कोरोनाभन्दा करको डर: २०० को टोकनमा दुई हजारको लाइन, यातायात खुलेको ६० दिनसम्म कर तिर्न पाइने

0
2012

बिर्तामोड,

कोरोना भाइरस कोभिड –१९ को बढ्दो संक्रमणका कारण अझै पनि मुलुक बन्दाबन्दीमा छ । कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न उपायहरु अपनाउन सरकारले आग्रहसमेत गरिरहेको छ । त्यसै मध्येको एउटा उपाय हो साामाजिक दूरी पनि । तर, सरकारको कर तिर्ने करका कारण झापामा सर्वसाधारणले सामाजिक दूरीको पालना गर्न पाएनन् ।


गत आइतबारबाट सरकारले सबै किसिमका सवारीसाधनको नबीकरण शुल्क तिर्न भन्दै निर्देशन जारी गरेपछि यातायात व्यवस्था कार्यालयमा सवारी कर तिर्न भेला भएका सर्वसाधारणको भीड बुधवार थामी नसक्नु देखियो । कर तिर्न यातायात कार्यालय परिसरमा दैनिक हजारौं सर्वसाधारणको भीड लाग्ने गरेपनि बुधवार यो आर्थिक वर्षको अन्तिम दिन भएकाले कर तिर्न आउनेको भीड अत्यधिक थियो ।
तर, स्वास्थ्य सुरक्षाका उपाय नअपनाइँदा कोरोना भाइरसको जोखिम उत्तिकै बढेको स्थानीयले बताउँदै आएका छन् । बुधवार यातायात व्यवस्था कार्यालयमा झण्डै दुई हजारको हाराहारीमा सर्वसाधारण जम्मा भएका थिए । विहान ५ बजेदेखि नै आफूहरु कर तिर्न लाइनमा बसेको हल्दिवारी गाउँपालिका –५ कि गीतादेवी दाहालले बताइन् । उनले भनिन् – आज यो वर्षको कर तिर्ने अन्तिम दिन हो, त्यही भएर बिहानैदेखि यहाँ आएर लाइनमा बसेकी हुँ तर, पालो आएन अब कर नतिरी फर्कन्छु ।


कार्यालयले बुधवार दुई सय जनाको मात्रै कर तिर्नका लागि टोकन वितरण गरेपछि यातायात व्यवस्था कार्यालयमा केही बेर स्थिति तनावपूर्ण रह्यो । विहान ८÷९ बजे आएको एक समूह कार्यालयको गेट तोड्दै भित्र पसेपछि बिहानैबाट लाइनमा बसेकाहरु आक्रोशित बने । जसका कारण कार्यालयमा बिहान केहीबेर स्थिति तनावपूर्ण बन्यो ।
आफू बिहान ४ बजेबाट नै कर तिर्न लाइनमा बसेको बताउँदै बिर्तामोडका रोशन शिवाकोटी भन्छन् – ११ बजेसम्म लाइनमा बसँे, टोकन लिने बेलामा १७१ नम्वर प¥यो । जव कि म शुरुमा लाइनमा वस्ता २१ नम्वरमा मेरो पालो आउँथ्यो । बिहान आएको हुलले पालो मिच्दा समस्या भएको हो, अहिले पनि लाइन बसेर कर तिर्न सक्ने अवस्था छैन ।
कर तिर्न यातायात कार्यालय आएका केही सेवाग्राहीले त अझ मास्कसमेत लगाएका थिएनन् । जसका कारण कर्मचारी र सेवाग्राही दुवै संक्रमणको जोखिममा छन् । सामाजिक दूरी समेत ख्याल नगर्दा कोरोना संक्रमणले महामारीको रुप लिने जोखिम बढेको देख्न सकिन्छ ।
कतिपय सर्वसाधारणले जोखिम बढाउन सरकारी संयन्त्रले नै भूमिका खेलेको भन्दै आक्रोश पोखेका छन् । कर तिर्न बाध्य पार्ने तर स्वास्थ्य सुरक्षाको प्रवन्ध नमिलाउने सरकारको लापरवाहीले त्रास बढेको बाह्रदशी गाउँपालिका – ५ का लक्ष्मी पाण्डे बताउँछन् । उनी भन्छन् – सरकारले सामाजिक दूरी कायम गर भन्छ तर त्यो भन्ने कुरा मात्रै हो । यही हो सामाजिक दूरी कायम गरेको प्रतिप्रश्न गर्दै उनी भन्छन् – सरकारको नीति नै गलत छ, सरकारले सिस्टम बनाउनु पर्दैन ? अनि जनतालाई चाँहि प्रहरी लगाएर लाठी चार्ज गर्नु, एकातिर कर तिर भन्नु अनि कर तिर्न आउँदा पनि लाठी चार्ज गर्नु यो सरकारको कस्तोे नियत हो ?


यसैबीच पूर्व तयारी बिना सूचना निकालिएकाले भीड थाम्न नसकिएको यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख कृष्ण पौडेलले बताएका छन् । उनी भन्छन् – सामाजिक दूरी कायम गराउन हामीले सकैनौं सबैलाई यो अवधिमा कर तिर्नु पर्ने छ, जसका कारण समस्या भएको हो । लामो समयसम्म लकडाउन भएर कार्यालय बन्द हुँदा समस्या भएको उनको भनाइ छ ।
सरकारले एकातिर संक्रमण रोकथाम भन्दै लकडाउन गर्ने र अर्कातिर भीड जम्मा गरेर सामाजिक दूरीसमेत पालना गराउन नसक्नुले कोरोना संक्रमणको जोखिम बढेको प्रष्ट देख्न सकिन्छ । सरकारले कर तिर्न निर्देशन गरेपछि सर्वसाधारण कोरोनाको भन्दा करको डरले महामारीको यो अवस्थामा समेत बिहानै बाट यातायात कार्यालयमा भेला भएका थिए ।
यसैबीच यातायात व्यस्था निर्देशनालय यातायात व्यवस्था कार्यालय झापाले एक सूचना जारी गर्दै प्रदेश आर्थिक ऐन २०७७ को दफा १२ मा भएको व्यवस्था अनुसार यातायात सम्वन्धि सेवामा लकडाउन अवधिमा बुझाउन नसकेको कारणले लाग्ने थप दस्तुर जरिवाना तथा थप जरिवाना सार्वजनिक सडक यातायात खुलेको मितिले ६० दिनभित्र बुझाएमा मिनाह हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here