सडक हिलाम्मे, यात्रुलाई सास्ती

0
1105

पाँचथर।

गत वर्षबाट कालोपत्रको लागि काम थालिएको भेडेटार–रवि–राँके सडक अहिले हिलाम्मे अवस्थामा परिणत भएपछि यात्रुले दिनहुँ सास्ती खेपिरहेका छन् ।

भारतको लखनउस्थित एप्को इन्फ्राट प्रालिले सम्झौता गरी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने जिम्मा लिए पछि २०७५ पौष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सडक कालोपत्रको उद्घाटन भएको थियो ।

काम थालनी भएको करीब डेढ वर्ष बितिसक्दा पनि हालसम्म व्याक कटिङ, ग्यावीङ र कल्वर्ट तथा स्ट्रक्चर निर्माणमै अल्झिएका कारण वर्षातको समयमा हिलाम्मे भइ सवारी साधन ओहरदोहरमा कठिनाई भएको छ । सम्झौता अनुसार काम शुरु गरेको एक वर्षभित्रमा २० प्रतिशत काम पूरा हुनुपर्ने भए तापनि लक्ष्य अनुसार कामले गति नलिँदा समयमा काम सम्पन्न हुनेमा स्थानीयले आशंका गर्न थालेका छन् ।

ठेकेदार कम्पनीले शुरुदेखि नै काममा ढिलाइ गरेको र गत वर्ष पुसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङसहित मन्त्रालयको टोलीले अनुगमन गरेपछि केही दिन तीव्र गतिमा काम भए पनि पुनः सुस्ताएसँगैं यस भेगका बासिन्दा मारमा परेका छन् ।

लकडाउन र वर्षात्को कारण अहिले निर्माण ठप्प भएको यस सडकमा दैनिक खाद्यान्न, निर्माण सामग्री बोक्ने ट्रक, ट्याक्टर, मोटरसाइकल, बिरामी बोक्ने एम्बुलेन्स गरी दैनिक एक सयभन्दा बढी सवारी साधन ओहोर–दोहोर गर्ने गर्दछन् । बाटोमा ट्रक फँसेर स्काभेटरको सहायताले घण्टौंसम्म लगाएर निकाल्नु परेको चालक मीनबहादुर तामाङ बताउँछन् ।

यो सडक राँके–रवि, रवि–बुधबारे, बुधबारे–भेडेटार तीन भागमा विभाजित गरी काम सञ्चालन भएको भए पनि हाल राँके–रवि खण्डको जोखिम ठाँउमा सडक मर्मतको काम मात्रै गर्न सम्भव भएको कार्यरत् कन्सल्टेन्सीका सव इञ्जिनियर शैलेस मण्डल बताउँछन् ।

इलाम र पाँचथरको सीमाना राँकेबाट महाभारतडाँडा हुँदै धनकुटाको भेडेटारसम्म पुग्ने यो मार्ग कालोपत्रका लागि तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रुपैयाँ रकम एक्जिम बैक अफ इन्डियाको ८७ प्रतिशत र १३ प्रतिशत नेपाल सरकारको लागतमा निर्माण हुने जनाइएको छ ।

दुई लेनको दाँयाबाँया एक÷एक मिटर सोल्डरसहित जम्मा ९ मिटर फराकिलो एक सय किलोमिटर लम्बाइको यो मार्ग प्रदेश १ को गौरवको योजना मानिएको छ । यस सडकले धनकुटाका, पाँचथर,मोरङ र इलामका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here