फाल्गुनन्दको कोरोना राहत कोषमा ‘साहरा नेपाल’द्वारा सहयोग

0
1067

युद्धबहादुर बोहोरा / पाँचथर,

फाल्गुनन्द गाउँपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा साहरा नेपाल राँके सेवा केन्द्रले २५ हजार रुपैयाँ सहयोग गरेको छ।

सेवा केन्द्रका प्रमुख पदमप्रसाद सापकोटाले गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ,उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बे र प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीलाई मंगलबार पालिकाको कार्यालयमा २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको अधिकृत तिखत्रीले जानकारी दिए।

विश्वमा फैलिएको महामारीको चपेटा झेल्दै आएका फाल्गुनन्द गाउँपालिकाका निम्न वर्गीय परिवारलाई एकद्वार प्रणालीबाट खाद्यान्न सामाग्री वितरणमा मद्दत पुर्‍याउने उदेश्यले सहयोग गरिएको सेवा केन्द्रका प्रमुख सापकोटाले जनाएका छन्।

इलामको देउमाइ नगरपालिका-१,राँकेमा २०७५ साल देखि साहरा सेवा केन्द्र शाखाको संचालन भएको हो।
यस शाखाले पाँचथर फाल्गुनन्द गाउँपालिका,इलाम फाकफोकथुम गाउँपालिका र देउमाइ नगरपालिकाका ५४ समूह केन्द्रका सात सय ३४ सदस्यसंग कारोबार गर्दै आएको उनले जानकारी दिए।

त्यस्तै ,फाकफोकथुम गाउँपालिकालाई पनि २५ हजार रुपैयाँ राहत कोषमा सहयोग गर्ने भएको छ। विपत्त समयमा यस संस्थाका विपन्न सदस्यलाई निर्ब्याजी सापटी स्वरुप पाँच हजार रुपैयाँ दिदैँ आवश्यक अनुसारको सहयोग गर्ने केन्द्रिय कार्यालयको योजना रहेको उनले बताए।

हाल सम्म फाल्गुनन्द गाउँपालिकाको राहत कोष २० लाख रुपैयाँ,प्रदेश सरकार मार्फत पाँच लाख र साहरा नेपालबाट प्राप्त २५ हजार गरि जम्मा २५ लाख २५ हजार कोषमा जम्मा भएको छ।
अन्य सहयोगको लागि पाँचथर उद्योग वाणिज्य संघबाट ५१ हजार र गुड नेबर्स इन्टरनेटबाट एक लाख ६९ हजार छ सय सहयोग गर्ने प्रतिबद्धता जनाएको उपाध्यक्ष आङ्देम्बेले जानकारी दिइन्।

यस पालिकामा रहेका विपन्न परिवारका चार सय ९० घर धुरीलाई वडा कार्यालय संग वितरण स्थानको लागि समन्वय गरि वैशाख ४ गते देखि राहत वितरण थालिने पालिका अध्यक्ष कुरुम्बाङ्गले जानकारी दिएका छन्। उनले भने,’हामी भेदभाव रहित वातावरणमा विपन्न परिवारलाई राहत उपलब्ध गराउन प्रयत्नरत छौं।’त्रुटि भइ कुनै परिवार छुट भए पुनर्बिचारमा हाम्रो ध्यान जाने उनले बताए।

यस पालिकाले विभिन्न मुलुकबाट आएका सात जनालाई राँके क्वारेन्टाइन १४ दिन राखी परिक्षण गरेर नेगेटिभ रिपोर्ट आए पछि सबैलाई घर फर्काएको छ। जिल्लाभर क्वारेन्टाइनमा बसेका करिब एक सय जनाको परिक्षण नेगेटिभ आए पछि जिल्ला बासीमा त्रास घटेता पनि लकडाउन अवधि भर पुर्ण सावाधनी रहन आग्रह गरिएको छ।

राँके हेल्पडेस्कमा छ जना स्वास्थ्यकर्मी भने निरन्तरको लागि व्यवस्था गरेको कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here