९ वर्षमा पनि बनेन् शीत भण्डार

0
1358

झापा।

झापाको भद्रपुर नगरपालिकामा निर्माणाधीन शीत भण्डार ९ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।

१५ महिना भित्र शीत भण्डार अर्थात् कोल्ड स्टोर निर्माण सम्पन्न गरिसक्ने गरी भद्रपुर–५मा २०६७ साल मंसीर २३ गते ठेक्का सम्झौता भई २०६८ साल चैत महिनामा निर्माण सम्पन्न गर्ने गरी काम थालिएको थियो । तर, नियमनकारी निकायको समन्वयको अभाव र निर्माण व्यवसायीको चरम लापरवाहीका कारण १५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने कोल्ड स्टोर एकदशक बित्न लाग्दासम्म निर्माण सम्पन्न हुन नसकेको स्थानीयको भनाइ छ ।

कोल्ड सेन्टर निर्माण कार्य अधुरै छोड्दै निर्माण व्यवसायी पटक–पटक सम्पर्कविहीन भएको र भवन निर्माण कार्य अधुरै रहेको स्थानीयको आरोप छ । दक्षिण पूर्वी झापाका कृषकको समेत प्रत्यक्ष सहभागितामा निर्माण थालिएको कोल्ड स्टोरको आवश्यकता अझै पूर्ति हुन नसक्दा त्यस क्षेत्रका सर्वसाधारण अहिले मारमा छन् । कोल्ड स्टोर निर्माणका लागि तत्कालीन अवस्थामा कृषक समूह नै गठन गरिएको थियो ।

समूहमा ५३ जना कृषक आवद्ध रहेर जनही ५० हजारका दरले शेयर लगानी गरेका थिए । कोल्ड स्टोर निर्माणका लागि समूहले १४ कठ्ठा पौने ११ धुर जमिन खरिद गरेको थियो । कृषक समूहका अध्यक्ष भारतेन्दु मल्लिकले लामो समयसम्म कोल्ड स्टोरेज निर्माण सम्पन्न हुन नसक्दा कृषक मारमा परेको बताएका छन् ।

‘नगरपालिकाले समयमै सम्पन्न गरेर दिएको भए अरु योजना पनि भद्रपुरमा ल्याउन सकिन्थ्यो’– अध्यक्ष मल्लिकले भने– ‘हाम्रा धेरै सोचहरु थिए, यो कोल्ड स्टोर समयमा नबनेकाले ती सबै तुहिए ।’ स्टोर निर्माणका लागि काठमाडौँको सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले चार करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपैयाँमा ठेक्का पाएको थियो । हालसम्म कम्पनीले ३ करोड ७९ लाख ७८ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।

अब भने निर्माण कार्य अन्तिम चरणमा पुगेको र सञ्चालनको तयारी समेत भइरहेको भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठ बताउँछन् । ‘कहिलेदेखि सञ्चालनमा हुन्छ भनेर ग्यारेन्टी गर्ने अवस्थामा अहिले हामी छैनौँ’– उनले भने– ‘सञ्चालनको प्रक्रिया पनि मिलाउनु छ, जे होस् चाँडै सकेर सञ्चालनको तयारी गर्छाैँ ।’

हालसम्म कोल्ड स्टोरका लागि भवन निर्माणको साथै कम्पाउण्ड वाल, आवश्यक टहरालगायतका निर्माण कार्य अन्तिम चरणमा छन् । कोल्ड स्टोरका लागि आवश्यक पर्ने थर्मोकुलर, ट्रान्सर्फमर, जेनेरेटर लगायतका उपकरण पनि जडान गरिएको छ । तर, समयमा निर्माण कार्य सम्पन्न नहुँदा र स्टोर सञ्चालनमा नआउँदा भौतिक संरचनाको दुरुपयोग र जडान गर्न ल्याइएका उपकरण तथा सामग्री बिग्रन र हराउन थालेका छन् ।

यता निर्माण कम्पनीले गुणस्तरीय काम समेत नगरेको स्थानीयको आरोप छ । स्थानीयले यस विषयमा कुरा उठाउँदा समेत सुनुवाई नभएको स्थानीय मदनकुमार पोखरेलले बताए । भद्रपुर नगरपालिकाको गहनाको रुपमा रहेको कोल्ड स्टोर अहिलेसम्म सञ्चालनमा नआउनु आफैंमा दुःखद् रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here