परिसंवादका प्रधान सम्पादकद्धारा पीसीआर ल्याबका लागि सहयोग

0
783

बिर्तामोड ।

एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि परिसंवाद डट कम अनलाइनका प्रधान सम्पादक रघु मैनालीले ११ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

झापाको कनकाई नगरका स्थायी वासिन्दा मैनाली हाल काठमाडौंमा रहेर पत्रकारिता गर्छन् । अग्रज पत्रकार मैनालीको तर्फबाट उक्त रकम रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओलीले अभियानका सहसंयोजक बिनोद बस्नेत र सदस्य सन्तोष अग्रवाललाई सयुक्त रुपमा प्रदान गरेका थिए ।

जनस्तरबाट भएको उत्कृष्ट कार्यमा सञ्चार क्षेत्रबाट पनि उत्साह थप्न उक्त रकम प्रदान गरेको परिसंवादका प्रधान सम्पादक मैनालीले बताएका छन् ।

उनले जनस्तरबाट भएको उक्त कार्य उदाहरणीय रहेको भन्दै प्रशंसा गरेका छन् । सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट ल्याब सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

सहारा नेपालको अगुवाई तथा अढाई दर्जन संघ–संस्थाको साझेदारीमा एकका लागि एक अभियान शुरु भएको हो । एकका लागि एक अभियान, अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियान र कनकाई नगरपालिकाको साझेदारीमा पीसीआर ल्याब स्थापना गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिने अभियानका सहसंयोजक बिनोद बस्नेतले बताए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको बैठकको निर्णय अनुसार कनकाईको कोटीहोमस्थित समर्पण भवनमा एकका लागि एक अभियानको अगुवाईमा सरकारी मापदण्ड अनुसारको ल्याब स्थापना हुनेछ । मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी ल्याबका लागि अनुमति, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भने प्रदेश सरकारले लिने सहमति भइसकेको छ ।

सरकारी मापदण्ड अनुसार ल्याब स्थापनाका लागि अन्नपूर्ण न्यूरो हस्पिटल अन्नपूर्ण रिसर्च सेन्टरबाट डा. दिनेश थापा तथा अनुसन्धान अधिकृत अनिलकुमार साह र विराज लोहनीको टिमले शुक्रवारबाटै काम थालेको छ ।

पीसीआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम उल्लेख्य रुपमा भइरहेको अभियानका सदस्य एवम् बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।

ल्याबका लागि हाल सम्म ८५ लाख रुपैया जुटिसकेको छ भने अझै ३५ लाख रुपैयाँ अपुग रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here