बन्दीपुरको बजेट पारित

0
1030

दमौली,

तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि कूल रु ५५ करोड पाँच लाख ८२ हजार ४०० को अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो ।

गाउँसभाले पूँजीगततर्फ रु १४ करोड ५३ लाख ८२ हजार ४४०, सामाजिक सुरक्षाभत्तातर्फ रु नौ करोड, वित्तीय व्यवस्थापनतर्फ रु १६ लाख, चालू खर्चतर्फ पदाधिकारीको पारिश्रमिक र सुविधातर्फ रु एक करोड १५ लाख, कर्मचारी पारिश्रमिक र अन्य प्रशासनिकतर्फ रु दुई करोड ७२ लाख, कार्यालय सञ्चालनतर्फ रु एक करोड ३३ लाख र विविध खर्चतर्फ रु एक करोड आठ लाख विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट रु चार करोड तीन लाख ४५ हजार आम्दानी हुने लक्ष्य लिएको छ । उपाध्यक्ष गुरुङका अनुसार सम्पत्ति करबाट रु ३५ लाख ४६ हजार, घरबहाल करबाट रु १५ लाख, बहाल बिटौरी करबाट रु २० लाख, व्यवसाय करबाट रु १३ लाख २५ हजार, सेवा शुल्कबाट रु १६ लाख ९४ हजार, घरनक्सा दस्तुरबाट रु आठ लाख ४६ हजार, नाता प्रमाणितबाट रु एक लाख आठ हजार र ढुङ्गागिट्टीबाट रु ३० लाख आन्तरिक आम्दानी हुने लक्ष्य लिइएको छ ।

त्यस्तै सङ्घीय सरकार वित्तीय समानीकरणवापत रु नौ करोड चार लाख, राजश्व बाँडफाँडबाट रु छ करोड, सशर्त अनुदानबाट रु १७ करोड चार लाख, विशेष अनुदानबाट रु चार करोड ७५ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरणवापत रु एक करोड १९ लाख र राजश्व बाँडफाँडबाट रु ६९ लाख ६६ हजार आम्दानी हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

‘पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार’ लाई मुख्य नारा बनाएर गाउँपालिकाले कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ प्रमुखसँग रोजगार कार्यक्रम, बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुलो वितरण, एक लिटर दूध उत्पादनमा रु एक अनुदान कार्यक्रमलाई समेत आगामी वर्षको कार्यक्रममा समेटिएको थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here