मन्त्रिपरिषदको निर्णय मोहनमायाको पक्षमा

0
1373

बिर्तामोड ।

मोहनमाया माध्यमिक विद्यालयको जग्गा सम्वन्धि विवाद समाधान भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रश्तावमा मन्त्रिपरिषदको गत साउन २६ गते बसेको वैठकले जग्गा प्राप्ति ऐन २०३४ अनुसार विद्यालयको पक्षमा निर्णय गरेसंगै विद्यालयमा देखिएको जग्गा सम्वन्धि विवादको अन्त्य भएको हो ।

मन्त्रिपरिषदको वैठकले कित्ता नम्वर ६९३ बाट सात कठ्ठा ५ धुर र १८३४ कित्ता नम्वर बाट साढे १३ धुर जमिन विद्यालयलाई प्रदान गरिने निर्णय भएको छ । जसका लागि विद्यालयले भोगचलन गर्दै आएको जग्गा अधिग्रहण गर्ने र जग्गा दातालाई मुअब्जा प्रदान गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले बताउनुभयो ।

दाता परिवारले विद्यालयको नाममा मुद्धा दर्ता गरेपछि जिल्ला अदालत झापाले दाता परिवारकै पक्षमा फैसला गरेको थियो । पछि उच्च अदातल इलामले समेत दाता परिवारकै पक्षमा फैसाला गरेसंगै विद्यालयले मुद्धा दोहो¥याई पाउँ भन्दै पुन निवेदन दिएका थिए । तर, तयो पनि सम्भव नभएपछि महान्याधिवत्ताको कार्यालयमा पुगेर मौखिक जानकारी सहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएका थिए । यो संगै मन्त्रालयकै प्रश्तावमा मन्त्रि परिषदले यस्तो निर्णय गरेको प्रधानाध्यापक श्रेष्ठले बताए ।

बिर्तामोड नगरपालिका २ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालय स्थापना गर्न समाजसेवी भूपालमानसिंह कार्कीले तत्कालीन समयमै १२ कठ्ठा १० धुर जमिन मौखिक रुपमा प्रदान गरेसंगै विद्यालय स्थापना गरिएको थियो । तर, दाता परिवारले २०७० सालमा विद्यालयको नाममा जिल्ला अदालत झापामा मुद्धा दर्ता गरेपछि विद्यालयको जमिन विवादित भएको थियो ।

जिल्लाकै नमूना विद्यालय मध्येको बिर्तामोड नगरपालिका–२ रामचौकमा रहेको मोहनमाया माविको आफ्नो नाममा १० धुर जमिन मात्रै छ । २०२४ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय दाता परिवारको तर्फबाट २०७० सालमा जिल्ला अदालत झापामा मुद्दा परेसँगै जिल्ला अदालत झापाले दाताकै पक्षमा फैसला गरेको थियो ।

अदालतको फैसला अनुसार मोहनमाया मावि जमिनविहीन भएको थियो । मोहनमायाको नाममा पूर्व–पश्चिम राजमार्गले छोएको विद्यालय भवनको दक्षिणतर्फ १० धुर मात्रै जमिन छ । जुन जमिनमा विद्यालयले कम्पाउण्ड वाल लगाएको छ ।

विद्यालयले भौतिक संरचना निर्माण गर्दै जिल्लाकै उत्कृष्ट विद्यालय बनाए पनि अहिले तिनै दाता परिवारले विद्यलयले उपभोग गरेको जमिन खाली गर्न माग गरेका थिए । २०७० सालमा भूपालमान सिंहका छोरा जगतबन्धु कार्कीले विद्यालयबिरुद्ध मुद्दा हालेसंगै विद्यालयको जमिनमा विवाद सृजना भएको थियो ।

विद्यालयको नाममा जग्गा प्रदान गर्ने कार्की तत्कालीन समयमा राजसभाका स्थायी सदस्य थिए । साविक चारपाने गाविसको केन्द्र नम्वर–३स्थित कारुवाभिट्टामा विद्यालय स्थापना गरिए पनि भूपालमानले नै रामचौकमा जमिन प्रदान गरेपछि विद्यालय कारुवाभिट्टाबाट रामचौक सारिएको विद्यालयका सहायक प्रधानाध्यापक भवानी राजवंशीले बताए । उनले भने– ‘त्यो बेला जमिनको मूल्याङ्कन नै कम थियो, भूपालमानले प्रदान गरेको जमिनमा पञ्चकन्या उद्योग समूहका अध्यक्ष तथा शिक्षासेवी प्रेमबहादुर श्रेष्ठले आफ्नी आमाको नाममा विद्यालयको भवन निर्माण गरिदिनुभएको थियो ।’

तत्कालीन समयमा झण्डै ७५ हजार रुपैयाँ खर्चेर श्रेष्ठले भवन निर्माण गरेपछि उनकै आमाको नामबाट विद्यालयको नामकरण गरिएको बताइन्छ । सन्ठीको वेरा र फूसले छाएर बनाइएको झुपडीबाट पठनपाठन शुरु भएको विद्यालय अहिले जिल्लाकै नमूना विद्यालयका रुपमा सञ्चालित छ ।

२०५३ सालबाट निम्न माध्यमिक तहको पठनपाठन शुरु गरेको मोहनमायाले २०६८ सालबाट माध्यमिक तहको अध्ययन अध्यापन शुरु गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here