(बाल कथा)
भुवन तामाङ ।
‘बाबा बाबा ! हाम्रो स्कुल कहिले लाग्छ ?’ छोराको प्रश्नको उत्तर दिँदै बाबुचाहिँ भन्छन्, ‘तिम्रो स्कुल चाँडै लाग्छ ।’ छोरा पुनः सोध्छन्, ‘बाबा खालि यस्तै भन्नुहुन्छ तर स्कुल लाग्दैन त ?’ बाबु पुनः भन्छन्, ‘लाग्छ तिम्रो स्कुल चाँडै लाग्छ ।’ आजभोलि हरेक घरमा नानीहरुले सोध्ने प्रश्न र अभिभावकले दिने उत्तर यिनै हुन् ।
चित्त नबुझेपछि छोरा आमालाई सोध्छन्, ‘आमा हाम्रो स्कुल कहिले लाग्छ ?’ छोराको प्रश्नमा आमा भन्छिन्, ‘तिम्रो स्कुल चाँडै लाग्छ ।’ बाबु र आमाको उत्तर उस्तै पाएपछि छोरा दिक्क हुँदै भन्छन्, ‘बाबा पनि यस्तै भन्नु हुन्छ आमा पनि यस्तै ।’ यत्तिकैमा बाबुचाहिँ भन्छन्, ‘ल हिँड म सँग बजार ।’ आश्चर्य मान्दै छोरा सोध्छन् ‘किन बाबा ?’ बाबु भन्छन्, ‘किचनका लागि सामान किनेर ल्याउन र तिम्रो स्कुल कहिले लाग्छ भनेर अथ्र्याउन ।’ छोरा असमन्जसमा पर्दै सोध्छन्, ‘बजारमा स्कुल लाग्ने सूचना टाँसेको हुन्छ हो बाबा ?’ बाबु भन्छन्, ‘पहिला मसँग बजार त हिँड ।’
बाबु र छोरा एउटा झोला बोकेर नजिकैको बजार जान्छन् । बीचैमा, ‘बाबा ! हाम्रो स्कुल कहिले लाग्छ ?’ भनेर छोरा सोधिहाल्छन् । अब भने गम्भिर हुँदै बाबु उत्तर दिन्छन्, ‘छोरा ! तिमीले हाम्रै चेतनालाई ख्याल गरेका छौ ?’ छोरा भन्छन्, ‘बाबा ! मैले हजुरको कुरा बुझिन ।’ बाबु भन्न थाल्छन्, ‘हेर त छोरा ! हामीले हाम्रो नाक मुखमा मास्क लगाएका छौँ ? अनि बाटामा हिँड्ने मानिसहरुले मास्क लगाएका देख्यौ ?’ बाबुको प्रश्नमा छोरा भन्छन्, ‘हो त हामीले मास्क लगाएनछौँ र बाटामा हिँड्नेहरु धेरैले मास्क लगाएका छैनन् ।’ बाबु भन्छन्, ‘अब बुझ्यो होला नि तिम्रो स्कुल किन लागिरहेको छैन ?’
