तिब्बतबाट आउने ब्वाँसोका कारण भेडापालक कृषक पीडित

0
942

ताप्लेजुङ ।

चीनको स्वसासित क्षेत्र तिब्बतबाट आउने ब्वाँसोका कारण ताप्लेजुङका भेडापालक कृषक पीडित बनेका छन् । मुलुक नै कोरोना विरुद्धको लडाईंमा केन्द्रित रहेको बेला फुङलिङका गोपाल विष्टलाई भने भेडा कसरी जोगाउने भन्ने चिन्ता छ ।

पछिल्लो महिनादिनमा ३५ वटाभन्दा धेरै भेडा तिब्बति ब्वाँसोले खाइदिएको उनले सुनाए । खर्कमा रहेका भेडालाई जंगलबाट आएका ब्वाँसोले मार्ने गरेका छन् । ‘कोरोनाको त डर छैन । तर ब्वाँसोको डर चौबिसै घण्टा छ,’ टेलिफोनमा उनले भने, ‘समुहमा आउने ब्वाँसाले ठूलो बथानमा रहेका भेडा थाहै नपाई खाइदिनछन् ।’

उनीसहित तीन जना हाल भेडीगोठ लिएर बस्तीभन्दा टाढा रहेको ‘सेलेले’ खर्क पुगेका छन् । यहाँबाट नजिकको बस्ती घुन्सा पुग्न एक दिन लाग्छ । कञ्चनजंघा पदमार्गमा पर्ने भएपनि सेलेलेमा यसपाली पर्यटक नआएपछि मानिसको चहलपहल छैन । केहि भेडीगोठ र चौरी गोठ मात्रै छन् । उनिहरुलाई चौबिसै घण्टा भेडा ब्वाँसो तलमाथी हुने मात्र चिन्ता छ ।

ब्वाँसाको समुहले गोठालाको आँखा छलेर आक्रमण गर्ने उनले सुनाए । गोठमा चार सय भन्द धेरै भेडा भएकाले जोगाउन कठिन हुने गरेको छ । गत वर्ष सोहि स्थानमा ब्वाँसोले ३० वटा भेडा एकै दिनमा खाएको थियो । भेडा खानुअघि खेदाउँदा भाग्ने भएपनि भेडा खाएर रगतले मातेपछि भने मान्छेलाई नै आक्रमण गर्ने गोठालाहरु बताउँछन् ।

‘एउटा दुइटा त दिनहुँ माथ्र्यो,’ अर्का गोठाला कमल विष्टले भने, ‘जंगलमा भेडा खान पल्किएका ब्वाँसाको बिगविगी अहिले पनि उस्तै छ ।’ कमलका गोठमा सो समय ४ सय ५० हाराहारी भेडा थिए । त्यसमध्ये ७० वटा भर्खरै खरिद गरेर ल्याइएको थियो । एउटालाई १० हजारदेखि १७ हजार रुपैयाँसम्म परेको थियो ।

घाँसको पनि अभाव

भेडा पालकलाई ब्वाँसोको मात्रै होइन घाँसको पनि पीर छ । ‘हिमालको फेदतिर अलि बढी घाँस पाइन्छ, त्यहाँ ब्वाँसोले सखाप पार्ने चिन्ता छ,’ अर्का भेडा पालक गणेश विष्टले भने,‘तल्लो क्षेत्रमा घाँसै पाइदैन ।’

वर्खा लागेसँगै औलमा घाँस सकिन्छ । गर्मी बढ्छ । हिउँदमा औल झरेका भेडा अनि उकालो लाग्छन् । बैसाखयता भेडीगोठ लेक चढेका हुन् । फावाखोला, तापेथोक, सेकाथुम, हेल्लोक, आम्जिलेसा, एसाङ, घुन्सा हुँदै सेलेले पु¥याएको उनिहरुले बताए । घाँस खुवाएर नसकिने भएकाले चरनको माध्यमबाट पालिने भेडालाई बर्खाको तुलनामा हिउँदमा रुँग्न कठिन हुन्छ ।

