कोरोना भोगाइ र बुझाइ

0
467

जीवन घिमिरे,

चीनको वुहानमा कोरोना सङ्क्रमण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई समेत उच्च जोखिमको सूचीमा राखेर ‘एलर्ट’ गराउँदै आएको थियो । म स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारीमा रहेको हुँदा जनताको स्वास्थ्य सुरक्षाको प्रमुख जिम्मेवारी मसँग छ भन्ने कुरालाई आत्मसात् गरी गत फागुन महिनादेखि नै मेरा सम्पूर्ण क्रियाकलाप कोरोनाको रोकथाम र उपचारका निमित्त केन्द्रित गर्दै गएको थिएँ । त्यसैक्रममा प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्यतालिकासमेत तर्जुमा गरी सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । मेरो जिम्मेवारी अझ थपियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन ग¥यो । तर, हामीले लकडाउनको पालना गरेर घरभित्र बस्ने अवस्था थिएन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिले अग्रपंक्तिमा उभिएर कोरोनासँगको भिडन्त गर्नुपर्ने समय आइसकेको थियो । वैशाख ४ गते उदयपुर भुल्केको एक मस्जिदमा रहेका जमातीमा कोरोना सङ्क्रमण देखाप¥यो । उदयपुरपछि भोजपुर, झापा हुँदै प्रदेश १ का विभिन्न जिल्लामा सङ्क्रमण विस्तार हुँदै गयो । तिनको उपचार र व्यवस्थापनको प्रमुख जिम्मेवारी मसँग थियो । त्यसक्रममा मन्त्रालयका कर्मचारी र अस्पतालका स्वास्थ्यकर्मीहरूसँग मेरो दैनिक उठबस र अस्पतालमा आवतजावत स्वाभाविक र अनिवार्य थियो । म कुनै पनि बेला सङ्क्रमित हुन सक्छु भन्नेमा मानसिक रूपमा तयार थिएँ । तर पनि आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्नेमा पनि उत्तिकै सचेत थिएँ ।

भदौ १२ गते स्वास्थ्य महाशाखाका कर्मचारी र चिकित्सकहरूसँग मेरो समेत सहभागितामा मन्त्रालयमा नै चालु आर्थिक वर्षको कार्यक्रमबारे बैठक आयोजना भयो । उक्त बैठकका सहभागीमध्ये एकजना चिकित्सक सङ्क्रमित भएको कुरा भोलिपल्ट मात्र पुष्टि भयो । त्यसअघि नै मन्त्रालयका अन्य कर्मचारी र स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भइसक्नुभएको थियो । तर, मलाई सङ्क्रमण भयो भन्ने कुनै शङ्का र अनुभूति नभएको हुनाले आफ्नो दैनिकीकै क्रममा धनकुटा अस्पतालको स्तरोन्नति, पीसीआर ल्याबको स्थापना, आइसोलेसन सेवा सञ्चालनजस्ता विषयमा छलफल गर्न भदौ १३ गते शनिबार म धनकुटा अस्पताल गएको थिएँ । दिनभरि मेरो स्वास्थ्यमा कुनै समस्या देखिएन । सकुशल विराटनगर फर्किएको थिएँ । तर, मध्यरातदेखि अचानक मलाई झाडापखाला हुन थाल्यो । भोलिपल्ट दिनभरि पनि झाडापखाला रोकिएन । तर, मैले ‘फुड पोइजन’ भएको हुन सक्छ भन्ने अनुमान गरेँ । रातिदेखि ज्वरो पनि थपियो । १०२÷१०३ डिग्री सेल्सियससम्म ज्वरो बढेपछि कोरोनाको शङ्का गरी पीसीआर परीक्षण गराएँ । नतिजा पोजेटिभ आयो ।

म कुनै पनि बेला सङ्क्रमित हुन सक्छु भन्ने कुरामा मानसिक रूपमा तयार रहेको हुनाले मैले त्यसलाई सहजतापूर्वक स्वीकारेँ । ममा कुनै किसिमको मानसिक तनाव भएन । सङ्क्रमण भयो भने ‘होम आइसोलेसन’ (घरमा अलग्गै) बस्नुपर्ने हुन सक्छ भन्ने ठानेर १५ दिनअगावै ८०÷८५ वर्षका बुवाआमा र ११ वर्षको मसँगै बस्दै आएको भतिजालाई समेत मेरी बहिनीको घरमा सारिसकेको थिएँ । निवासमा श्रीमती, छोरा र अङ्गरक्षकमात्र बस्दै आएका थियौँ । हामी घरमा बस्दासमेत आवश्यक स्वास्थ्य सावधानी अपनाएरै बस्ने कोसिस गथ्र्याैं । त्यसैकारणले मबाहेक श्रीमती, छोरा र अङ्गरक्षकमा सङ्क्रमण देखिएन ।

