दै अघि बढ्यौं र नागरिकका कर्तव्य पूरा गर्दै गयौं भने विपत्तिबाट सहजै उन्मुक्ति पाउन सक्छौं । तसर्थ, संयमता र धैर्यतालाई अवलम्वन गर्नु नै यस विषम्घडीसँग मुकाबिला गर्ने सजिलो उपाय हो ।


























