तुलसीप्रसाद निरौला / विर्तामोड ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्यो । लकडाउनको समयमा सुरक्षाको सावधानी अपनाएर कोरोना भाइरसको संक्रमणबाट वच्न सवै नेपाली घरमै वसे । तर, झापा अर्जुनधारा–११ बुट्टाबारी बजार स्टाफ चोक निवासी सामाजिक अभियन्ता तथा गायक गणेश ढुंगानाले भने त्यस समयमा पनि प्लास्टिकका बोतल, बट्टा र भाँडाहरु संकलनमा निरन्तरता दिए ।
कोरोना भाइरसको संक्रमणको जोखिमका वीच पनि आफ्नो ज्यानको समेत कुनै परवाह नगरीे निरन्तर प्लास्टिकका बोतल, बट्टा र भाँडाहरु संकलन गर्नु सामाजिक अभियन्ता तथा गायक ढुंगानाको रहर नभएर वाध्यता हो ।
गत २०७६ साल असोज २५ गतेदेखि मानिसले प्रयोग गरेर मिल्काएका प्लास्टिकका बोतल, बट्टा, भाँडा, प्लास्टिकका झोला, अस्पतालजन्य प्लास्टिकका सामग्री संकलन गर्न शुरु गरेका उनको एउटै लक्ष्य छ – मानिसले प्रयोग गरेर मिल्काएका प्लास्टिकका बोतल, बट्टा र भाँडाहरु संकलन गरी विक्री गरेर आएको खर्चले अनाथाश्रम बनाउनु ।
कोरोना भाइरसको संक्रमणको जोखिमका वीच पनि सुरक्षा सावधानी अपनाएर हरेक दिन बिहान ५ बजे घरबाट निस्किएर ९ बजेसम्म प्लास्टिकका बोतल, बट्टा र भाँडा, प्लास्टिकका झोला, अस्पतालजन्य प्लास्टिकका सामग्री बटुल्ने र ती सामग्री आफ्नै घरको आँगनमा थुपार्ने गरीरहेको ढुंगानाले बताए ।
ग्लोव्स र मास्क लगाएर लकडाउनको समयमा पनि प्रत्येक दिन प्लास्टिक खोज्दै मानिसका घर , होटल , अस्पताल पुगेर मानिसले प्रयोग गरेर मिल्काएका प्लास्टिकका बोतल, बट्टा र भाँडाहरु संकलन गरेको उनले वताए ।
मानिसले प्रयोग गरेर मिल्काएका प्लास्टिकका बोतल, बट्टा र भाँडाहरु धेरै जम्मा गरेपछि आफूलाई खवर गर्ने गरेको र त्यहाँ गएर ती सामग्री संकलन गर्ने गरेको उनले वताए । हालसम्म झापाको अर्जुनधारा, बिर्तामोड, काँकरभिट्टा, सुरुङ्गा भद्रपुर लगायतका क्षेत्रमा गएर ती सामग्री संकलन गरीरहेको उनले जानकारी दिए ।
अनाथाश्रम निर्माणका लागि खर्च जुटाउन कोरोनाको त्रासमा पनि प्लास्टिकका सामग्री संकलन कार्य जारी राखेको र प्लास्टिकका सामग्री संकलन गर्न जाँदा त्यहाँ अनाथाश्रम निर्माण गर्ने कुरा सुनाउने गरेको ढुंगानाले बताए ।
शुरु–शुरुमा प्लास्टिकका सामग्री संकलन गरेर अनाथाश्रम निर्माण गर्ने कुरा सुनाउँदा स्थानीयले आफूलाई पागलको संज्ञा दिए पनि आफ्नो उद्देश्य र अनाथाश्रम निर्माण अभियानबारेमा विस्तारै बुझाएपछि उनीहरुले प्रशंसक बनेर अनाथाश्रम निर्माण अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको ढुंगानाले बताए ।
विर्तामोडको होटल टाइमलेस मोमेन्टमा प्लास्टिकका सामग्री संकलन गर्न पुगेका ढुंगानाले कोरोनाको त्रासमा पनि अनाथाश्रम निर्माण गर्न खर्च जुटाउन होटलमा प्लास्टिकका सामग्री संकलन गर्न आएको बताए ।
होटलमा आउने ग्राहकले प्रयोग गरेका प्लास्टिकका बोतल, बट्टाहरु धेरै भएर होटलकै सौन्दर्य घटाएकाले कोरोनाको त्रासमा पनि अनाथाश्रम निर्माण गर्न खर्च जुटाउन प्लास्टिकका सामग्री संकलन गर्न आएका सामाजिक अभियन्ता तथा गायक ढुंगानालाई होटल टाइमलेस मोमेन्टका अध्यक्ष जितेन्द्र वस्नेतले ती प्लास्टिकका सामग्री प्रदान गरेका थिए ।