पीसीआर रिपोर्ट आउनसाथ मैले डा. दीपक सिग्देल, डा. सञ्जीव शर्मालाई फोन गरेर स्वास्थ्य अवस्थाको जानकारी गराएँ र होम आइसोलेसनमा बस्दा कसो होला भनी सुझाव मागेँ । उहाँहरूले पनि समस्या बढ्दै गए अस्पताल भर्ना गरौँला, अन्यथा होम आइसोलेसनमा बस्दा पनि हुन्छ भन्ने सल्लाह दिनुभयो । सोही दिन कोसी कोभिड अस्पताल विराटनगरका मेडिकल अफिसरहरूको समूहले मेरो निवासमा आएर समग्र स्वास्थ्य अवस्थाको प्रत्यक्ष जाँच गर्नुभयो । होम आइसोलेसनमा बस्दा परिवारका सदस्यहरूलाई ख्याल गर्नुपर्ने कुराहरू, आइसोलेसनमा बस्नेले पालना गर्नुपर्ने नियमहरूको जानकारीका साथै अक्सिजन लेभलको जाँच गर्ने, रक्तचाप, ज्वरो जाँच गर्ने तरिकासमेत सिकाएर जानुभयो । त्यस दिनदेखिको मेरो दैनिकी चिकित्सकहरूले दिएको सल्लाहबमोजिमको रुटिनबाट सञ्चालन हुन थाल्यो । दैनिक तीनपटक स्वास्थ्य जाँच गरी टेलिफोनबाटै चिकित्सकलाई रिपोर्टिङ गर्न थालेँ । मलाई पखाला, ज्वरो, पछि कम्मर, जिउ, टाउको, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, नाक सेन्सलेस हुने (गन्ध थाहा नहुने), रुघाखोकी लाग्नेजस्ता कोरोनाका अन्य लक्षणहरू पनि देखापर्न थाले ।

मलाई सङ्क्रमण भएको सूचना सार्वजनिक भएपछि धेरै आफन्त, शुभचिन्तकहरूका फोनहरू आउन थाले । मलाई चिकित्सकले मोबाइल बन्द गरेर बस्न सल्लाह दिएका थिए । तर, मेरो मन्त्रालयको काम कोरोनाकेन्द्रित नै भएकाले फोनबाटै भए पनि कतिपय निर्णयहरू दिनुपर्ने बाध्यता मसँग थियो । त्यसकारण मैले मोबाइल अफ (बन्द) गर्न सकिनँ । बरु थोरै फोन उठाउँछु र कम बोल्छु भन्ने निधो गरेँ । तर, त्यसो पनि हुन सकेन । त्यसक्रममा स्वास्थ्यविज्ञहरूले त उपचारका सन्दर्भमा आफ्नो विज्ञताका आधारमा परामर्श दिने नै भए । हरेक आफन्तले फोन गरेपिच्छे औषधि र आहार–विहारका बारेमा आफूले सुनेका जानेका कुराहरू भन्ने गर्नुहुन्थ्यो । धेरैबाट आयुर्वेदिक जडीबुटी, तातोपानीकै सुझावहरू आए । पहिलो दिन त सबैको कुरा सुन्दै गएँ । दोस्रो दिनदेखि कसले भनेको मान्ने, कुन औषधिचाहिँ खाने आफैँ अलमलमा परेँ । घरमा औषधि र जडीबुटीको उरुङ लाग्यो ।

मेरो अधिकांश समय औषधि सेवनमै बित्न थाल्यो । चिकित्सकका सल्लाहअनुसार भिटामिन ‘सी’ र ‘डी’ झोललगायतका औषधिको अतिरिक्त दैनिक चार÷पाँच लिटर पानीमा विभिन्न जडीबुटी मिश्रण गरी उमालेर खाने गर्थें । कहिले ज्वानो, बेसार, अदुवा, मरिच, लसुन मिसाएर उमालेर, कहिले तुलसी, अलैँची, बोझो, गुर्जाे मिसाएर उमाल्ने त कहिले आँप, अम्बा, पारिजातको पात मिसाएर उमालेर खाने गरेँ । दैनिक दुई÷तीनपटक तातोपानीको बाफ लिने गरेँ । मैले सेवन गरेका औषधिमध्ये कुनले काम ग¥यो वा गरेन यकिन भन्न त सक्दिनँ । सुरुका चार÷पाँच दिन पखाला र ज्वरोका कारणले पनि होला, खानाखानमा त्यति रुचि भएन । तर, क्रमशः सुधार हुँदै गयो । मैले खानामा कुनै कुरा बारिनँ, रुचिअनुसार दाल, भात, तरकारी, कुखुराको मासु, सागसब्जी सबैथोक खाएँ । कागती, प्याज र लसुनको सेवन अत्यधिक गरेँ । स्याउ र अम्बा खाएँ । च्यवनप्रास र महको प्रयोग नियमित गरँे । मेलै मेरो कोठा र बाथरुमको नियमित सफाइ गर्ने गर्थें । हरेक दिन न्यूनतम एकपटक तातोपानीले नुहाउने, हरेक दिन कपडा फेर्ने, आफूले प्रयोग गरेका भाँडा र कपडा तातोपानीले सफा गर्ने, फोहोर निश्चित ठाउँमा व्यवस्थापनको काम गर्थें ।

