कचनकवलमा सुलभ औषधि पसल, बजार भन्दा ३० प्रतिशत कम मुल्यमा औषधि

0
1245

भद्रपुर ।

विपन्न समुदायलाई लक्षित गरी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सुलभ औषधि पसल सञ्चालनमा आएको छ ।
बजार मूल्य भन्दा ३० प्रतिशत कममा खरिद गर्न पाइने सुलभ औषधि पसल कचनकवल ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको भवनमा आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।

सो औषधि पसलको झापा क्षेत्र ३ बाट निर्वाचित सङ्घीय सांसद राजेन्द्रप्रसाद लिङदेनले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सङ्घीय सांसद लिङदेनले भने, ‘यहाँका बासिन्दाका लागि गाउँपालिकाले सुलभ औषधि पसल सञ्चालनमा ल्याएकोमा हर्षित छौँ ।’

सञ्चालनमा आएको यस औषधि पसलले गाउँवासीले चाहे अनुसारको औषधि उपलब्ध गराउनु पर्ने र बजार मूल्य भन्दा कममा दिएमा मात्र यसले निरन्तरता पाउने उनको धारणा छ ।

आफ्नै निर्वाचन क्षेत्रका बासिन्दाका लागि प्रत्यक्ष रूपमा लाभ हुने यस्ता प्रकारका कार्यक्रम ल्याउन आफू लागि परेको उनको भनाई छ । गाउँवासीको स्वास्थ्यलाई ख्याल गर्दै गाउँपालिकाले तीन महिनाअघि नै सुलभ औषधि पसल सञ्चालन गर्ने योजना बनाएको थियो । तर, गाउँपालिकामै कोरोना सङ्क्रमितको सङ्ख्या ह्वतै बढेकोले पसल सञ्चालनमा ल्याउन केही ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

चिकित्सकको सल्लाह बमोजिम यहाँका बिरामी र तिनका आफन्तजन औषधि खरिद गर्न भद्रपुरदेखि बिर्तामोडसम्म धाउनु पर्ने बाध्यताको अन्त्यसँगै बजार मूल्य भन्दा ३० प्रतिशत कममा औषधि दिन गाउँपालिकाले यो पसल सञ्चालनमा ल्याएको अध्यक्ष आलमले बताए ।

अब यहाँका बासिन्दालाई स्वास्थ्यमा पहुँच बढाउन गाउँपालिका लागि परेको उनको भनाई छ । सुलभ औषधि पसल सञ्चालक समितिका अध्यक्ष ओझा रविचन्द्र ओझाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आलम, उपाध्यक्ष निमसरी राजवंशी, ३ नम्बर वडा अध्यक्ष विजयकुमार राजवंशी, स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादव, स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत विशुद्ध भट्टराईले लगायतले मन्तव्य राखेका थिए ।

सो औषधि पसलमा एक सय प्रकारको औषधि राखिएको र गाउँवासीलाई आवश्यक पर्ने औषधि थप्दै जाने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here