मानिसले प्रयोग गरेर मिल्काएका प्लास्टिकका बोतल, बट्टा र भाँडाहरु संकलन गरी विक्री गरेर आएको खर्चले अनाथाश्रम बनाउने ढुंगानाको उद्धेश्य महान रहेकाले सवैले मिलेर अनाथाश्रम बनाउन सहयोग गर्नुपर्ने होटल टाइमलेस मोमेन्टका अध्यक्ष वस्नेतले बताए ।
प्लास्टिकका सामग्री विक्री गरेर आएको खर्चले अनाथाश्रम बनाउने ढुंगानाको कार्य प्रशंसनिय भएको बताउँदै वस्नेतले यस्तो परोपकारी कार्यमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सामाजिक कार्यमा सक्रिय ढुंगानाले अर्जुनधारा–६मा चन्दा मागेर दुर्गा मन्दिर निर्माण गरेको, अर्जुनधारा–६मै रहेको अपांग वाल शिक्षा सरोकार केन्द्रमा आश्रित अशक्त र असहाय बालबालिकाका लागि भरणपोषणको सामग्री जुटाइरहेको बताए । पर्यटन प्रवद्र्धनका लागि झापादेखि ताप्लेजुङको पाथीभरा देवीको मन्दिरसम्म पैदल यात्रा गरेका ढुंगानाले आफ्नै स्वर, सङ्गीत र शब्दमा भूकम्पले बासै उठायो र पाउ पाथीभरा उत्तरगङ्गा बोलका दुई गीति एल्वम् बजारमा ल्याएको जानकारी दिए ।
तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेना नेपालको प्रथम डिभिजनको एफ कम्पनीमा लडाकु समेत रहेका ढुंगानाले शान्ति प्रक्रिया अनुसार सेना समायोजन क्रममा आफूले पाउने सुविधा सबै शहिद परिवारको कोषमा जम्मा गरेर रित्तो हात घर फर्किएको बताए ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि चैत १२ गतेदेखि सुरक्षाकर्मी , स्वास्थ्यकर्मीलाई पानी वितरण गरेको वताउँदै उनले चैत १५ गतेदेखि राहतका लागि सामाजिक अभियान सञ्चालन गरेर दुई हजार भन्दावढी विपन्न वर्गका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको जानकारी दिए ।
राहतका लागि सामाजिक अभियानका अध्यक्ष जगतबहादुर रानामगर , अभियानका सचिव तथा सञ्चारकर्मी रञ्जित परियार , समाजसेवी तथा निर्माण व्यवसायी शेरबहादुर थापा , भ्रष्टाचार विरोधी अभियन्ता महेन्द्र प्रसाईं, नेपाल लाइफ इन्स्योरेन्सकी एजेन्सी मेनेजर सुनिता धिमाल, मोती चौधरी, जनप्रतिनिधी मोहन योगी , गंगा भट्टराई लगायतले निरन्तर अभियानमा साथ दिएर हालसम्म पनि विपन्न वर्गका परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्ने कार्य जारी राखेको सामाजिक अभियान्ता ढुंगानाले बताए ।
प्लास्टिकका सामग्री संकलन गरेर त्यसको विक्रीबाट आएको रकमले अनाथाश्रम बनाउन लागीपरेका ढुंगानाले हालसम्म प्लास्टिकका सामग्री विक्रीबाट २१ हजार रुपैयाँ संकलन गरेको जानकारी दिए ।
उनले कोरोनाको त्रासमा पनि प्लास्टिकका सामग्री संकलन गर्ने कार्य जारीरहेको वताउँदै प्रयोग गरेर मिल्काएका प्लास्टिकका बोतल, बट्टा र भाँडाहरु भए आफूलाई उपलब्ध गराउन सवैलाई आग्रह गरेका छन् ।
अनाथाश्रम वनाउन जग्गाको खोजी गरीरहेका उनी भन्छन् – अनाथाश्रम वनाउन सरकारले जग्गा उपलव्ध गराए प्लास्टिकका सामग्री संकलन गरी विक्री गरेर आएको रकमले अनाथाश्रम वनाउँछु ।





























