विद्युतीय सवारीमा लगाइएको करप्रति काँग्रेसको आपत्ति

0
811

काठमाडौं ,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा विद्युतीय सवारी साधनमा कर लगाएको भनी आपत्ति जनाउँदै फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको आइतवारको बैठकमा पार्टीका तर्फबाट सांसद देवेन्द्रराज कँडेलले आगामी आवको बजेटमार्फत विद्युतीय सवारीमा लगाइएको औसतमा ११३ प्रतिशतसम्मको कर व्यवस्था प्रतिगमनकारी भएको टिप्पणी गर्नुभयो ।

बैठकको प्रारम्भमै काँग्रेस सांसद आफ्नो स्थानमा उभिएपछि सभामुख अग्निप्रसाद सापकोटाले दिएको समयमा सांसद कँडेलले सरकारको यो कदम जनताप्रति उत्तरदायी नभएको र वातावरण विनाशक भएको आरोप लगाउनुभयो । “यो सत्तारुढ दलकै घोषणापत्र विपरीत हो”, उहाँले भन्नुभयो । यसअघि यही सरकारले विद्युतीय सवारीमा प्रोत्साहन नीति अघि बढाउनु र अहिले विद्युतीय सवारीमा कर लगाउनु भोटको राजनीति भएको उहाँको भनाइ थियो ।

विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात कम गरेर व्यापार घाटा कम गर्न सकिने सांसद कँडेलको धारणा थियो । वातावरण प्रदूषण कम गर्न र मानिसको स्वास्थ्यमा सुधार गर्नका लागि विद्युतीय सवारीमा लगाइएको कर फिर्ता गर्नुपर्ने नेता कँडेलले माग गर्नुभयो । नेपालले अन्तरराष्ट्रिय रुपमा गरेको प्रतिबद्धता विपरीतसमेत यो व्यवस्था रहेको बताउँदै उहाँले प्रदूषण नियन्त्रणका लागि पनि विद्युतीय सवारी साधनमा लगाइएको कर फिर्ता लिई यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here