हरितालिका पर्वको सान्दर्भिकता

0
1125

सोमनाथ गौतम,

हरितालिका पर्व शिव उपासनासँग सम्बद्ध ऐतिहासिक पर्व हो । यस पर्वले हिजो जति महत्व बोकेको थियो आज पनि उति नै महत्व बोकेको छ । समय सन्दर्भले स्वभाव अनुसार मानवीय शैली भने फेरिन सक्छ । तर, धार्मिक ऐतिहासिक पर्वहरुको औचित्य महत्व चाहिँ खासै फेरिँदैन । कसैलाई फेरिए जस्तो लाग्यो भने कतै म हाम्रा ऐतिहासिक पर्वहरुलाई गलत रुपमा बुझिरहेको त छुइन भनी आत्मसमीक्षण गर्न आवश्यक पर्दछ । यो पर्वमा आफ्ना चेलीबेटीहरुलाई आफ्नो घरमा ल्याएर भाद्र शुक्ल द्वितीयाका दिन मीठो मसिनो, हविस्यान्न (दूध, घिउबाट बनेका परिकार) भोजन गर्ने गराउने र त्रयोदशीको दिन ब्रत बसी भगवान् शिवको विशेष उत्सवका साथ पूजन यजन गरी मनाइने गरिन्छ । ऐतिहासिक महत्वका कारणले र वर्षा ऋतुको उत्तराद्र्धमा यो पर्व पर्नाले समेत यस पर्वको उपादेयता झनै बढेको देखिन्छ । यस दिन विशेषतया हाम्रो देशमा नारीहरुले ब्रत बसी भगवान् शिवको उपासना गर्ने गरेको पाइन्छ । यसै दिन ब्रत किन ? किन नारीहरुले मात्र गरिएको यो ब्रत ? के पुरुषहरुले यो ब्रत बस्न मिल्दैन ? के व्रत बस्दा पानी पनि पिउन मिल्दैन र ? त्यसमा पनि नेपालमा यस पर्वको विशेष प्रभाव पर्नुको कारण के ? जस्ता धेरै प्रकारका प्रश्नहरु हरितालिका ब्रतका विषयमा मेधावी मस्तिष्कले खोज्ने गरेको पाइन्छ । यिनै प्रश्नहरुको शास्त्रीय खोजमूलक उत्तर यस लेखले प्रदान गर्न गइरहेको छ ।

हरितालिका शब्द संस्कृत शब्द हो । हरिता अपहृता आलिकाभिः वा सखीभिः इति हरितालिका यस्तो संस्कृतको बिग्रह अनुसार साथीहरुले अपहरण गरिएकी भन्ने साङ्केतिक अर्थ प्रकट भएको छ । पौराणिक कथाका आधारमा हिमालयले छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने निर्णय गरेका थिए । पार्वती भने भगवान् शिवलाई आफ्नो पति बनाउन चाहन्थिन् । आफ्नो इच्छा विपरीत विष्णुसँग विवाह हुने कुराले दुःखी भएकी पार्वतीले आफ्ना जया विजया आदि सखीहरुलाई आफ्नो मनको कुरा सुनाएपछि सखीहरुले पार्वतीलाई तत्काल कसैले नदेख्ने जंगलमा लगेका थिए । पार्वतीले पनि एकान्तमा शान्त चित्त बनाएर शिवको उपासना गरिन् । भगवान् शिवले पार्वतीको मनोभावलाई बुझेर दर्शन दिनुभएको थियो । यो दिन भाद्र शुक्ल द्वितीयाको दिन थियो । भगवती पार्वतीले ब्रत गरी मनोकामना सिद्ध भएको दिन हुनाले यसदिन ब्रत बस्नाले भगवान् शिव प्रसन्न भई असल श्रीमान् प्राप्त हुने र विवाहितका पति दीर्घजीवी हुने जनविश्वास रहिआएको छ ।

