झापामा मल, वीऊ र इन्धनको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता

0
732

बिर्तामोड।

झापामा कृषकका लागि अतिआवश्यक रासायनिक मल, वीऊ तथा इन्धनको समस्या तत्काल समाधान गर्ने सम्बन्धित क्षेत्रका अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् ।

उक्त समस्या समाधानमा सहजीकरणका लागि उनीहरुले सबै सरोकारवालालाई आग्रह पनि गरेका छन् । प्रदेश नं. १का प्रदेश सभा सदस्य बसन्त बानियाँले कृषकका सबै समस्या समाधानका लागि तत्काल पहल थाल्ने बताए । कृषि क्षेत्रलाई अत्यावश्यक क्षेत्रको रुपमा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले प्रदेशका कृषि सम्बन्धी समस्या समाधानका लागि कृषिमन्त्रीसँग पहल गर्ने बताए । मल, वीऊ र इन्धनका नाममा हुने कालोबजारी नियन्त्रण र अनुगमनमा समेत उनले जोड दिए ।

संवाद समूह झापाले गरेको ‘भिडियो कन्फ्रेन्स’मा कृषकका अगुवाहरुले अहिलेको समस्या बारे अवगत गराएपछि सांसद बानियाँसहित जिम्मेवार अधिकारीहरुले प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले झापामा मलको अभाव हुन नदिन विराटनगर र विरगञ्जबाट मल ल्याउने प्रक्रिया शुरु भएको बताए । उनले तत्कालै उपलब्ध गराउनुपर्ने अवस्थामा सहकारीहरुलाई प्रशासनसँग समन्वय गरेर समस्या समाधान गर्न सक्ने र त्यसका लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै वीऊ विजनको समस्या समेत सहज आपूर्ति गरी समाधान गर्न तत्काल काम थाल्ने पोर्तेलले बताए । इन्धनको समस्या समाधानका लागि पालिकाहरुलाई प्रशासनसँग समन्वय गरी परिपत्र गर्ने बताउँदै पोर्तेलले भने– ‘हामी झापामा अब मल, वीऊ र इन्धनको अभाव हुन दिँदैनौं ।’

मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नवीन कोइरालाले झापासहित साविक मेची अञ्चलका चार जिल्लामा इन्धनको अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले समन्वयको अभाव रहेको गुनासो गर्दै आफूहरु तेलको सहज वितरणको पक्षमा रहेको बताए । इन्धनको सहज वितरणका लागि जिल्ला समन्वय, प्रशासन, पालिकाहरु र वडाबीच समन्वय हुन जरुरी रहेको र कृषकलाई वडाबाट कुपन दिई त्यसको आधारमा पम्पहरुले इन्धन दिन सक्ने कोइरालाको सुझाव थियो ।

अहिले व्यवसायीले विराटनगर डिपोबाट प्रतिलिटर एक रुपैयाँ घाटा खाएर भए पनि इन्धन ढुवानी गरिरहेको कोइरालाले बताए । यसअघि झापाकै चारआली डिपोबाट उनीहरुले इन्धन ढुवानी गर्दै आएका थिए । कोइरालाको सुझाव लगत्तै जिसस प्रमुख पोर्तेलले त्यसको सहजीकरणमा आफू अग्रसर हुने प्रतिबद्धता जनाए ।

नेपाल कृषक समूह महासंघका राजेन्द्र कडरिया, वीऊ व्यवसायी समिति झापाका सचिव बसन्त न्यौपानेले आम कृषकको प्रतिनिधिको रुपमा कृषकलाई मल, वीऊ र इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका थिए । अहिले सहकारीमार्फत मल वितरण हुँदै आए पनि सहकारीको पहुँच नभएका क्षेत्रमा स्थानीय आधिकारिक व्यवसायीमार्फत समेत विक्री वितरण गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here