सुरेन्द्र भण्डारी
झापा । झापाको मेचीनगर–९ मागुरमाडीका कृषक डिल्लीराम उप्रेतीले विदेशबाट फर्किएर कृषि कर्म शुरु गरे । अरु केही गर्ने बिकल्प नदेखेर उनले ९ वर्ष अघि परिवार धान्नकै लागि भए पनि ४० हजार रुपैयाँ लगानी गर्दै टिक प्रजातिको विरुवा उत्पादन र कागती खेती शुरु गरे ।
आफू विदेश (कतार)मा रहँदा काँशघारीमा परिणत भएको खेतमा अरु बाली लगाउने बिकल्प नभएपछि उप्रेतीले टिक र कागती रोप्न शुरु गरे । शुरुका बर्ष केही कठिनाई भए पनि कागतीले उत्पादन दिन थालेपछि र टिकका विरुवा बिक्री हुन थालेपछि उनलाई परिवार धान्न समस्या रहेन । बारीमा लटरम्मै फलेको कागती घरैबाट बिक्री हुन थालेपछि उनले कागती खेतीलाई नै व्यवसायीकरण गरे । जसोतसो कागती बिक्रीबाट आएको आम्दानीले परिवार धान्न पुगेपछि उनले कागतीको विरुवा उत्पादन, अनार, जुनार, आँप, लिच्ची, लगायत सबै प्रकारका फलफूलका विरुवा उत्पादन गर्दै बिक्री गर्न थाले । जसबाट राम्रो आम्दानी लिन सकिने रहेछ भन्ने भएपछि उनले टिकसहित सबै प्रजातिका विरुवाको उत्पादन गर्न शुरु गरे ।
डीएण्डडी बायोप्लानटेक नामक कृषि फर्म दर्ता गरेर १० कठ्ठा जमिनबाट कृषि कर्म शुरु गरेका उप्रेती अहिले आफ्नो मेहनत र पौरखकै कारण छोटो समयमा उल्लेख्य प्रगति गर्दै ४० लाखको कार चढेर हिँड्न सक्ने भएका छन् ।
शुरुका दिनमा बजारमा कागतीको माग भएको छ, धुलावारीसम्म कागती पु¥याएर आउँछु, साइकल दिनुहोस् न भन्दा साइकल बिग्रिन्छ भन्दै कसैले दिन मान्दैन थिए– उप्रेतीले भने– ‘धक्का नलागी सफलता पक्का हात लाग्दैन, यो साँचो हो, मलाई छिमेकीले हिजो साइकल नदिँदा पलाएको इखले आज कार चढ्ने भएको छु । तर, मेहनत चाहिँ गर्नुपर्छ ।’
कृषि कर्मबाट नै उप्रेती अहिले वार्षिक २५देखि ३० लाख रुपैयाँ आम्दानी लिन सक्ने भएका छन् । १० जनालाई रोजगारी दिएर पनि आफूले वार्षिक २५ देखि ३० लाख रुपैयाँ बचत गर्दै आएको उप्रेतीले बताए । उनले भने– कृषि जीवन रहेछ, संसारको राम्रो काम उत्पादन हो, आज मलाई कृषि पेशाले नै यो ठाउँमा ल्याइपु¥यायो ।
२०६८ सालमा दिक्षाजीसँग विवाह भयो, त्यसबेला परिवार सञ्चालन गर्न निक्कै समस्या थियो– उप्रेतीले भने– भएको जमिन बाँझिएर केही लगाउन सक्ने अवस्था थिएन, न पानीको सुविधा थियो, न त राम्रो अनाज नै उत्पादन हुन्थ्यो । त्यही भएर कागती खेती र टिकका विरुवा लगाएको थिएँ, मैले लगाएको नर्सरी यो अवस्थामा पुग्ला भन्ने कल्पनासम्म गरेको थिइनँ । श्रीमती दिक्षासंग सल्लाह गर्दै २०६९ सालबाट मैले कृषि पेशालाई व्यवसायिक हिसाबले गर्नुपर्छ भन्ने सोच राखेर निरन्तर मेहनत गर्दा आज यो अवस्थामा आइपुगेँ– उप्रेतीले भने ।