वर्खामा घाँस प्रशस्तै पाइन्छ भने हिउँदमा कम । वर्खामा पाँच सयको संख्यालाई एउटै गोठमा राखे पनि हिउँदमा भने धेरै ठाउँमा डुलाउनुपर्छ । त्यसैले दुई गोठलाई एउटै बनाएर भेडा पाल्ने गरेका छन्रु। चरनको पनि अभाव छ । ‘तस्करपछि दोस्रो चुनौती घाँसको हो,’ गोपालले भने, ‘जिल्लामा खाली जग्गा प्रशस्त छन्, त्यसलाई घाँसे मैदान बनाउने नीति सरकारले लियो भने हामी जस्ता पशुपालकलाई फाइदा हुन्छ ।’

भेडालाई हैजाको प्रकोपले समेत सताउने गर्छ । कहिलेकाहीं बिरामी भए पशु चिकित्सक पाइँदैन, परम्परागत विधि प्रयोग गर्नुपर्छ । एउटा विरामी भए अरूलाई पनि सताइहाल्ने भएकाले रोग नियन्त्रण चुनौती हुने भेडापालक बताउँछन् ।

व्यक्तिको चरन भएको ठाउँमा जमिन मल्दिए पुग्छ । सामुदायीक वनमा भने शुल्क तिर्नुपर्छ । मासिक ५ देखि १२ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने उनले सुनाए । फावाखोलासहित मैवाखोला, मेवाखोला, लिंखिम, आङखोप, याम्फुदिन बढी भेडापालन हुने ठाउँ हुन् । तर, पछिल्लो समय धेरैले गोठ रित्याएको फावाखोलाकै भिम विष्टको भनाई छ । ‘म गोठमा बसेरै हुर्किएको हुँ, पहिले घरैपिच्छे गोठ थिए, छोरा छोरी अन्यत्रै लागेपछि मैले छोडें, अहिले दुई गोठ मात्रै छन् ।’

माग अत्याधिक

कमलका गोठमा ३ सय ५० भेडा छन् । गोठमा दिनहुँ पाठा नयाँ जन्मने र विक्रि हुने क्रम चलिरहन्छ । पाल्ने घटेपनि माग भने अत्याधिक बढेको छ । पाठापाठी, माउ, थुंवा सबै उत्तिकै बिक्रि हुन्छन् । सामान्यतया पाठापाठी एक महिना पुगेपछि बेच्न उपयुक्त हुन्छ । तर, किन्न आउनेले अहिले १५ दिनकै पनि लान थालेका छन् ।

पाठापाठीको मूल्य १० देखि १५ हजार पर्छ । माउ र थुंवाको मूल्य भने मासुका आधारमा हुन्छरु। जिल्लामा प्रतिकिलो ७ सयर जिल्ला बाहिर १ हजार ३ सयसम्म भाउ रहेको कमलले सुनाए । पाँचथर, इलाम, झापा र सुनसरीबाट समेत भेडा किन्ने आएको उनको भनाई छ । भेडाको ऊन पनि बिक्री हुन्छ । एक धार्नी (दुई किलो) को पाँच सय रुपैयाँ मूल्य छ ।

भेडा असोज र चैतमा गरेर वर्षमा दुई पटक मुडिन्छरु। घरमै बाँधेर पालेको भेडाको त वर्षमा तीन पटक कात्नुपर्छरु। भेडाको सिङ र घिउको माग पनि उच्च रहेको उनिहरु बताउँछन् । एउटा माउ भेडाले एक पटकमा एक पावासम्म दूध दिन्छ । प्रत्येक बिहान दुहेपछि तताएर मोही पारिहाल्नुपर्छ ।

भेडापालनबाट आम्दानी राम्रै भएपनि स्याहार्न निकै दुःख रहेको गोठालाहरुको भनाई छ । गोठमा कम्तिमा पनि साढे ३ सय भेडा हुने हुंदा चरनबाट फर्कदा सबै भए नभएको यकिन गर्न कठिन हुन्छ । ‘तस्कर लागेको र घाँस नपाएको सम्झँदा छोडिहालौ जस्तो हुन्छ, फेरी गोठमै किन्नेको लर्को लाग्दा मन सम्हालिन्छ,’ गणेशले भने, ‘सरकारले खाली जमिनमा घाँस लगाउने र अनुदानको प्रबन्घ गरे हौसला बढ्ने थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here