पहाडीको निधन

0
833

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालराज पहाडीको आज विहान निधन भएको छ । लामो समयदेखि बिरामी रहेका पहाडीको काठमाडौं शिक्षण अस्पताल सिनामङ्गलमा सोमबार बिहान ७ बजे निधन भएको हो ।
मिर्गौला, मुटु, मधुमेह, उच्च रत्तचापबाट पीडित पहाडीलाई साउन ५ गते अस्पताल भर्ना गरिएको थियो ।

विसं २००२ मा सङ्खुवासभाको मादिराम्बेनी-१ मा जन्मिएका अविवाहित नेता पहाडीले मुलुकको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेलजीवन बिताएका थिए ।

१७ वर्षदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य रही पूर्वाञ्चल विकास क्षेत्रकै अग्रज केन्द्रीय नेताका रुपमा स्थापित पहाडी २०३६ देखि २०५२ सालसम्म सङ्खुवासभाको कांग्रेस पार्टी सभापति थिए भने २०४८, २०५६ र २०६४ सालको संसदीय र संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार थिए ।

पहाडीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

पहाडीको निधनमा शोक ब्यक्त गर्न सोमबार बिहान साढे ९ बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठकले तीन दिन पाटीको झण्डा आधा झुकाउने तथा पार्टी कार्यालय बन्द गर्ने निर्णय गर्ने तयारी गरेको छ ।