वन तथा कृषिजन्य सामग्री उत्पादन साथै फूलको नर्सरी समेत लगाएका उप्रेतीको सफलताको पछि मेवा र खर्वुजो पनि जोडिन्छ । टिक र कागतीको विरुवा मात्रै बेचेर लामो समयसम्म टिक्न सकिँदैन भन्ने लागेपछि उनले झापामै पहिलोपटक व्यवसायिक रुपमा मेवा खेती गरे । अहिले दैनिक दुई टन मेवा घरबाटै बिक्री गर्दै आएका छन् उनले । लकडाउनको अवधिमा मात्रै उनले २५ ÷३० लाख रुपैयाँको खर्वुजो बिक्री गरे । यो वर्ष उनले नर्सरीमा उत्पादन गरेको सयपत्रीको विरुवाबाट मात्रै १२ लाख रुपैयाँ आम्दानी लिए । सयपत्री फूलका १० लाख बेर्ना उत्पादन गरेका उनले फूलका विरुवा बिक्री गरेर मात्रै १२ लाख रुपैयाँ आम्दानी लिएपछि उनको सिको गर्ने धेरै भए झापामा । अहिले प्रायः झापाका शहरी क्षेत्रमा फूलको व्यवसायिक खेती गर्नेको संख्या धेरै छ ।
उप्रेतीले थोरै क्षेत्रफलमा धेरै प्रकारका कृषिजन्य बस्तु लगाएका छन् । थोरै ठाउँ पनि बाँझो नराखी फूलको नर्सरी र फलफूल उत्पादन गर्न थालेपछि उनको जीवनमा आमूल परिर्वत आएको छ । उप्रेतीले अहिले सिजन अनुसारको फल उत्पादन गर्छन् भने ड्रागन फ्रुटको समेत खेती शुरु गरेका छन् । आफैंले उत्पादन गरेको वस्तुलाई ग्रेडिङ, प्याकेजीङ र प्रशोधन गर्दै अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उनको लक्ष्य रहेको छ । मेचीनगरमै पहिलो पटक हाइटेक (उच्च प्रविधियुक्त) नर्सरी लगाएका उनले १२ कठ्ठा जग्गामा मेवा, कागती र सयपत्री फूलको व्यावसायिक तीन तले खेती गरिरहेका छन् । उप्रेतीले आफूलाई आवश्यक पर्ने प्राङ्गारिक मल समेत आफैं उत्पादन गर्छन् । उनले उत्पादन गरेको सबै कृषिजन्य वस्तु अग्र्यानिक हुने गरेको बताइन्छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत उप्रेती अहिले १० लाख निमका विरुवा उत्पादन गर्दै वितरणका लागि लागी परेका छन् । २०८० सम्ममा निःशुल्क १० लाख निमका विरुवा बितरण गर्ने उनको लक्ष्य रहेको छ । वातावरण सुन्दर राख्न निमको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले निम बितरणको सोच राखेर विरुवा उत्पादन गर्दैछु– उप्रेतीले भने ।
बाख्रामा भविष्य खोज्दै कडरिया
अर्जुनधारा नगरपालिका–९ शनिश्चरे निवासी कमल कडरियाले उन्नत जातको बाख्रा पालन गरेको चार बर्ष भयो । बोयर र स्थानीय जातका गरी ११ वटा बाख्रा खरिद गरी यो व्यवसाय शुरु गरेको कडरियाको फर्ममा अहिले ६० वटा भन्दा बढी बाख्रा छन् ।
आर.के एग्रीकल्चर फर्ममार्फत बाख्रा पालन गरिरहेका कडरियाको मुख्य आम्दानीको स्रोत नै अहिले बाख्रा बनेको छ । चार जनालाई रोजगारी समेत दिएका कडरियाले ५० लाखभन्दा बढीको उन्नत जातको बाख्रा पालन फर्म सञ्चालन गरेका छन् । कडरियाको फर्ममा अहिले धेरै जसो बोयर जातका बाख्रा छन् । बोयर जातको बोका १५ सय रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको कडरियाले बताए ।






























