‘प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै भौतिक पूर्वाधारमा बजेट

0
745

काठमाडौँ,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको विनियोजन विधेयकमा प्रादेशिक सन्तुलनलाई ध्यानमा राखेर बजेटलाई समानुपातिक ढङ्गले वितरण गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उहाँले बजेटको ‘सिलिङ’ घटेको तर चालु आवमा सञ्चालित आयोजनालाई निरन्तरता दिनुपर्ने भएकाले आगामी आवमा थप नयाँ आयोजना समावेश गर्न नसकिएको बताउनुभयो ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका कारण चालु आवमा विनियोजित रकमको तुलनामा भौतिक पूर्वाधार क्षेत्रमा रु २२ अर्बले न्यून रहेको उहाँको भनाइ थियो । वर्तमान असहज परिस्थितिका बाबजुद औचित्य र आवश्यकताका आधारमा केचना–कञ्चनजङ्गा पर्यटकीय मार्ग, तमोर कोरिडोर, मिर्चैया–कटारी–घुर्मी–सल्लेरी, निर्वाचन क्षेत्र रणनीतिक सडकलगायत थोरै मात्र नयाँ आयोजना समावेश गर्न सकिएको उहाँको प्रष्टोक्ति थियो ।

मन्त्री नेम्वाङले विगतमा शुरु गरिएको राष्ट्रिय गौरवका आयोजना उत्तरदक्षिण लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, दु्रत मार्गजस्ता आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न यथोचित ध्यान दिँदै आवश्यक मात्रामा बजेट विनियोजन गरिएको बताउनुभयो ।

“विगत वर्षदेखि सञ्चालन हुँदै आएका ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई कम्तीमा पनि चार लेनको सडकका रुपमा स्तरोन्नति गर्ने कार्यको थालनी गरी झापाको काँकडभिट्टादेखि रुपन्देहीको बुटवलसम्मको खण्डलाई अगाडि बढाउन प्रयत्न गरिएको छ”, उहाँले भन्नुभयो, “निर्मित सडकको मर्मतसम्भार तथा सडक सुरक्षालाई ध्यान दिई आवश्यक रकम विनियोजन गएिको छ । सडक सुरक्षा परिषद् ऐन संसद्मा पेश गर्न मस्यौदा तयार भइसकेको छ ।”

तराई–मधेश पूर्वाधार सडक विशेष कार्यक्रम तथा सडक पूर्वाधार विकास कार्यक्रमलाई सबै निर्वाचन क्षेत्रमा विस्तार गरिएको उहाँको भनाइ थियो । यस वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा रु १० करोड बराबरको खरीद प्रक्रिया अघि बढ्नाका साथै निर्वाचन क्षेत्र रणनीतिक सडकमा बजेट विनियोजन गरिनाले भौगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी गरिएको उहाँले बताउनुभयो ।

मन्त्री नेम्वाङका अनुसार नागढुङ्गा तथा सिद्धार्थ सुरुङमार्ग निर्माण प्रक्रियालाई दु्रत गतिमा अघि बढाउनाका साथै अन्य सात सुरुङ मार्ग निर्माणको अध्ययनका लागि बजेट विनियोजन गरिएको छ । उहाँले काठमाडौँ उपत्यकाकाको बढ्दो सावारी जामलाई ध्यानमा राखी ‘अण्डरपास’ र उपत्यकाभित्र आगामी वर्ष ‘फ्लाइ ओभर’ निर्माण गर्न बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिँदै आगामी आवमा झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवा खण्डको निर्माणका लागि स्रोतको सुनिश्चितता गरिएको बताउँदै उहाँले काठमाडौँ–केरुङ तथा काठमाडौँ–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका निम्ति चीन र भारतसँग सम्झौता गरिएको बताउनुभयो । आगामी आवभित्र नेपाली झण्डा फहराउँदै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनमा आउने उहाँको भनाइ थियो ।

यातायातको नयाँ क्षेत्रका रुपमा रेल तथा जलयातायातलगायत अन्य पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनका लागि ऐन निर्माण गर्न राष्ट्रियसभाबाट पारित सार्वजनिक यातायात प्राधिकरण विधेयक प्रतिनिधिसभामा टेबुल भइसकेको छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने सरकारको योजना रहेको पनि उहाँको भनाइ थियो । उहाँले सङ्घीय राजधानीलाई थप व्यवस्थित बनाउन सरकारले विभिन्न स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिएको र सोहीअनुसारको बजेट विनियोजन गरिएको बताउनुभयो ।

यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य भई प्रतिस्पर्धात्मक रुपमा सार्वजनिक सवारी सञ्चालनमा आई जनताले सुविधा प्राप्त गर्न थालिसकेको मन्त्री नेम्वाङले बताउनुभयो । उहाँले भौतिक निर्माणको क्षेत्रमा रहेको बेथिति हटाउन सरकारले कानूनी तथा संरचनागत कामसमेत गरेको र त्यसले आगामी दिनमा थप सकारात्मक नतिजा निकाल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँका अनुसार महाकाली कोरिडोर हुँदै दार्चुलाको तितङ्करसम्म पुग्ने सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिइएको र आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
सांसद सञ्जयकुमार गौतम, चन्द्रकान्त चौधरी र प्रेम सुवालले मन्त्री नेम्वाङले दिनुभएको जवाफ चित्त नबुझेको भन्दै थप प्रतिप्रश्न गर्नुभएको थियो ।

सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि रु आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । पूर्वपश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको निर्माण शुरु गरिने बजेटमा उल्लेख छ ।

यस्तै रसुवागढी–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने तथा दक्षिणी सीमानाकाबाट पूर्वपश्चिम विद्युतीय रेलमार्गको इटहरी, निजगढ, बुटवल, कोहलपुर जोड्ने रेल्वे लाइनको निर्माण गरिने लक्ष्य राखिएको छ । त्यस्तै जयनगर–जनकपुर–विजलपुरा खण्डमा रेल सेवा सञ्चालन हुने र बर्दिबास–निजगढ खण्डको निर्माण सम्पन्न गरिने विषयलाई बजेटले विशेष ध्यान दिएको छ ।

शहरी क्षेत्रको ट्राफिक चाप व्यवस्थापन गर्न र यात्रुलाई सुरक्षित तथा सुविधायुक्त सेवा प्रदान गर्न ठूला क्षमताका सार्वजनिक सवारी साधनलाई प्रोत्साहन गरिनेछ । विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन स्थापना गर्नेतर्फ सरकारले बजेट उपलब्ध गराएको छ । यस्तै सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न सार्वजनिक यातायात प्राधिकरणको स्थापना गर्ने लक्ष्य राखेको छ ।

विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र जारी गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी सवारीसाधनको अनुगमन गर्ने, इम्बोइष्ड नम्बर प्लेट वितरण गर्ने र कोभिड–१९ का कारण यातायात व्यवसायमा परेको असर न्यूनीकरण गरी पुनःसञ्चालनका लागि बैंक कर्जामा सहुलियत, कर छुट तथा रुट इजाजत दस्तुर छुट दिने व्यवस्था मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here