नेकपा सचिवालय बैठक आज

0
762

काठमाडौं,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो दिउँसो भएको भेटपछि सचिवालय बैठक डाकिएको हो। अस्तिदेखि सचिवालय बैठक बस्ने भनिएपनि नेताहरु गुटगत छलफलमा व्यस्त भएपछि बैठक अनिश्चित बनेको थियो।

बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए। उनकाअनुसार बैठकले आन्तरिक विवादबारे छलफल गर्नुका साथै स्थायी कमिटीको बैठक बोलाउनेछ।

‘सचिवालय बैठकले तुरुन्तै स्थायी कमिटीको बैठक बोलाउँछ’, नेता खनालले थाहा खबरलाई भने, ‘अहिले देखिएका सबै विवाद स्थायी कमिटीबाटै समाधान गर्नुपर्छ।’ प्रधानमन्त्री ओलीले भने स्थायी कमिटी बैठक बोलाउन आनाकानी गर्दै आएका छन्।

यसअघि २० जना स्थायी कमिटी सदस्यले पार्टीका अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए। वैशाख ८ मा प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नै नगरी दुईवटा विधेयक ल्याएसँगै नेकपा विवादको भूमरीमा फसेको हो।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीबाट कम्तीमा पनि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद खोस्ने रणनीतिमा छन्। तर ओलीपक्ष भने माधव नेपाल समूहलाई फकाएर अघि बढ्न लागिपरेको छ। त्यसो नहुँदा संसदीय दलमा बहुमत पु¥याउने कसरत पनि ओली पक्षले गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here