दशवटै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत

0
480

खोटाङ,

खोटाङ जिल्लाका दशवटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ । हलेसी तुवाचुङ नगरपालिकाले रु ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

यस्तै, साकेला गाउँपालिकाले रु ३० करोड ७७ लाख ४४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले रु ५१ करोड ४२ लाख सात हजार, जन्तेढुङ्गा गाउँपालिकाले रु ३३ करोड ३० लाख २७ हजार र ऐसेलुखर्क गाउँपालिकाले रु ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट पेश गरेको छ । बराहपोखरी गाउँपालिकाले रु २८ करोड ३५ लाख ६९ हजार, केपिलासगढी गाउँपालिकाले रु ३३ करोड ८५ लाख ३४ हजार, रावाबेँसी गाउँपालिकाले रु २९ करोड ७७ लाख ९५ हजार र खोटेहाङ गाउँपालिकाले रु ४८ करोड १८ लाख ५९ हजार बजेट ल्याएको छ ।

जिल्लाका नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माविका सहायक प्रधानाध्यापक एवं नेपाल शिक्षक महासङ्घ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो ।

जिल्लाका अधिकांश स्थानीय तहले यस वर्ष पनि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेका छन् । मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएकाले अधिकांश स्थानीय तहले आ–आफ्नो क्षेत्रका सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।

जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिकाले भने, आर्थिक तथा सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाका अधिकांश भौतिक पूर्वाधार विकासमा सङ्घ तथा प्रदेश सरकारको लगानी रहेकाले पालिकामा आएको रकम आर्थिक तथा सामाजिक विकासमा लगानी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here