सचेत नागरिकको खवरदारीः भारतीय सवारी भन्सारमै रोक

0
471

बिर्तामोड।

विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरसका कारण नेपाल–भारत सीमा नाका बन्द छ । गत वर्षको चैत महिनादेखि नै सीमा नाका बन्द हुँदा आवतजावत ठप्प छ ।

तर, मालवाहक सवारी साधनलाई भने निश्चित मापदण्ड अपनाएर नेपाल प्रवेश गर्न दिइएको छ । सीमा क्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर मात्र नेपाल प्रवेश गर्न दिएको बताइए पनि सामान्य मापदण्ड समेत पालना नगर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । झापाका सीमावर्ती नाकाबाट खुलेआम रुपमा भारतीय सवारी साधन नेपाल प्रवेश गरिरहेको भन्दै सचेत युवा नागरिक समाज झापाले तत्काल सवारी साधन आवत जावत बन्द गर्न माग गरेको छ ।

भारतमा कोरोना संक्रमणको दर उच्च रुपमा बढ्दै गएको र नेपालमा सामान्य मापदण्ड समेत नअपनाई भारतीय गाडीलाई प्रवेश दिइरहेको भन्दै समूहका अध्यक्ष लक्ष्मण बस्नेतले बोर्डर सिल कडाइका साथ लागू गर्न माग गरेका छन् । उनले मेची भन्सार कार्यालय काँकरभिट्टा र जिल्ला प्रशासन कार्यालय झापालाई यस विषयमा जानकारी गराइसकेको भन्दै सरकारी निकायले यस विषयमा चासो नदिएको बताए ।

सरकारी निकायबाटै नियम कडाइका साथ पालना नगराउँदा झापामा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिने जोखिम बढेको उनको भनाइ छ । भारतीय मालवाहक सवारीका चालक र सहचालकले पीसीआर परीक्षणको रिपोर्ट नै नदेखाई खुलेआम रुपमा सवारी सञ्चालन गर्दा समुदायमा कोरोना भाइरस संक्रमण फैलने जोखिम बढेको अध्यक्ष बस्नेतको भनाइ छ ।

पूर्वी नाकाबाट प्रवेश गरेका सवारी साधन निश्चित गन्तव्यमा मात्रै रोक्नु पर्ने भए पनि सवारी चालकले विभिन्न स्थानमा पार्किङ गर्दै लैजाने गरेकाले झापामा कोरोना भाइरस समुदायमा फैलिएको अध्यक्ष बस्नेतको आरोप छ । प्रहरीले स्वास्थ्य सुरक्षा नअपनाई सवारी चेकजाँच गर्ने गरेको र त्यसको परिणाम स्वरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीमा समेत संक्रमण देखिएको उनको भनाइ छ ।

झापाको भद्रपुर नाका हुँदै रातको समयमा भारतबाट माछा भित्रिने गरेको छ । भारतबाट आएको माछाको कुनै परीक्षण नै नहुने भन्दै अध्यक्ष बस्नेतले प्रहरीको मिलेमतोमा भारतबाट महामारीको यस्तो समयमा खुलेआम माछा भित्र्याएको आरोप लगाए । उनले भने– भारतीय सवारी साधन लिएर आएका सवारी चालक तथा सहचालकले नै नेपालमा कोरोना भाइरसको संक्रमण फैलाएको हुनसक्छ ।

झापाको काँकरभिट्टा, भद्रपुर, कचनकवल, टाघनडुब्बा, सतीघट्टा, गौरीगञ्ज लगायतका क्षेत्रबाट दिनहुँ अबैध सामग्रीसहित माछा भित्रिरहेको छ– अध्यक्ष बस्नेतले भने– भारतीय सामग्री लिएर आउने नागरिकबाट कोरोना फैलिरहेको छ । नेपालमा फैलिएको कोरोना अन्य देशबाट आउने नागरिकमा भन्दा भारतबाट आउने नागरिकमा बढी देखिएको छ ।

सरकारले गत चैत ११ गतेबाट करिव ४ महिना लकडाउन गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराएको छ । भारतबाट आउने नागरिकलाई निश्चित सीमा नाकाबाट मात्रै प्रवेश गर्न दिइने भन्दै झापासहित देशका १० वटा नाका तोकेर भारतबाट आएका नेपाली नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने शर्तमा नेपाल प्रवेश गर्न दिए पनि पछिल्लो समय सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा नहुँदा लुकीछिपी विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्नेको संख्या ठूलो रहेको पाइएको छ ।

पश्चिम बंगाल सरकारले कोरोना भाइरस फैलिने भन्दै एकतर्फी रुपमा पूर्वी नाका काँकरभिट्टा एक महिनासम्म ठप्प बनाएको थियो । दुई देशबीच अतिआवश्यक सामग्री आवतजावतमा कुनै रोक नलगाउने सहमति भए पनि भारतले एकपक्षीय रुपमा महिना दिनसम्म पूर्वी नाका ठप्प बनाएको थियो ।

सवारी चालक र सहचालकले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र कोरोना भाइरस परीक्षण गराएर प्रमाणपत्र साथमा बोक्नुपर्ने नियम बनाइए पनि भारतबाट नेपाल प्रवेश गर्ने चालक र सहचालकले त्यस्ते प्रमाणपत्र साथमा नवोकेको अध्यक्ष बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here