जनप्रतिनिधिको सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा

0
1061

दिक्तेल,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम ‘कोरोना व्यवस्थापन कोष’मा जम्मा गर्ने भएका छन् ।

कोभिड–१९को रोकथाम तथा नियन्त्रण सम्बन्धी सोमबार बसेको नगरकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईसहित १५ वटै वडाका वडाध्यक्ष तथा सदस्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाइएको छ । नगरपालिकाभित्र कार्यरत शिक्षक तथा कर्मचारीको हकमा अधिकृतस्तरकाले पाँच र अन्यले तीन दिनको तलब स्वतःस्फूर्त रुपमा नगरपालिकाले स्थापना गरेको सो कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख रिजालले बताउनुभयो ।

नगरपालिकाले स्थापना गरेको सो कोषमा जनप्रतिनिधिको सुविधा तथा कर्मचारीको तलब गरी रु ४१ लाख ४० हजारबराबरको रकम जम्मा हुने भएको छ । कोषमा जम्मा हुने रकम कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकताका आधारमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।

बैठकले होम क्वारेन्टाइनलाई व्यवस्थित बनाउन वडाध्यक्षको संयोजकत्वमा निगरानी समूह गठन गर्ने, अत्यावश्यक कामबाहेकका कसैलाई पनि नगर प्रवेश गर्न नदिने, सबै वडामा सुरक्षा व्यवस्था कडा बनाउने, बाहिरबाट आउने जोकोहीलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

यस्तै आवश्यक स्वास्थ्य सामग्री सबै वडामा पु¥याउने, दीर्घ रोगीको तथ्याङ्क सङ्कलन गरेर आवश्यक औषधि व्यवस्थापन गर्ने, बजार वरपरका वडामा उत्पादन भएको तरकारीलाई नगरको संयोजनमा ल्याएर बिक्री वितरण गर्ने, कोरोना नियन्त्रणमा खटिने कर्मचारी र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने, कोरोना राहत कोषमा जिन्सी तथा नगद जम्मा गरेर राहत वितरण गर्न चाहनेलाई प्रस्ताव पेश गर्न आह्वान गरिनेलगायतका निर्णय भएको नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि आ–आफ्नो क्षेत्रमा कोरोना व्यवस्थापन कोष स्थापना गरेर रकम जम्मा गरिरहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा लकडाउनको मारमा परेका दैनिक ज्यालादारी कामदार तथा विपन्न परिवारलाई राहत वितरणको काम पनि भइरहेको छ ।

यसअघि जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीले राज्यबाट आफूले पाउने सेवा सुविधाबापतको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री र अन्य सात सदस्यले आफ्नो सेवा सुविधावापतको रु एक लाख पाँच हजार रकम १ नं प्रदेश सरकारको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका हुन् ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा सोमबार परीक्षण गरिएको २७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैतयता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखिएका हलेसी तुवाचुङ नगरपालिकाका २३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका चारजनाको ¥यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो ।

अहिलेसम्म जिल्लामा गरिएको ९२ जनाको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न हलेसी तुवाचुङ नगरपालिकाका पाँचजना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीनजनाको पिसिआर टेष्ट गर्न नमूना सङ्कलन गरेर कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको छ ।

प्रदेश सरकारले १२० वटा किट पठाएपछि विदेशबाट फर्किएका जिल्लाका १२० जना व्यक्तिको पहिलो चरणमा ¥यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको जनाइएको छ । चैतयता विदेशबाट फर्किनेको सङ्ख्या अधिक रहेकाले थप किट तत्काल पठाउन सङ्घ तथा प्रदेश सरकारसमक्ष माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here