दिक्तेलमा रेडक्रसको होल्डिङ सेन्टर

0
854

खोटाङ,

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले दिक्तेलमा दश श्ययाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । विदेशबाट जिल्ला भित्रिने व्यक्तिलाई पिसिआर रिपोर्ट नआएसम्म राख्न रेडक्रसले दिक्तेलको पञ्च माविमा दश श्ययाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

रेडक्रसले आवश्यक सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकले दश श्ययाको व्यवस्थित होल्डिङ सेन्टर निर्माण गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

“जिल्ला बाहिरबाट भित्रिने स्थानीय बासिन्दालाई बिना पिसिआर परीक्षण घर पठाउँदा कोरोना सङ्क्रमण फैलिने सम्भावना देखिएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित व्यक्तिलाई सम्बन्धित स्थानीय तहले जिम्मा नलिउन्जेलसम्म सुरक्षित राख्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।”

रेडक्रसले निर्माण गरेको होल्डिङ सेन्टर शुक्रबार जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख गोमादेवी खत्रीलाई हस्तान्तरण गरिएको छ । रेडक्रसका सभापति कुमारसिं बस्नेतले ‘होल्डिङ सेन्टर’ लेखिएको ब्यानर शुक्रबार औपचारिक कार्यक्रम गरेर समन्वय समितिका उपप्रमुख खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

होल्डिङ सेन्टरमा राजधानी काठमाडौँ तथा तराईका जिल्लाबाट मध्यपहाडी लोकमार्गको जयरामघाट नाका हुँदै जिल्ला भित्रिने स्थानीय बासिन्दालाई मात्र राखिने जनाइएको छ । होल्डिङ सेन्टरमा बस्ने व्यक्तिलाई लाग्ने खाना र नास्ताको खर्च उद्योग वाणिज्य सङ्घले व्यहोर्ने सङ्घका महासचिव मनोज बजिमयले बताउनुभयो ।

रेडक्रसले यसअघि दिक्तेल बजारकै सरस्वती माविमा २० श्ययाको क्वारेन्टिन सञ्चालनमा ल्याएको थियो । सरस्वती माविमा सञ्चालित क्वारेन्टिनमा लाग्ने सम्पूर्ण व्यवस्थापन खर्च रेडक्रसले नै व्यहोर्ने रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताउनुभयो ।

सरस्वती माविको क्वारेन्टिनमा अहिले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगर फर्किएका १७ जनालाई राखिएको छ । दश स्थानीय तह रहेको जिल्लामा ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here