उनीहरु बजार पुग्छन् यतिकैमा छोरा चिच्याउँदै भन्छन्, ‘बाबा ! यहाँ किचनको राम्रा सामान पाइन्छन् जस्तो छ, हेर्नुहोस् त मानिसहरुको कति धेरै भिड छ ?’ बाबुचाहिँ छोरालाई भन्छन्, ‘लकडाउन भएको दुईमहिना व्यतित् हुँदासम्म पनि मानिसहरु सचेत भएकै छैनन् कि कोरोना भाइरस नसरोस भनेर एकअर्काकोबीचमा कम्तिमा दुईगजको भौतिक दूरी कायम राख्नु भनेर । अनि उनीहरुमध्ये धेरैले मास्क पनि लगाएका छैनन् ।’ छोरा बाबुको अनुहारमा हेर्दै भन्छन्, ‘बाबा ! त्यही भिडमा हाम्रा सर र गुरुमा पनि हुनुहुन्छ त ।’ बाबु भन्छन्, ‘अब अलिक बुझ्यौ होला नि तिम्रो स्कुल कहिले लाग्छ भनेर ।’
चिउडोमा हात राख्दै छोरा पनि गभ्मिर हुँदै भन्छन्, ‘अँ हो बाबा ! मैले बुझेँ हाम्रो स्कुल लाग्न किन ढिलो हुँदैछ भनेर । कोरोना भाइरसको संक्रमणबाट बच्न जब सर र गुरुमा नै सचेत हुनुहुन्न भने कसरी स्कुल कोरोना भाइरसबाट सुरक्षित हुन सक्छ ? हो बाबा ! मैले केही कुरा बुझेँ ।’ हँसिलो मुहार लाउँदै बाबु भन्छन्, ‘स्याबास छोरा ! तिमीले धेरै कुरा बुझ्यौ तर सर र गुरुमाहरुमात्र सचेत भएर हुँदैन । जबसम्म अभिभावक, गुरु गुरुमा, विद्यार्थी र स्कुल सम्बद्ध सबै स्वयम् सचेत हुँदैनन्, सुरक्षाका सबै उपाय अलम्वन गर्दैनन् तबसम्म स्कुल लाग्दैन ।’
बाबु थप भन्छन्, ‘एकजना विद्यार्थी या सर या गुरुमा संक्रमित भएमा उनले स्कुलका सबै विद्यार्थीहरु, सबै सर, गुरुमा र कर्मचारीहरुलाई पनि कोरोना भाइरस सार्न सक्छन् । उनीहरु घर गएपछि घरका सबैलाई हुँदै, टोलका सबैलाई सर्न सक्छ । यसरी कोरोना भाइरस गुणन हुँदै छिट्टै नै सबैतिर संक्रमण हुन्छ ।’
यतिकैमा छोरा भन्छन्, ‘बाबा उ त्यहाँ हेर्नुहोस् त बाटो बनाउने मानिसहरु पनि एकअर्का टाँसिएर र मास्क नलगाई काम गर्दैछन् । अनि उता हेर्नुहोस् त छातीमा आईडीकार्ड डिस्प्ले गरेकाहरु एकअर्का टाँसिएरै हिँडिरहेका छन् ।’ छोराको चेतनास्तर थाहा पाएपछि छोरालाई धापमार्दै बाबु भन्छन्, ‘मजदुर, विभिन्न कार्यालयका कर्मचारी, शिक्षक शिक्षिका, यातायातकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, उद्योगी, व्यापारी, दोकानदार, पत्राकार स्वयम्सेवी, अभियन्ता या सर्वसाधारण जोसुकै हुन्, सबैका छोराछोरी स्कुल जान्छन् । कोही एकबाटमात्र पनि कमजोरी भयो भने कोरोना भाइरस सर्ने व्यापक सम्भावना हुन्छ होइन त छोरा ?’ छोरा आत्मविश्वासका साथ भन्छन्, ‘हो बाबा हो । कोही एकलाई मात्र कोरोना संक्रमण भए सबैलाई सर्ने रहेछ ।’ यत्तिकैमा बाबु भन्छन्, ‘अब त बुझ्ने भयौ होइन त तिम्रो स्कुल कहिले लाग्छ भनेर ?’ छोरा भन्छन्, ‘बुझेँ बाबा ।’

सामान किनेर घर आउँदैगर्दा बाटामा बाबु सविस्तार भन्छन्, ‘स्कुलमामात्र होइन कि, घरमा, बाटामा, बजारमा, कार्यालयमा, कामगर्ने ठाउँ अर्थात जुनसुकै ठाउँमा पनि कोरोना भाइरस संक्रमणबाट बच्ने सबै उपायहरु जबसम्म अपनाइन्नन् तबसम्म स्कुल लाग्दैन ।’ छोरा अझै उत्सुक हुँदै सोध्छन्, ‘बाबा ! अनि के भएपछि चाहिँ स्कुल लाग्छ त ?’