यद्यपि भगवान् शिवको उपासना नारी पुरुष दुबैले गर्दा पारिवारिक कल्याण हुने कुरा शास्त्रमा लेखिएको पाइन्छ । पार्वतीले ब्रत बसी शिव पति प्राप्त गरेको भएर यसदिन नारीहरुले ब्रत बस्ने प्रचलन चलेको हुनुपर्दछ । विवाहित नारीले पतिको सुख, शान्ति र दीर्घायुका लागि ब्रत बस्छिन् भने अविवाहित नारीले ब्रत बस्दा असल पति प्राप्त हुने शास्त्रीय विश्वास रहेको छ । पतिले पनि आफ्नी पत्नीको दिर्घायु र सुख शान्तिका लागि ब्रत बस्दा कुनै फरक पर्दैन । अविवाहित पुरुषले असल कुशल पत्नी प्राप्त गर्न यसदिन ब्रत र शिवोपासना गर्नु राम्रो हो, तर प्रायः यसो गरेको पाइँदैन । पक्कै पार्वतीको ब्रत सफल भएको दिन नारीहरुले ब्रत बस्ने सामाजिक रुढप्रथा चलिआएको हुनुपर्दछ । ब्रत संयमताको नाम हो । संयमताले सकारात्मक सोच बढाउँछ । सकरात्मक सोचले मानिस सुखी हुन्छ । त्यसैले हरितालिका लगायत कुनै पनि ब्रत आफ्नो स्वास्थ्यको अनुकूल बस्नु राम्रो हुन्छ । अबको सचेत मानवले संस्कृति प्रतिको सकारात्मक सोच समाजमा जगाउनु पर्दछ । किनभने संस्कृति हाम्रो दिगो पहिचान हो । अनि अतितसँग वर्तमानलाई जोड्ने र भविष्यलाई वर्तमान सुम्पने भरपर्दो माध्यम पनि हो । त्यसैले संस्कृति सकारात्मक रुपमा आत्मसात् गरी भविष्यलाई स्वाभाविक रुपमा हस्तान्तरण गर्नु सचेत व्यक्तिको कर्तव्य हो । भगवान् शिव र शक्तिको उपासनाले गृहस्थीहरुलाई सुखी तुल्याउँछ । भागवतमा भनिएको छ –

विद्याकामस्तु गिरीशं दाम्पत्यार्थं उमां सतीम् ।
(भा. पु. २÷३÷७ )
अर्थः विद्या, बुद्धि चाहने व्यक्तिले भगवान् शिवको उपासना गर्नुपर्दछ भने दाम्पत्य जीवन सुखी बनाउन चाहनेले सतीसहित भगवान् शिवको उपासना गर्नुपर्दछ । यसै भावनालाई आत्मसात् गरेर हाम्रो समाजमा स्वस्थानी, हरितालिका, शिवरात्री जस्ता पर्वहरुमा विशेष ब्रत उत्सव गरिने गरिन्छ । फेरि हाम्रो देश नेपाल शिवशक्ति निवास भएको देश हो । हामी कहाँ श्रीपशुपतिनाथ, डोलेश्वर, पिण्डेश्वर, जलेश्वर जस्ता अनेकौं भगवान् शिवका पीठहरु र गुह्येश्वरी, दन्तकाली, बज्रयोगिनी, सिद्धेश्वरी, साकम्बरी जस्ता अनेकौं शास्त्रमा वर्णित शक्तिपीठहरु रहेका छन् । स्कन्दमहापुराण अन्तर्गत हिमवत्खण्डमा त पशुपतिक्षेत्र, गण्डकीक्षेत्र, देवघाट, मुक्तिनाथ, मानसरोवर, वाराहक्षेत्र, सप्तकोशी, सप्तगण्डकी, हिमालय क्षेत्र लगायत समग्र नेपाललाई देवदेशो हिमालय भनी देवताको देशका रुपमा चिनाइएको छ । यस्ता ऐतिहासिक, पौराणिक तथ्यहरुबाट हाम्रा पुर्खाहरु शिवशक्तिका उपासक थिए भन्ने कुरा स्पष्ट हुन जान्छ । त्यसैले हाम्रा धार्मिक सांस्कृतिक पर्वहरु शिवशक्तिको उपासनापरक रहेका छन् ।

भगवान् शिवको परिवारमा प्राकृतिक विपरीत धर्मी प्राणीहरुको सहज निवास छ । शिवको वाहान साढे (गोरु) पार्वतीको वाहान सिंह, सिंहले गोरुलाई आहारा बनाउँछ । गणेशको वाहान मूसो, कार्तिकेयको वाहान मयूर, मयूरले मूसो मारिदिन्छ । यता शिवका गहना गोमनको आहारा नै मूसो हो । गोरु र सिंह, मयूर र मूसा, सर्प र मूसा जस्ता प्राकृतिक शत्रुलाई मिलाउन सहज क्षमता भगवान् शिवमा रहेको छ । अनि आफू विष पिएर अरुलाई अमृत पान गराउने उदारवादी स्वभाव केवल भगवान् शिवमा मात्र भएको कुरा पौराणिक कथाले व्यक्त गरेको पाइन्छ । त्यसरी नै गृहस्थीका परिवारमा पनि बुबा–आमा, श्रीमान्–श्रीमती, छोरा–छोरी, नाति–नातिना लगायत धेरै जनाको बसोबास हुन्छ । एकआपसमा मिलेर बस्ने सहज भावना विकास गर्न गृहस्थीले भगवान् शिवको सफल गृहस्थको स्मरण गर्दै ब्रत उपासना गर्ने गरिएको हो । ‘पिण्डे पिण्डे मतिर्भिन्ना’ हरेक मष्तिस्कमा अलग–अलग बुद्धि हुन्छ । बुद्धि अनुसारको विचार हुन्छ ।

