मृत्युको घण्टी बज्दैछ

0
1352

सम्पादकीय

झापा कोरोना सङ्क्रमणको मुख्य जिल्ला भएको छ। प्रदेश १ का जिल्लामध्ये सबैलाई उछिनेको झापाको कचनकबल गाउँपालिका भाइरसको इपीसेन्टर हुनु खतराको घण्टी बज्नु हो। अन्तिम रिपोर्ट अनुसार शुक्रबार मात्रै त्यहाँका पच्चीस जनामा कोरोना प्रमाणित भएको छ। भारतसँग खुल्ला सीमाना जोडिएको कचनकबलमा भारतको अतिप्रभाबित राज्यहरू दिल्ली र महाराष्ट्रबाट आउनेहरूको सङ्ख्या उच्च छ। योसँग उक्त पालिकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ। अझ पछिल्लो पटक पोजेटिभ पहिचान भएकाहरूले बेड नै नभएको भन्दै रातभरि अस्पताल बाहिर बस्नु परेको अबस्थाले अबका दिन झापालीका लागि अत्यन्त घातक हुने निश्चित छ ।

तराईका जिल्लाहरु भारतसँग सोझै जोडिएका छन् । जतिसुकै निगरानी गरे पनि सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिने क्रम रोकिएको छैन । कामको सिलसिलामा भारत गएका त्यहाँका बासिन्दा लकडाउनकै कारण रोजगारी गुमाएर गाउँ फिर्ता भएका हुन्। आपत- बिपद्मा घर फिर्नु स्वभाविकै हो । उनीहरू कोरोना सङ्क्रमित हुनुमा दोषी पनि छैनन्। आएकाहरू सबै क्वारेन्टीनमा बसेनन् भने मात्रै उनीहरूको दोष हुने हो। सरकार प्रमुख र स्थानीय सरकारले सबैलाई क्वारेन्टीनमा ब्यवस्थित गरेको बताएको पनि छ । यस्तोमा परीक्षणको गति तीब्र बनाएर सङ्क्रमितहरूको आबश्यक उपचारको ब्यवस्था प्रदेश र संघीय सरकारले मिलाउनु पर्छ ।

कोरोना बिशेष भनिएका अस्पताल प्रदेश नम्बर १ का लागि धरान र बिराटनगरमा मात्रै छन् । बढ्दो सङ्क्रमित सङ्ख्या ती अस्पतालहरूको क्षमताले धान्न नसक्ने शुक्रबारकै घटनाले देखाइसकेको छ। त्यस पूर्वको ठूलो अस्पताल भद्रपुर हो जहाँ स्थानीयले बिरोध गरेका छन्। कोरोना रोकथाम, उपचार तथा नियन्त्रण समिति झापाले मेची अस्पतालको निर्माणाधीन भवनमा उपचार गर्ने गरी प्रदेश सरकारसॅगको समन्वय र सहयोगमा पीसीआर परीक्षण मेसिन सहितको सेवा सञ्चालन गर्ने प्रक्रिया शुरु गरेको थियो। परीक्षणको नतिजा यसैगरी पोजिटिभ आए उपचार सम्भव छैन। त्यसमाथि भारतबाट आउनेको सङ्ख्या थपिने क्रममै रह्यो भने यसले गर्ने मानवीय क्षति कति भयानक हुन्छ कल्पना गर्नै सकिन्न ।

कोरोनाको कारण छ जनाले जीवन गुमाइसकेका छन् । तर सबैको रोगको पहिचान मृत्युपछि मात्रै भएको छ । यसले हाम्रो सरकारको निरीहता प्रमाणित गरेको छ । यस्तोमा प्रतिरक्षाको सबैभन्दा भरपर्दो उपाय ‘दूरी कायम गर्नु’ लाई कायम राख्नु मात्रै हाम्रो सुरक्षित हतियार हो भन्ने आत्मवोध सबैमा हुनुपर्छ । तर अरूका लागि घर बसिदिएको ठान्ने मानसिकताले यो नियम र निर्देशन उल्लङ्घन गर्ने क्रम बढ्न थालेकोले मृत्युको घण्टी नजिकै बज्न थालेको छ । सङ्क्रमित जो पनि र जहाँ पनि हुन सक्ने भएकाले सम्भावित जोखिम र क्षतिबाट जोगिन अनुशासित हुनै पर्छ सबैमा तत्वबोध होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here