बाबु पुनः भन्छन्, ‘गाउँ हुन् या शहरका सबै घर, स्कुल, कार्यालय, होटल, रेष्टुरेन्ट, चौतारा, बाटाघाटा, पसल अनि उद्योग, कलकारखाना, अस्पतालहरु, सवारीसाधनहरु, हवाईजहाज आदिमा समेत एउटा पनि कोरोना भाइरस भेटिन्नन् अनिमात्र तिम्रो स्कुल लाग्छ । बाटा किनारमा ठडिएका विजुली, टेलिफोनका पोल या रेलिङ समेतमापनि एउटापनि कोरोना टाँसिएका छैनन् भन्ने निश्चित भएपछि र तिम्रो स्कुलको कक्षाका डेक्स बेन्च र तिमी चढ्ने स्कुल बस, तिमीले पढ्ने किताब, लेख्ने कापी कलम, स्कुल व्याग र तिमीले खेल्नेकुरामा समेत एउटा पनि कोरोना भाइरस टाँसिएको छैन भन्ने निश्चित भएपछि मात्र तिम्रो स्कुललाग्छ । मानिसलाई नभइ नहुने हावा, पानी, खानेकुरा र डिभाइस, ग्याजेट्स्हरुमा समेत एउटै पनि कोरोना छैन भन्ने विश्वस्त भएपछि मात्र स्कुल लाग्छ ।’
छोरा ध्यान मग्न भएर सुनिरहन्छन्, बाबु भनिरहन्छन्, ‘छोरा तिमीले पनि टेलिभिजनमा समाचार बेला बेला सुनेकै हेरेकै छौ कि, हाम्रो देश नेपालमा पनि कोरोना भाइरस संक्रमित बढिरहेका छन् । अर्र्कोतिर मित्रराष्ट्र भारतबाट वापस आइरहेका नेपालीहरुमध्ये धेरै कोरोना संक्रमित पाइएका छन् । समुद्रपारबाट पनि नेपालीहरु स्वदेश ल्याइँदैछ । स्वदेशमा रहेका र विदेशबाट आएका सबैमा कोरोना भाइरस संक्रमण शून्य भएपछिमात्र तिम्रो स्कुल लाग्छ । कोरोना संक्रमित घट्दै घट्दै शून्य भएर पनि कम्तिमा २१ या २८ दिनसम्म एकजना पनि कोरोना संक्रमित भेटिदैनन् तबमात्र तिम्रो स्कुल लाग्छ । नेपालमा मात्र होइन छिमेकी देशहरु समेतका सम्पूर्ण मानिसहरुले कोरोना भाइरस संक्रमणबाट बच्ने सबै उपाय शतप्रतिशत अलम्वन गरिरहेकाछन् भन्ने इन्स्योर भएपछिमात्र तिम्रो स्कुल लाग्छ ।’ यत्तिकैमा छोरा सोध्छन्, ‘बाबा औषधी चाहिँ बन्दैन ?’ केही बिर्सेजस्तो गरि बाबु भन्छन्, ‘ए हो त हो कि ? जबसम्म भरपर्दो औषधी या खोप आविष्कार हुँदैन तबसम्म तिम्रो स्कुल लाग्दैन ।’
बीचैमा छोरा भन्छन्, ‘बाबा ! समरी या कन्क्लुजन भन्नुहोस् न ।’ छोराको जिज्ञासामा बाबु निचोडमा भन्छन्, ‘भन्नुको मतलब धुँइपत्ताल खोज्दा पनि जब कोरोना भाइरसको एउटा दुमो पनि पाइँदैन नि, अनिमात्र तिम्रो स्कुल चाँडै लाग्छ ।’



