विचार अनुसारको व्यवहार गर्न चाहन्छ, हरेक व्यक्तिले आफ्नो विचार अनुसारको व्यवहार कार्यान्वयन गर्न खोज्नु मानवीय स्वभाव हो । विचार नमिल्नाले हरेक घरमा, गाउँमा र समग्र राष्ट्रमा समेत अशान्ति फैलिन्छ । सबल र सार्थक विचारको विजय हुन सक्यो भने मात्र मानव सभ्यताको संरक्षण, सम्बद्र्धन र समुन्नति हुन सक्दछ । यसका लागि भगवान् शिवको उपासना र चिन्तनको आवश्यकता पर्दछ । गृहस्थीले शिवको सेवा गर्नाले, व्रत बस्नाले घरभित्रका मसिना वैचारिक र व्यवहारिक द्वन्द्वको सामना तथा सहजीकरण गर्न आन्तरिक क्षमता प्राप्त हुन्छ । यतिमात्र होइन निष्ठापूर्वक गरिएको शिवशक्ति उपासनाले जैविक शक्ति, प्राज्ञिक शक्ति, व्यवहारिक शक्ति, सामाजिक शक्ति र राष्ट्रिय शक्ति समेत मौलाउने भएकाले हरितालिका जस्ता ब्रतले घर मात्र नभएर समाज राष्ट्र र विश्वसँग समेत अव्यक्त सम्बन्ध राखेको अनुभूति गर्न सकिन्छ । आ–आफ्नो विचारलाई स्वच्छ, स्वस्थ र समृद्ध बनाउन हरेक ब्रत, सत्सङ्ग र उपासनाको ठूलो भूमिका रहेको हुन्छ । त्यसैले हाम्रा पूर्वजहरुले यस्ता धार्मिक, सांस्कृतिक पर्वहरुको प्रचलन चलाएका हुन् ।

भाद्र शुक्ल प्रतिपदाका दिन छोरीचेलीहरुलाई आ–आफ्ना माइतमा ल्याएर मीठा–मसिना साकारी खानेकुरा खाने र भोलिपल्ट द्वितीयाका दिन ब्रत बसी भगवान् शिवको पूजन यजन गर्ने गरिएको छ । हिजो पहाडमा खानलाउन नै हम्मे–हम्मे पर्ने र बुहारीका घरभित्रका र खेतबारीका धेरै काम एवम् घास–दाउराले थकित भएका महिलाहरुलाई तीजमा दाजुभाइ लिन गएपछि अपार खुशीसँग माइत आएर दर खाने, ब्रत बस्ने र शिवको पूजन यजन गरी नाच्ने हास्ने र वर्षभरिका दुःख–कष्ट बिर्सने गरिन्थ्यो । आफ्नो घरमा बुहारी उपाधिमा भन्दा नारी छोरी उपाधिमा धेरै स्वतन्त्र हुने भएकीले पनि यस दिन प्रायशः माइतमा दरखाने, ब्रत बस्ने, शिवपूजन गर्ने, आफ्ना हृदय मिलेका बालसखीहरुसँग दुःख–सुख साटासाट गरी नाच्ने, गाउने जस्ता क्रियाकलापले मनमष्तिस्क हलुङ्गो पार्न सकिने भएकाले पनि यस पर्वको उपादेयता बढेको हो । यो पर्व धार्मिक, सांस्कृतिक, सामाजिक र व्यवहारिक दृष्टिले र वर्षा ऋततुको अन्त्यमा हुने भएकाले पर्यावरणीय दृष्टिले समेत सौहार्दपूर्ण पर्व हो ।

आज हरितालिकाको पर्वगतशैली निकै फेरिँदै गएको देखिन्छ । १५, २० दिनभन्दा अघिदेखि नै दर खान शुरु गर्ने रवाफिलो र भड्किलो नवविकसनशील शैलीले समान्य आर्थिक अवस्था भएका व्यक्तिहरुलाई अफ्टेरो पार्न सक्छ । मिठो मसिनो खानु, भगवद्सेवा गर्नु, नाचेर गाएर रमाइलो गर्नु त राम्रो कुरा हो, तर हरेक चाड पर्वको उपलक्ष्य पारी गरिने एकल अथवा सामुहिक भोजको शैली पर्वगत अस्तित्व र मर्यादालाई उल्लङ्गन नहुने गरी गर्नु सचेत मानवको कर्तव्य पनि हो । आज वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले समेत हामीलाई हाम्रा पूर्वीय सभ्यताका निष्ठा आहार, व्यवहार, शैली र स्वभाव शास्त्रोक्त विधिमा गर्नुपर्ने अव्यक्त सन्देश प्रवाह गरिरहेको महशुस गर्न सकिन्छ । ब्रत विशेष पर्वमा असात्विक तामसी भोजन गर्नु, मद्यपान गर्नु, उत्ताउलो शैली अवलमबन गर्नु जस्ता कृत्यहरु आकल झुकल कतै कतै गर्न थालिएको बुझिन्छ । यस्तो कृत्य नेपाली वैदिक हिन्दू पर्वहरुको मर्म नबुझ्ने आयातित धर्मका भरौटेहरुबाट वैदिक सामाजिक सद्भाव धमिल्याउन खोजेको हुनसक्छ । यसबाट सबैले सचेत हुन आवश्यक छ ।

