नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो, नेपालगञ्ज निषेधित क्षेत्र घोषित

0
975

काठमाण्डौ,

नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएका छन् । यसैबीच नेपालगञ्ज उपमहानगरपालिकालाई आजदेखि तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमित बढ्न थालेपछि सोमबार बसेको सर्वपक्षीय बैठकले आज बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यराति १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्याक्ट ट्रेसिङका जनशक्तिबाहेक अरुलाई आवागमनमा पूर्णरुपमा रोक लगाइने उहाँले जानकारी दिनुभयो । बैठकले आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा बाटो छेक्न र राजमार्ग रोक्न नपाइने, सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

नेपालगञ्जमा गएको शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैबीच कोरोना सङ्क्रमित भेटिएपछि छिमेकी पालिकाहरुले पनि सतर्कता अपनाएका छन् । लकडाउन कडा बनाउनुका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्णरुपमा बन्द गरिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुमा रोक लगाइएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पालिकाहरुले सूचित गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here