दीर्घकालीनसमाधान खोज

0
449

सम्पादकीय

भौतिक विकासका नाममा जथाभावी डोजर लगाएर सडक निर्माण गरेका कारण देशभर बाढी–पहिरोको त्रासदी जन्मिएको छ । भौगोलिक अवस्था, भू–बनावट र धरातलीय तथ्यलाई नजरअन्दाज गरी स्थानीय तहले जथाभावी सडक बनाउने भन्दै डोजर, जेसीभी लगाएर निर्माण कार्य सञ्चालन गर्दा यो बर्ष बाढी पहिरोको जोखिम बढेको भूगर्भविद्हरुले बताएका छन् । त्यसै पनि यो बर्ष बर्षा ऋतुको आगमनसँगै मनसुन शुरु भएका कारण बर्षात्को सम्भावना उच्च रहेको मौसम विभागले जनाएको थियो । त्यसमाथि स्थानीय तहले सडक निर्माण तथा विस्तारका नाममा बिना अध्ययन आफूखुशी डोजर चलाएर बाढी–पहिरोको त्रास बढाएको हो । अधिक बर्षाले डोजरले चिरिएको जमिन भएर पनि सतहसम्म पुग्दा पहिरो जानु स्वभाविक नै हो, अझ असारे विकासका कारण ग्रामीण क्षेत्रका जमिन खुकुलो हुँदा पहिरोले धेरै जनधनको क्षति गर्छ ।

संघीय व्यवस्था अनुसार बनिएका तीन तहका सरकारमध्ये भौतिक निर्माण तथा विकासका गतिविधिमा स्थानीय तह बढी जिम्मेवार छन् । उसलाई दिइएको स्वतन्त्रता नै यस्तो प्राकृतिक विपत्तिको मूल कारण हुनसक्छ । घर–घरमै सेवा पु¥याउने स्थानीय तहले दिगो विकासको अवधारणा विपरीत मनोमानी ढंगले, बिना इञ्जिनियरिङ जथाभावी डोजर चलाउँदा निम्तिएको विपत्तिले अझै कति क्षति पु¥याउँछ अनुमान गर्न गाह्रो छ । भूगर्भविद् डा. सुवोध ढकालले भौगर्भिक बनोट कमजोर भएको र सडक निर्माण गर्दा जोखिम मापन नगरिनाले मौसम सक्रिय हुनासाथ पहिरो जान सक्ने बताएका छन् । अहिले धेरै सडकहरु स्थानीय सरकारले र केही प्रदेश सरकारले निर्माण गरिरहेको र तिनले भूगोलको अवस्था मूल्यांकन नगरेकाले तिनै सडकले पहिरोको जोखिम बढाएको भूगर्भविद्हरुको निष्कर्ष छ ।

देश एकातिर कोभिडको त्रासदीभित्र बन्दाबन्दीको अवस्थामा छ। तर ग्रामीण क्षेत्रमा सडक निर्माणको काम अप्रभावित भई सुचारु रहेका छन् । अझ असार मसान्तअघि नै फछ्र्यौट गर्ने गरी काम गरिँदा त्यसले पार्ने असरको वैज्ञानिक मूल्यांकन र अनुसन्धान भएकै छैन । यसले क्षति अझ बढ्न सक्ने सम्भावना रहेको छ । यता हिमाली र पहाडी क्षेत्रमा जाने पहिरो र अत्यधिक बर्षाका कारण तराईका जिल्लाहरुमा नदी कटानको समस्या त्यत्तिकै छ । त्यसमाथि ढलको उचित व्यवस्था नभएका कारण शहर बजारहरु डुबानले जनजीवन कष्टकर बनिएको छ । यो बर्ष अहिलेसम्म पश्चिम नेपालका हिमाली र पहाडी जिल्लाका ग्रामीण क्षेत्र बढी प्रभावित भएका छन् । विगतका बर्षहरुको तुलनामा यो बर्ष बर्षाका कारण मानवीय क्षति पनि धेरै भएको छ ।

मनसुन शुरु भएयता पहिरोमा परेर एक सय सोह्र जनाले ज्यान गुमाएका छन् । त्यस्तै बाढीले तीन जनाको मृत्यु भएको छ भने चवालीस जना अझै वेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भूकम्पको उच्च जोखिममा रहेको चौध जिल्ला पहिरोको पनि उच्च जोखिममा रहेको जनाएको छ । गएको भूकम्पले चिरिएको जमिनमा पानी पसेर पनि पहिरो जान सक्ने बताइएका बेला अधिक बर्षाले अझै क्षति गर्न सक्ने अनुमान गर्न सकिन्छ । तर, नियन्त्रण तथा व्यवस्थापनको जिम्मा पाएको प्राधिकरणले भने न पूर्वतयारी गरेको छ न त उद्धार र व्यवस्थापनमा उपस्थिति देखाएको छ । बर्षाको समय अझै बाँकी छ । खोलाहरुमा पानीको स्तर उच्च भइरहेको छ । खोला किनार सभ्यताका केन्द्र हुन् जहाँबाट विश्व सभ्यताको प्रारम्भ भएको थियो । त्यसैले तिनलाई सुरक्षित राख्नु सरकारको जिम्मेवारी हुनुपर्छ । तर, सरकारको ध्यान यस्ता प्राकृतिक विपत्तिमा भन्दा सत्ता रक्षामा केन्द्रित रहेका कारण जनता स्वयम्ले सजगता अपनाउनुको विकल्प छैन । त्यसैले जथाभावी सडक लगायतका भौतिक विकासका काम गर्नुभन्दा वैज्ञानिक अध्ययन, अनुसन्धान र विज्ञहरुको परामर्श अनुसार मात्रै गर्नेतर्फ स्थानीय सरकारसँगै स्थानीयवासी सचेत हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here