मैले विगत १० वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेको छु । विगत एक वर्षदेखि थाइराइडको औषधि सेवन गरिरहेको छु । त्यसबाहेक अरू कुनै स्वास्थ्य समस्या छैन । म नियमित योगा गर्छु । तर, यो सङ्क्रमण अवधिभर शारीरिक कमजोरीका कारणले नियमित योगाभ्यास भने गर्न सकिनँ । टाउको दुखाइ कम गर्ने र बन्द भएको नाक खुलाउन तीन÷चारपटक जलनेती भने गरेँ । क्रमशः अरू लक्षण हराउँदै गएको र सङ्क्रमण पुष्टि भएको १४ दिन पनि पुगेपछि पुनः पीसीआर परीक्षण गराएँ । तर, नतिजा सोचेजस्तो आएन । सङ्क्रमण यथावत् नै देखियो । सङ्क्रमणपछि मलाई समय बिताउन त्यति गाह्रो भएन । औषधि सेवन, व्यायाम र सरसफाइका अतिरिक्त मैले अध्ययन र मनोरञ्जनमा समय बिताउँदै आएँ । मैले यसबीचमा मनोज गजुरेल, सन्दीप क्षेत्री, सुबोध गौतमका प्रस्तुतिहरू हेरेँ । मोबाइल र ल्यापटप अधिकतम उपयोग गरेको छु ।

सङ्क्रमण देखिएपछिका सुरुका दिनमा राणाकालीन इतिहास, राजतन्त्र, बहुदल आएपछिका राजनेताहरूका बारेमा अध्ययन गरेँ । त्यसपछि रामायण पढेँ । सामान्य रुघाखोकीबाहेक अरू सबै लक्षण हराउँदै गए । सङ्क्रमण पुष्टि भएको १८ दिनपछि मैले कोरोनालाई परास्त गरेँ । कोरोना सङ्क्रमण हुन सक्छ भन्ने पूर्वमानसिकताका कारण ममा उत्पन्न कोरोना परास्त गर्ने आत्मविश्वास, स्वास्थ्यकर्मी, परिवारजन र आफन्तबाट प्राप्त सहयोग र सहानुभूतिले नै मैले कोरोनालाई परास्त गर्न सकेँ ।

कोरोना लागेका कतिपय व्यक्तिले कोरोना रुघाखोकीजस्तै मात्र रहेछ भन्ने प्रतिक्रिया दिएको मैले सुनेको छु । मेरो बुझाइ र भोगाइमा कोरोना केही होइन भनेर हेलचेक्र्याइँ गर्ने या कोरोना सङ्क्रमण सुन्दासाथ भय, त्रास हुने दुवै दृष्टिकोण अल्पज्ञानका उपज हुन् । कोरोना सङ्क्रमणको असर व्यक्तिमा भएको रोग प्रतिरोधात्मक क्षमताअनुसार फरक–फरक पर्छ । धरैजनालाई लक्षण नै देखिँदैन । लक्षण नदेखिएकाहरूलाई सामान्य स्वास्थ्य सावधानी अपनाए स्वतः निको हुन्छ । केहीलाई लक्षण देखिन्छ । उपचारपछि निको हुन्छ । केहीलाई आईसीयू, भेन्टिलेटरजस्ता सघन उपचारकै आवश्यकता पर्छ, बचाउन गाह्रो हुन्छ । कसलाई कुन तहको सङ्क्रमण हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

हाम्रो प्रदेशमा समेत कोरोना सङ्क्रमणका कारण चार दर्जनभन्दा बढी ज्यान गएको छ । मृत्युको मुखमा पुगेका व्यक्तिलाई प्लाज्माथेरापी गरी डाक्टरले बचाएको उदाहरणहरू पनि छन् । तसर्थ, कोरोना लागेपछि उपचार गर्नेभन्दा लाग्नै नदिने उपायको खोजी गरौँ । आफैँ सावधान रहौँ ।

(लेखक प्रदेश १ का सामाजिक विकासमन्त्री हुनुहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here