हामीले यस्ता पर्वहरु मनाइ रहँदा सामान्यतया बसोबास र रहनसहनले शैली परिवर्तन भए पनि पर्वगत सकरात्मक भावलाई विचलित गराउनु हुँदैन । यसो गरिएमा मात्र हाम्रो सांस्कृतिक अस्तित्वको संरक्षण र सम्वद्र्धन गर्न सकिन्छ । यदि अस्तित्वको संरक्षण गर्न नसके स्वभिमानी र तथ्यपरक नेपाली पहिचान समेत जोखिममा पर्न सक्दछ । त्यसैले आफ्ना पहिचानगत पर्वहरु मनाउँदा भड्किलो रवाफ र अर्कालाई फगत प्रभाव देखाउने शैलीले पर्वगत मर्यादालाई उल्लंघन गर्नुहँुदैन । त्यसमा पनि अहिलेको वैश्विक महामारीका रुपमा देखा परेको कोरोना भाइरसको त्रासदीय अवस्थामा जमघट, भेला, हुनुभन्दा आ–आफ्ना घरमा दर खाने र ब्रत बसी भगवान् शिवको उपासना गर्नाले आफू आफन्त, समाज, राष्ट्र एवम् समग्र मानव सभ्यताकै संरक्षणमा ठूलो योगदान पु¥याएको सावित हुनेछ ।

भाद्र शुक्ल द्वितीयाका दिन पर्ने हरितालिका पर्व शिव उपासना परक पर्व हो । प्रतिपदाका दिन आफ्ना दिदी–बहिनीलाई घरमा ल्याएर हविष्यान्न (दूध, घिउ आदि )बाट बनेको दर खुवाउने र द्वितीयाका दिन ब्रत बसी भगवान् शिव पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहेको छ । भगवान् शक्तिसहित शिवको उपासना गर्नाले गृहस्थीहरु सुखी हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । भड्किलो र रवाफिलो शैलीले पर्व मनाउनु नराम्रो कुरा मात्र होइन यसले त मानवको मन मष्तिष्कमा नै गलत कुराको छाप पारी दिन्छ । जसले मनमा अशान्ति र व्यवहारमा समेत असफलता हात लाग्दछ । त्यसैले हाम्रा हरितालिका लगायत सम्पूर्ण सांस्कृतिक पर्वहरु मनाउदा पर्वको मूल्य–मान्यतालाई आत्मसात् गर्दै सभ्य शैलीमा मनाउनु पर्दछ । हाम्रा पुर्खाले लामो समयको अभ्यास र तपस्याबाट हामीसम्म प्राप्त संस्कृतिमा विकृति भर्यौ भने वंश विनाश गरे झैं परम्परा प्राप्त संस्कृति वञ्चनाको ठूलो दोषको भागी बन्नुपर्ने हुन्छ ।

अतः सांस्कृतिक शैलीमा देखिएका विकृति हटाउँदै सभ्य शैलीमा पर्व मनाउनु रचेत मानवको रबल कर्तव्य हो । यसपाली त कोरोना भाइरस जस्तो कुरोगले मानव सभ्यतालाई नै विचलित तुल्याएको छ । त्यसैले आ–आफ्नो घरमा सभ्यशैलीमा र सावधानीपूर्वक पारिवारिक वातावरणमा हरितालिका पर्व मनाऔं । हरितालिका पर्वको ब्रत बसी शिवशक्ति उपासना मा जुट्नु हुने आमा दिदी, बहिनी, समग्र मातृशक्ति र भक्तजनको कल्याण होस् भनी राष्ट्रदेव भगवान् पशुपतिनाथसँग प्रार्थना गर्दै सवैमा रोग, शोक, भय हटोस्, सुख शान्ति र समृद्धि प्राप्त होस्, कोरोनागत भयलाई शक्तिमा बदल्न सकियोस् भनी हरितालिका पर्वको सबैलाई शुभकामना व्यक्त गर्दछु ।

(गौतम श्रीसाङ्गवेद संस्कृत विद्यालय चारपानेका शिक्षक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here