सम्पादकीय
असल नागरिक कुनै पनि देशको पहिलो सम्पत्ति हो। असल नागरिक हुन कर्मनिष्ठ, विवेकी, चरित्रवान, नैतिकवान र इतिहासप्रति गौरव गर्न सक्ने हुनुपर्छ । यसका लागि नैतिक शिक्षाको आबश्यकता पर्दछ। त्यसैले विश्वको प्राचीनतम संस्कृति वैदिक सनातन धर्मले गुरुकुलीय शिक्षालाई जोड दिएको थियो । जहाँ राजाका सन्तान पनि आम नागरिक सरह शिक्षा लिन्थे र दिक्षित हुन्थे। त्यही आश्रम उनीहरूको शास्त्र र शस्त्रसॅगै ब्याबहारिक ज्ञानको विश्वबिद्यालय थियो। आज त्यो पूर्वीय बिशिष्टता पश्चिमी मुलुकका लागि अनुकरणीय बन्दै गएको छ भने उद्गम थलोका हामीहरू विरत हुँदै अरूका अनुयायी बन्दै जाँदैछौं ।
आफ्ना पुर्खा र आफ्नो इतिहासप्रति गौरवबोध गर्न नसक्ने ब्यक्ति वा जाति कहिल्यै सम्मानयोग्य हुँदैन । त्यसो गर्न आफूमा पनि क्षमता हुनु पर्छ। इतिहासलाई आफू अनुकूल ब्याख्या गर्नु महानता हुन सक्दैन। बरू स्वघोषित त्यस्ता अगुवा जीवनकालमै बिलय हुन्छन्। नेपालको इतिहास वीर- वीराङ्गनाहरूको सेवा,त्याग, वलिदान र अथक परिश्रमले लेखिएको छ। किराँतकाल होस् वा लिच्छवी ,मल्ल अथवा वर्तमान नेपालका निर्माता पृथ्वीनारायण शाहको साशनकाल होस् सबैको बेग्लै महत्व छ। स-साना राज्यमा छरिएका तिनलाई एउटै सूत्रमा उनेर टिष्टा र काँगडाको बिशालता कायम गर्ने संस्थाको इतिहास कसैको सनकमा मेटिँदैन पनि।

त्यस्तै इतिहास रचेको छ हाम्रो प्रतिनिधिसभाको शनिबारको बैठकले। बहुदलीय ब्यबस्था आए पछिको समय पश्चिम- उत्तरको नेपाली भूभाग संधियार र अनन्य मित्र भनिएको भारतले वलपूर्वक अतिक्रमण गर्यो। हाम्रो असहमति, राजनैतिक अस्थीरता र सत्ता प्राप्त गर्ने लालसालाई कमजोरी ठानेर पूर्वदेखि पश्चिमसम्मको सीमावर्ती क्षेत्रमा अतिक्रमण भइरहेको छ। त्यसमा पनि सुस्ता र काली नदीको पूर्वी भाग लिम्पियाधुरा हुँदै लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा राखेर पछिल्लो समय भारतले बलमिच्याइँ मात्र गरेन हाम्रो स्वतन्त्र अस्तित्व, अखण्डता र सम्प्रभुतामाथि हमला गर्यो। त्यसकै प्रतिवादमा उभिएर संसदले एक मतले देशभक्ति सबै स्वार्थभन्दा माथि हुन्छ भन्ने उदाहरण देखाएको छ। तर त्यही छलफलमा बोल्दै सत्तारूढ दलका एक नेताले इतिहासको अपब्याख्या गरे मात्र होइन आफ्नो अज्ञानताको समेत प्रदर्शन गरे।’ राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँछ’ भन्ने उनको भनाइ कि इतिहास नपढेको प्रमाण हो कि त सत्ताको उन्माद।
हाम्रो सीमाना माओवादी सशस्त्र द्वन्द्वका कारण अतिक्रमित भए। प्रहरी र सेना लक्षित त्यो द्वन्द्वले कतिपय चौकी, पोष्ट बिस्थापित भए। त्यसको आधारभूमि भारत नै थियो भनिन्छ , इतिहासले प्रमाणित गर्ला भनाइलाई। यसअघि भएका प्रजातान्त्रिक आन्दोलनका स्रोत र ऊर्जा भारत नै भएकाले पनि उसको आत्मबल बढेको हुन सक्छ। भारत- चीन युद्ध पछि उत्पन्न भएको यो विवादमा बिभिन्न चरणमा वार्ता भएकै हो, कुटनीतिक कौशल नभएर वा इतिहास नबुझेर अथवा बुझाउने ल्याकत नभएर कचल्टिएको हो। त्यसैले पनि बूढापाकाको कथन छ’ बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु’ । यी सबैको ब्यबस्थापन गर्न भावी पुस्तालाई इतिहास र नैतिक शिक्षाको आबश्यकता छ। यसतर्फ राज्यको ध्यान जानु पर्छ। हैन भने हाम्रो पुर्खाको आर्जन र गौरव जोगाउन सकिँदैन, नेपाल र नेपालीको स्वाधीन र स्वतन्त्र अस्तित्व समेत सङ्कटमा पर्नेछ।




























