सम्पादकीय
भौतिक सुखका लागि राष्ट्रिय ढिकुटी बेहिसाब खर्च भएको टिप्पणी भइरहेका बेला झापाका एक नगर प्रमुखले अत्यावश्यक सरहको सवारी किन्ने पैसा शिक्षालयमा खर्च गर्ने निर्णय गरेका छन् । देशभरका जनप्रतिनिधि र सरकारहरुले विलासिताका गाडी खरिद गर्न छ अर्बभन्दा बढी खर्चिएको समाचार सार्वजनिक भएकै बेला कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलले नगरसभाले विनियोजन गरेको साठ्ठी लाख रुपैयाँको प्रस्ताव अस्वीकार गरेका छन् । जनपक्षीय नेताको परिचय बनाएका पोखरेलको गाडी किन्ने पैसा प्राविधिक शिक्षालयमा लगानी गरेर जनशक्ति उत्पादनमा लगाउने निर्णय अरुहरुले समेत अनुशरण गरे जनप्रतिनिधिप्रतिको नकारात्मक धारणा हट्न सक्ने थियो ।
नगरलाई शैक्षिक हब र गन्तव्य बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने नगरप्रमुख पोखरेलको योजनाको सफलता सबैको सहकार्यमा सम्भव हुन्छ । उनकै योजना अनुसार विनियोजित रकमको आधा भाग कनकाई पोलिटेक्निक इन्स्टिच्युटको सञ्चालनमा लगानी गरिएको छ । सो इन्स्टिच्युटमा डिप्लोमा तहको प्राविधिक शिक्षा प्रदान गरिँदैछ । त्यसैलाई नगरपालिका र सामुदायिक साझेदारीमा आधारित इञ्जिनियरीङ कलेजका रुपमा विस्तार गर्ने उनको योजना रहेको छ । त्यसका लागि सोह्र विगाह जमिन लिजमा लिइसकेको र अब भौतिक पूर्वाधार तयार गर्ने उनको लक्ष्यले आकार लिन पाए त्यस क्षेत्रका मात्र होइन पूर्वी नेपालका विद्यार्थी नै लाभान्वित हुने छन् ।
यसअघि स्थापित इन्स्टिच्युटमा अध्ययनरत् विद्यार्थीहरुलाई ‘कमाइका लागि शिक्षा’ कार्यक्रम अन्तर्गत निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै, सिकाउँदै गरिएको छ । यसले प्राविधिक विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न सहज हुनेछ भने नगरपालिकालाई पनि सीमित, जियोमेटिक्स र इन्फरमेसन विषयका जनशक्ति उपलब्ध हुनेछ । शिक्षाको हव र प्रविधियुक्त नगर बनाउने नगरप्रमुखको योजनाबाट नगरपालिकाभन्दा पनि नगरबासी र सबै झापालीलाई लाभ मिल्ने निश्चित छ । अति खर्चिलो र दुरुह बन्दै गरेको प्राविधिक शिक्षा घरमै बसेर अध्ययन गर्न÷गराउन पाउनु अभिभावकका लागि समेत महत्वपूर्ण उपलब्धि हुनेछ ।

संघीयताको प्रयोग अहिले पदमा रहेकाहरुका लागि कमाइ खाने भाँडो भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । स्वतन्त्र, जागरुक र जानकारहरुले राज्यकोषको दुरुपयोग, अपचलन र दोहन गर्ने माध्यमका रुपमा संघीयतालाई उपयोग गरिएको टिप्पणी गर्दैछन् । आफ्नो, सेवासुविधा बढाउन तल्लीन रहेको, विकासका नाममा प्रकृतिको दोहन गरिएको र पूर्वाधार निर्माणमा समेत पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने गरिएको तथ्य पनि प्रकट भइरहेका छन् । यही समय कनकाई नगरका प्रमुख साइकल चढेर कार्यालय जाने गरेको समाचारले उनी उदाहरणीय मात्र भएका छैनन्, यसले सिङ्गै नगरबासीको शिर उचो भएको हुनुपर्छ । यसले राजनीतिलाई फोहोरी खेल भन्न र राजनीतिकर्मीप्रतिको वितृष्णा हटाउन सहयोग नै गर्नेछ । नगर प्रमुख पोखरेलको सामाजिक सेवाको भाव अझ उज्यालियोस्– शुभकामना ।




























