विश्वका कतिपय मुलुकले सङ्कटकाल घोषणा गरी कोरोना नामको महाविपत्तिबाट जोगिने विभिन्न उपायहरु गरिरहेका छन् । बजार, यातायात, आवागमन आदिमा नियन्त्रण गरी विश्वमा सन्त्रास फैलाइरहेको विपदाबाट सुरक्षा खोजिरहेका बेला हामीकहाँ भने जनमानसमा भ्रम र अझै सन्त्रास फैलाएर मनोरञ्जन गर्ने केही पात्रहरु सल्बलाउन थालेका छन् । आमसञ्चारको आवश्यकता र महत्वलाई गलत दिशामा प्रयोग गर्ने त्यस्ता पात्रहरुलाई आधार, तथ्य प्रस्तुत गर्ने मौका दिएर कानूनको दायरामा ल्याउन ढिला गर्नुहुँदैन । कुनै अस्पतालका कर्मचारीको हवाला दिएर आम नागरिकलाई भयमित र आतंकित बनाउने कार्यमा संलग्न जो कोही तत्काल दण्डित हुनुपर्छ । त्यस्ता कुपात्रहरुलाई पक्राउ गरेर मात्र पुग्दैन कार्वाही नै गरेको देखिनु पर्दछ । अन्यथा तिनका कर्मले बलेको आगोमा आतंकको घीउ थप्ने निश्चित छ ।

पक्रेर दण्डित गर्न नसकिने भाइरस आतंकले विश्व अर्थ व्यवस्था नै तहसनहस भएको छ । ठूला, सम्पन्न, समृद्ध र विकसित भनिने देशहरु पनि भाइरस जनित पीडाबाट उन्मुक्तिको बाटो खोजिरहेका छन् । मानिसबाट मानिसमा सर्ने भएकाले भीडभाड हुने ठाउँहरु बन्द गरिएका छन् । जसको परिणाम उपभोग्य वस्तुहरुको अभाव देखिन थालेको छ । कतिपय अवस्थामा उपभोक्ता कै कारण बजारमा कृत्रिम अभाव सृजना हुने गरेको विगतका उदाहरणहरु छन् भने कतै अभाव सृजना गरेर मूल्यवृद्धि गरिएका घटनाहरु पनि प्रकट भएका छन् । सङ्कटका समय धेरै वस्तु सञ्चय गर्नु र कृत्रिम अभाव सृजना गर्नु दुबै अनुचित कार्य हो । यी दुबै अवस्थालाई निरुत्साहित र दण्डित गर्ने अवस्था राज्यका संयन्त्रहरुले निर्माण गर्नुपर्दछ ।
यो बेला राज्यको प्रभावकारी उपस्थिति चाहेका छन् नेपालीले । नागरिकको जिउ–धनको रक्षक राज्य अर्थात् राज्यको प्रतिनिधित्व र नेतृत्व गर्ने सरकार हुने भएकाले सबैको आशा–भरोसा सरकारमाथि हुन्छ । त्यसैले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन बौद्धिक वर्ग र अधिकारकर्मीहरुले खबरदारी गरिरहनु पर्दछ । त्यही र त्यस्तै भूमिका चौथो अङ्ग भनिएको सञ्चार जगतले पनि निर्वाह गर्नुपर्दछ । रोग लागी नसकेको अवस्थामा आम जनतालाई प्रतिरक्षाका लागि सुसूचित गराउनेदेखि उनीहरुको दैन्दिनीलाई सहज र आश्वस्त तुल्याउन सरकारको प्रवाहकारी उपस्थितिको अनुभूति हुनुपर्दछ । यसप्रति कतै चुकेको खण्डमा ठूलै दुर्घटना हुन सक्छ । त्यसैले सीमानाकादेखि बजारहरुमा आवश्यक सेवा प्रवाह गरिनु पर्दछ ।
कोरोना लगायतका विषाणुहरु कतै मानवीय कारणले त सृजना भइरहेका छैनन्– चिन्तन गर्ने बेला आएको छ । भौतिक तथ्य यान्त्रिक उन्नति र आविष्कारहरु नै यस्ता विपदाहरुका स्रोत हुन सक्छन् । प्रकृतिविरुद्धका गतिविधिहरुले अझ भनौ दुष्कर्महरुले यस्ता महामारी ल्याउन सक्छ– यसतर्फ खासगरी विकसित भनिने मुलुकहरुले गम्भीर हुन जरुरी छ । ‘हुने हुनामी टर्दैन’ भनिन्छ । यो यसपटक कोरोना नाममा मानव जाति र सभ्यताको संहारक भएर दाह्रा–नङ्ग्रा देखाएर उन्मुक्त हाँस्दैछ । यसको दाह्रा–नङ्ग्रा भाँच्न प्रकृतिसँगै रमाउने र बाँच्ने उपक्रममा लाग्नु पर्दछ । अहिले उत्पन्न यो विषम परिस्थितिलाई सहज बनाउन सबैको हातेमालो जरुरी छ । सबैको जिम्मेवारीपूर्ण भूमिकाले, शिष्ट, सभ्य र मानवोचित व्यवहारले यो आतंकलाई परास्त गर्न सकिन्छ । अनुशासित बनौं, असल नागरिकको परिचय दिऔं र आतंकको अन्त्य गरौं ।






























