झापाका पत्रकारहरुको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ

0
949

विर्तामोड।

गत बुधबार कोरोना भाइरसको संक्रमणको आशंकामा पीसीआर परीक्षण गरिएका विभिन्न सञ्चारमाध्यममा आवद्ध झापाका पत्रकारहरुको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिममा पनि पत्रकारहरु अग्रपंक्तिमा गएर रिपोर्टिङ गर्नु पर्ने भएपछि पत्रकारहरुको स्वास्थ्यलाई ख्याल गरेर झापाका विभिन्न सञ्चारमाध्यममा आवद्ध २५ जना पत्रकारहरुको पीसीआर विधिवाट स्वाब संकलन गरिएको थियो । परीक्षण गरिएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो ।

नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक बिकास मन्त्रालयको सहयोगमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरका स्वास्थ्यकर्मीले पत्रकारहरुको कोरोना परिक्षणका लागि थ्रोट स्वाव (घाँटीको र्याल) संकलन गरेको र थ्रोट स्वाबको नमुना दिएका सबै पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिए ।

अन्य जिल्लामा पत्रकारलाई पनि कोरोना संक्रमण देखिएकाले झापाका पत्रकारहरुको स्वास्थ्य अवस्थालाई ख्याल गरेर स्वाव संकलन गरिएको नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिएका छन् ।

पीसीआर परीक्षण गरिएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएपछि तनावमुक्त भई कार्यक्षेत्रमा खट्ने पत्रकारहरुले वताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here