सम्पादकीय
प्रविधिले मानिसको जीवन पद्धति र स्तर उकास्न सहयोग गरेको छ । त्यहीकारण आज जनशक्तिको प्रयोग कम हुन थालेको छ भने परम्परागत प्रणाली विस्थापन हुने क्रममा छ । प्रविधिको उपयोगले जनशक्ति कम चाहिने, छिटो र धेरै उत्पादन हुने, लागत कम र श्रमको समेत बचत हुने कारणले प्रविधितर्फ मानिसका आकर्षण बढ्दै गएको हो । यस बाहेक सूचना, सञ्चार, यातायात, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारहरुको निर्माण तथा बिस्तारमा समेत आज नवीनतम् प्रविधिको प्रयोग गर्न थालिएको छ । खोज, अनुसन्धान, तथ्यहरुको संकलन तथा पुष्टि गर्न समेत आधुनिक यन्त्र, उपकरण र प्रविधिको उपयोग गर्न थालिएपछि परिणाम छिट्टै र तथ्यगतरुपमा आउनेक्रम बढेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले गत आर्थिक वर्ष घटेका आपराधिक कार्य र त्यसको अनुसन्धानबाट प्राप्त उपलब्धिका बारेमा जानकारी दिँदै अपराधका घटनामा कमी आएको जनाएको छ । प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले विगतको तुलनामा अपराधकर्ममा संलग्नहरुलाई छिट्टै पहिचान र पक्राउ गर्न सकिएको समेत बताए । अपराध कम गर्ने उद्देश्यले सडकमा सीसीटिभी जडान गरिएकोले अपराध कम हुनुका साथै त्यसमा संलग्नहरु पक्राउ गर्न सकिएको उनको भनाइ छ । उनले प्रविधिको प्रयोगले गत वर्ष भएका दशवटा अपराधका घटनाका दोषीलाई पक्राउ गर्न सहज भएको बताए ।

बिर्तामोड झापाको मुख्य बजार हो । आर्थिक कारोबारका दृष्टिले जिल्लाकै राजधानी सरहको बिर्तामोडमा चोरी, लुटपाटदेखि हत्यासम्मका घटनाहरु भएका छन् । इप्रका अनारमनीले बिर्तामोडसँगै अर्जुनधारा, कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिकासम्मको क्षेत्रको शान्ति सुरक्षाका लागि काम गर्नुपर्छ । तर, भूगोलका हिसाबले इप्रकासँग जनशक्ति थोरै छ । यसो हुनुका पछि सडक, चोक र गल्लीहरुमा जडान गरिएको सीसीटिभीको प्रभावकारिता नै मुख्य हो । उसको पकड क्षेत्रभित्रका गतिविधिहरुको सम्पूर्ण चित्र त्यसमा कैद हुने कारणले प्रहरीलाई अनुसन्धान गर्न सहज भएको छ भने अपराध गर्नेहरुलाई हतोत्साही गरेको छ ।
इप्रका अनारमनीले अघिल्लो आर्थिक वर्षमा अपराध सम्बन्धी चार सय उनान्सय वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा झण्डै आधा मात्रै दर्ता भएको जनाएको छ । अपराधका घटनाहरुमा जबरजस्ती करणी, ठगी, आत्महत्या आदि प्रमुख छन् भने चालू लकडाउनको अवधिमा आत्महत्या गर्नेहरुको संख्या बढेको छ । इप्रका, ट्राफिक प्रहरी कार्यालय र स्थानीय स्वयम्सेवी संस्थाहरुको सहकार्यमा सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन भइरहेको र अत्याधुनिक प्रविधि सीसीटिभी जडान गरिएका कारण सवारी दुर्घटनामा समेत कमी आएको तथ्यांकले देखाएको छ । अकारण हुने क्षति कम गर्न प्रविधिसँगै सचेतना विस्तारको कार्यलाई निरन्तर र प्राथमिकताका साथ सञ्चालन गरिए सबैले निश्चिन्त जीवन बाँच्न पाउने छन् । यसका लागि प्रविधि जडानमा सहयोग गर्ने दाताहरु, संघ–संस्थासँगै शान्ति सुरक्षाको जिम्मा लिएका प्रहरी धन्यबादका पात्र छन् । सबैको सहकार्यमा ‘रामराज्य’ निर्माण गर्न सकियोस्, दैलो नलगाई निदाउन सकिने वातावरण बनियोस् हाम्रो शुभेन्छा ।




























