क्षति कम गर्न सजग होऔं

0
793

सम्पादकीय

यस वर्षको मनसुन बेलैमा शुरु भएको छ । शुरुदेखि नै नियमित वर्षा हुन थालेपछि किसानहरु खुशी छन्, तर अत्यधिक वर्षा हुँदा आउन सक्ने बाढी, डुवान र कटानले पार्ने क्षतिप्रति भने चिन्तित पनि । यसै वर्ष बाढी र पहिरोमा परेर प्रदेश नम्बर १ मा मात्रै नौ जनाको ज्यान गइसकेको छ । यसबाहेक देशका अन्य प्रदेशहरुमा समेत बाढी र डुवानमा परेर धेरैको मृत्यु भइसकेको छ भने कतै पहिरोले जनधनको क्षति गरेको छ । वर्षाद्को कहर हाम्रो नियमितता नै हो । जलस्रोतले धनी देशमा हिमालबाट निस्किएर पहाड हुँदै तराईसम्म आइपुग्दा अनन्त स्रोत भएका नदीहरुले कतै कटान गर्छ, कतै पहिरो र कतै डुवानले जीवन तहसनहस हुनु अनौठो होइन ।

वर्षेनि हुने यस्ता प्रकोपको व्यवस्थापन गर्न, पीडितलाई सुरक्षा र राहत प्रदान गर्न सरकारले विपद् व्यवस्थापन समिति गठन गरेको छ । उसले स्थानीय तहसँग समेत समन्वय गर्दै बाढी–पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरुको पहिचानसहित उद्धारमा सहयोग गर्छ । विपद् व्यवस्थापन समिति जिल्ला–जिल्लामा गठन गरिएको छ र त्यसको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्छन् । समितिमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित रेडक्रस सोसाइटी लगायतका स्वयम्सेवी संस्थाहरु हुन्छन् । विपद्मा उद्धार गर्न प्रशिक्षित जनशक्तिसहितको समितिलाई यस वर्ष पनि वर्षाद् प्रारम्भ भएसँगै तयारी अवस्थामा राखिसकिएको झापामा प्रजिअ उदयबहादुर रानाले बताएका छन् ।

झापा भएर बग्ने कन्काई र विरीङ नदीलाई झापाको दुःख भनिन्छ । यो दुःख केवल वर्षाद्का समयमा मात्र भोग्नु पर्दछ । हुन त नदीनाला पृथ्वीकै जीवन बचाइ राख्ने आधार हो र प्राण हो । तर, यिनको प्रवाहमा असन्तुलन आयो अथवा वहाव र जलस्तर उच्च भयो भने त्यसले पार्ने असर नै मानव जातिको दुःख बन्ने गरेको छ । त्यही अवस्था उत्पन्न हुने झापाका मुख्य दुई नदी बाहेक सीमान्त नदी मेची, रतुवा, कमल र बिर्तामोड भएर बग्ने अन्धुवाले समेत वर्षादका समय प्रत्येक वर्ष मानवीय तथा भौतिक क्षति पु¥याउँदै आएको छ । सरकारले विगतको क्षतिलाई आधार मानेर त्यही अनुसारको पूर्व तयारी गर्नुपर्ने हुन्छ । तर, यो वर्ष कोरोना कहरले सरकार आफैं रनभुल्लमा छ । यस्तो बेला स्थानीय सरकारले प्रदेशसँगको समन्वयमा विपद् व्यवस्थापन समितिसँग सहकार्य गर्दै क्षति न्यूनीकरण गर्न अग्रसर हुनुपर्छ ।

वर्षेनि नदी क्षेत्र अतिक्रमण हुँदै जाँदैछन् । जनसंख्या वृद्धिको असर प्राकृतिक स्रोतहरुमाथि पर्ने भएकाले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरु नियमित जस्तै हुन थालेका छन् । तिनको असर र क्षतिबाट जोगिने हो भने प्राकृतिक स्वरुप विखण्डित हुनुहुँदैन । विश्वकै तथ्यांकमा नेपाल जोखिमको ३०औं स्थानमा छ । गत वर्षमात्र बाढीपहिरोका कारण एक सय छपन्न जनाले ज्यान गुमाएको तथ्यांकलाई दृष्टिगत गरी सतर्कता, सजगता र सावधानी अपनाउनु पर्छ । खासगरी झापामा सबैभन्दा बढी प्रभावित झापा गाउँपालिकामा कन्काई, विरीङ लगायतका नदीहरुले वर्षेनि ठूलो क्षति गर्दै आएका छन् । त्यसबाहेक मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, कचनकवल लगायतका प्रायः सबै पालिकाहरु बाढी र डुवानबाट प्रभावित हुने गरेका छन् । त्यसैले स्थानीय प्रशासनदेखि सरकार र विपद् व्यवस्थापन समितिले अत्यन्त चनाखो रहँदै क्षति न्यूनीकरणमा योगदान गर्नु नै पीडा कम गर्ने ओखती हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here